साप्ताहिक संवाददाता
अटो शोमा सबैजसो ब्रान्डले नयाँ मोडल प्रदर्शनीका लागि राख्ने गरेका छन् । यस पटक नयाँ ब्रान्ड समेत सहभागी हुने भएका छन् । नाडा अटो शोमा चिनियाँ इलेक्ट्रिक सवारी उत्पादक बीवाईडी र दायले सहभागिता जनाउँदै छन् । त्यस्तै अर्को चिनियाँ सवारी उत्पादक फोटोन समेत अटो शोमा सहभागी हुनेछ ।
दुई पांग्रेतर्फ सुपर सोको र जिनियस ब्रान्ड पहिलो पटक नेपाली अटो शोमा सहभागी हुँदैछन् । जर्मन सवारी उत्पादक कम्पनी बीएमडब्लूका मोटरसाइकल समेत नाडा अटो शोमा प्रदर्शनीका लागि राखिनेछन् भने जीपीएक्स ब्रान्ड पनि पहिलो पटक यसमा सहभागी हुँदैछ ।
प्रविधिमैत्री बन्दै सार्वजनिक यातायात
नेपाली सडक र सार्वजनिक यातायात समेत प्रविधिमैत्री बन्दै गएका छन् । काठमाडौंमा विभिन्न एप्स प्रयोग गरी सवारी साधन चढ्न पाइने भएको छ । राइड सेयरिङ सुविधा उपलब्ध गराउँदै आएको पठाओ नेपाल कम्पनीले हालै ट्याक्सी सेवा सुरु गरेको छ । साझा यातायात र यस्तै ठूला सवारी साधन उपलब्ध गराइरहेका कतिपय बस कम्पनीले एप्स र स्मार्टकार्डको प्रयोगलाई बढावा दिएका छन् । बस कुन स्थानमा पुग्यो र कति बेला आइपुग्छ भनेर एप्सबाटै थाहा पाउन सकिने भएको छ भने भाडा तिर्न स्मार्ट कार्ड प्रयोग गर्न सकिन्छ ।