तीन दशकअघि चितवनबाट सुरु भएको ‘तास’ अहिले नेपालका धेरै क्षेत्रमा फैलिसकेको छ । जिल्लाको व्यस्त बजार नारायणगढमा ‘तास’ बेच्ने रेस्टुराँ प्रशस्तै छन् । सहिद चोकको ‘भेटघाट रेस्टुराँ’ले तास बेच्न थालेकै ३० वर्ष भयो । सञ्चालक गोविन्द तिवारी यो परिकारको नाम तास नै आफूले जुराएको दाबी गर्छन् । कास्की लेखनाथबाट बसाइँ सरेका तिवारीले वि.सं. २०४४ साल बैशाखदेखि सहिदचोकमा ‘तास’ बेच्न थालेका हुन् । उनले पहिलो दिन पाँच किलो मासु बेचे । एक प्लेट तासको ८ रुपैयाँ लिन्थे, अहिले २ सय ७० रुपैयाँ पर्छ ।
‘कास्कीबाट चितवन आएर सुरुमा किराना व्यापार गरेका तिवारीले किराना व्यापार जम्न नसकेपछि केही नयाँ गर्ने योजना बनाए । त्यतिबेला खाजाका लागि मासुको झोल र भुटुवाबाहेक अरू परिकार उपलब्ध थिएनन् । सेकुवा खासै चल्तीमा थिएन । मासुमा मसलाको सुगन्ध थपेर नौलो परिकार बनाउने धुनमा उनले एक वर्ष बिताए । ‘अनेक थरी मसला तयार गरेँ । ति मसला चाख्दा कहिले जिब्रो खुइलियो, कहिले तर्कुले खुइलियो । पखला चल्यो, ज्वरो पनि आयो’ तिवारीले परीक्षणकालको कथा सुनाए ।
मसलाको परीक्षण सफल भएपछि तिवारीले तीन किलो मासु ल्याए । मसलामा मोलेर केही घण्टा भिज्न छाडिदिए । मज्जाले भुटेपछि साथीहरूलाई बोलाएर चखाए । उनीहरूले निकै मिठो मानेर खाएपछि त्यही परिकार उनले ४४ सालको वैशाख १६ गतेदेखि बेच्न थालेका हुन् ।
‘हामी जिवन चलाउनै धौ–धौ अवस्थामा पुगेका थियौं । तास पसलले सहज बनायो । तिवारीका तीन सन्तानमध्ये छोरी र कान्छा छोरा चिकित्सक छन् । जेठा छोराले एमबीए गरेर भरतपुरमै नेपालकै ठुलो फनपार्क सञ्चालनमा ल्याएका छन् । यो सबै तासकै बलमा सम्भव भएको हो’ तिवारी भन्छन् । तासमा उनी १७ थरी मसला मिसाउँछन् । मसला मोलेर मासुलाई चार घण्टा फ्रिजमा राख्छन् । त्यसपछि ठूलो तावामा तातेको तेलमा मज्जाले भुटेपछि तास तयार हुन्छ ।
भुटेर रातो भएको मासु तथा १७ थरी मसलाको सुगन्धमा ग्राहकहरू लोभिने गरेका छन् । भुजामाथि भुटेको मसलाको थोरै भाग हुन्छ । मसलामा भुजा मोल्दै मासु र अचारसँग खाँदा प्लेट रित्तिन बेर लाग्दैन । मुलाको चानालाई टमाटारमा पकाएर तयार गरिएको अचार पनि धेरैलाई नौलो लाग्ने गरेको छ । भेटघाटका साथै अहिले नारायणगढमा संगम, मामा, साइनो, कर्मा, पोखरा, ढकाल तथा जमघट जस्ता रेष्टुराँ पनि तासका लागि प्रशिद्ध छन् ।
भेटघाटमा १० वर्ष काम गरेका कृष्णप्रसाद भट्टले ६२ सालको चैतमा जमघट खोले । तासका बारेमा भट्टको पनि आफ्नै ब्याख्या छ । ‘खेल्ने तासमा चार थरी पत्ती हुन्छ, हुकुम, इँटा, पान र चिडी । हाम्रो तासमा पनि भुटेको मासुसँगै सलाद, अचार र भुजा हुन्छ । ‘काम खोज्दै नवलपुरको दलदलेबाट नारायणगढ छिरेको हुँ । महिनाको ६ सय रुपैयाँमा भेटघाटमा काम सुरु गरे । त्यहाँ १० वर्ष काम गरेर छाड्ने बेलामा तलब आठ हजार पुगेको थियो । त्यसपछि आफैंले रेस्टुराँ चलाए । भरतपुरमा घर–घडेरी छ । साथीहरू मिलेर एउटा होटल पनि खोल्दैछौं । भट्ट होटल संघ चितवनका उपाध्यक्ष पनि हुन् ।
नारायणगढमा तास मात्र बेच्ने होटल १५/२० वटा भए पनि विविध परिकार बेच्ने अन्य रेस्टुराँको मेनुमा पनि तास अनिवार्य हुने भट्टले बताए ।