साप्ताहिक संवाददाता
भाद्र ७, २०७६
बलिउडका स्थापित गायक तथा संगीतकार टोनी कक्करले काठमाडौंमा लाइभ कन्सर्ट दिने भएका छन् । गायिका नेहा कक्करका दाइ टोनी लामो समयदेखि बलिउडमा संगीतकर्मीका रूपमा सक्रिय छन् ।
उनले गायिका नेहाका लागि समेत थुप्रै लोकप्रिय गीत तयार पारेका छन् । रिबन इन्टरटेन्मेन्टले टोनीलाई सेप्टेम्बर (२० असोज ३ गते, शुक्रवार) दिन काठमाडौंमा प्रस्तुत गर्न लागेको हो ।
काठमाडौंको ठमेलस्थित फरेनहाइट क्लबमा सञ्चालन हुने लाइभ कन्सर्टमा टोनीले आफ्नो सात जना संगीतकर्मीको ब्यान्डसँगै लाइभ प्रस्तुत दिनेछन् ।
आयोजक संस्थाका दिपेन बस्नेतका अनुसार उक्त कन्सर्टमा टोनीले आफ्ना दुई दर्जनभन्दा बढी लोकप्रिय गीत प्रस्तुत गर्नेछन् ।