साप्ताहिक संवाददाता
चलचित्र निर्माण नहुँदै चर्चामा रहेको यो बर्षको वहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ को शिर्ष गीतको रेकर्ड सकिएको छ । रेडियो नेपालमा रेकर्ड गरिएको उक्त गीतमा निर्माण टिमले महंगो लगानी खर्चिएको छ । निर्माता सन्तोष सेनका अनुसार झण्डैं ७ लाखमा उक्त गीत रेकर्ड गरिएको हो ।
रेडियो नेपालको सवैभन्दा ठुलो स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा प्रताप दास र प्रविशा अधिकारीले स्वर दिएका छन्, चलचित्रका मुख्य कलाकार प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सन्तोष सेन, मनिष राउत, शिव श्रेष्ठ, बाल कलाकार अनुभव रेग्मीलगायतले गीतको कोरसमा आवाज दिएका छन् । गीतमा दृष्टिविहिन गायक–गायिकाहरुको पनि कोरस गायन छ ।
८० जनावढि बाध्यबाधकको साथमा लाइभ बाजासहित गीत रेकर्ड गरिएको निर्देशक छेतेन गुरुङले जानकारी दिए । नेपाल आर्मीबाट अर्केस्ट्रा बजाउने र गुम्बाबाट मन्त्र वाचन गर्ने लामा गुरुहरु ल्याएर गीत रेकर्ड गरिएको उनले बताए ।
चलचित्रका सम्पुर्ण कलाकार फाइनल भएसँगै उनिहरु अहिले वर्कशपमा व्यस्त छन् । चलचित्रको छायाँकन दशैं लगत्तै गर्ने निर्माण टिमको तयारी छ । ३ करोडको लागतमा निर्माण हुन लागेको चलचित्रलाई ‘डमरुको डण्डीवियो’ का निर्देशक छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गर्दैछन् ।
चलचित्रको आधाभन्दा बढी दृश्य राजधानीमै भव्य सेट निर्माण गरेर खिच्ने तयारी गरिएको छ । हालै निर्माण टिमले बागमती किनाराको खाली जग्गा भाडामा लिएको छ ।
चलचित्रमा सुनिल थापा, शिव श्रेष्ठ, प्रदीप खड्का, कृष्टिना गुरुङ, सन्तोष सेन, पुष्कर कार्की, माओत्से गुरुङ, लक्ष्मी बर्देवा, प्रेम पुरी, क्रिजन गौतम, अनुभव रेग्मी, समृद्धी शाही ठकुरी, जीवन भट्टराई, शिशिर राणा, जीवन बराल, जोत्सना खत्री लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
‘प्रेमगीत–३’ नयाँ वर्षको छेको पारेर चैत २८ गते प्रदर्शनमा गरिनेछ ।