साप्ताहिक संवाददाता
भाद्र ७, २०७६
प्रहरी र सेनाको आ–आफ्नो घरेलु मात्र होइन, अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हुन्छ । यस्तै एउटा प्रतियोगिता विश्व पुलिस फायर गेम्सको नाममा चीनमा भएको थियो । त्यसमा नेपाली धावक निमेश गुरुङले एथलेटिक्सतर्फ तीन स्वर्ण जिते ।
उनले हाफ म्याराथन, १० किलोमिटर क्रसकन्ट्री तथा १० हजार मिटर दौडमा स्वर्ण पदक जितेका हुन् । रमाइलो के भने गुरुङले प्रतियोगितामा नेपालको प्रतिनिधित्व भने गरेका थिएनन्, उनले सिंगापुर प्रहरीका लागि खेलेका थिए । निमेश एक दशकदेखि सिंगापुर प्रहरीमा कार्यरत छन् ।
उनी सिंगापुर प्रहरी संगठनका स्टार खेलाडी हुन् र उनले त्यहाँको घरेलु खेलकुदमा लगातार पदक जितिरहेका छन् । निमेशको नागरिकता–पासपोर्ट भने नेपाली नै छ ।