साप्ताहिक संवाददाता
हरिवंश आचार्य नेपालका सर्वाधिक चर्चित लिजेन्ड अभिनेता हुन् । उनको नाम लिनेबित्तीकै मदनकृष्ण श्रेष्ठको नाम पनि सँगै आउँछ । किनभने, हरिवंश आचार्यले जव मदनकृष्णको साथ पाएर काम गर्ने अवसर पाए, त्यसपछि उनि निरन्तर चम्किए । मदनकृष्ण पनि निरन्तर सफलताको शिखर चुम्दै गए । हालै हरिवंशले एभरेष्ट फिल्म एकेडेमीका विद्यार्थीहरुसँग आफ्नो कलाकारिता यात्राको वारेमा छोटकरीमा सुनाए :
म ब्राह्मण परिवारमा जन्मिए, काठमाडौंको गैरीधारामा । मेरो पिताका नाम होमञ्जय आचार्य र माताको नाम गणेशकुमारी हो । मेरो बुबा धेरै बृद्ध भैसकेपछि मात्रै म जन्मीएको हुँ । बुबा पण्डित हुनुहुन्थ्यो । उहाँले मलाई पनि संस्कृत पढाएर पण्डित बनाउन चाहानुभएको थियो । बुबाको निधन म बाल्यकालकै उमेरमा भएकाले खासै धेरै बुझ्न त पाएन । तर, बुवाकै इच्छाअनुसार मेरो आमाले ठमेलस्थित वेद वेदाङ्ग बिद्यालयमा भर्ना गरिदिनुभयो । ठमेल केहि बर्ष पढेपछि संस्कृत नै पढ्न दरबार हाइस्कुलमा पढ्न गएँ । मेरा साथिभाईहरु अरु विषय पढ्न जान्थे, म भने संस्कृत । संस्कृत पढ्नेहरुले त टुप्पी पाल्नुपर्ने । टुप्पी पाल्नेहरुलाई धेरैले टपरे भन्थे । मलाई पटक्कै मन नपर्ने । अलि–अलि पढ्दै गएँ ।
बिहान खाना खानुअघि चण्डीको किताब पूरै पढ्नुपथ्र्यो । त्यो किताव त निकै मोटो हुने । सुरु–सुरुमा त पढिरहें । पछि एकदमै नसक्ने भएपछि मैले निरन्तर बिचतिरबाट एक–एक पन्ना झिक्दै गएँ । पछि त किताव निकै पातलो भो । आमाले थाहा पाएपछि निकै गाली खाएँ ।
म टिनएजमा नटेक्दै आमाको पनि निधन भो । त्यसपछि मेरा दिदिहरुले मलाई हेरविचार गर्न थाले । आमा र बुबाको निधन भएपछि पद्मोदय स्कुलमा कक्षा ५ पढ्न थालें । संस्कृत पढिरहेको मान्छे एकैपटक कक्षा ५ मा जाँदा धेरै गाह्रो हुनेरहेछ । त्यसपछि पास–फेल हुँदै एसएलसी सम्म पुगें । फेल भएँ । केहि बर्षपछि थर्ड डिभिजनमा पास भएँ ।
म पहिल्यैदेखि चलचित्रतिर धेरै रुची भएको मान्छे थिएँ । एकपटक मैले विदेशी एक चलचित्र हेरेको थिएँ । त्यतिबेला लागेको उक्त चलचित्रको पहिलो शो नै मैले हेरेंको थिएँ । साथिभाईहरुले हेरेका रहेनछन् । अर्को दिन सरकारले उक्त चलचित्र प्रदर्शनमा रोक लगायो । चलचित्रको बारेमा चर्चा व्यापक भएपछि साथीभाईहरुले मलाई उक्त चलचित्रको कथा सुनाउन भने । मैले यत्तिकै सुनाउँदैन, पैसा तिर्नेहो भने सुनाउँछु भनें । साथीहरुले १०–१५ पैसा उठाएर १ रुपैयाँ मलाई बुझाएपछि मैले चलचित्रको सबै कथा सुनाएँ । खासै उक्त चलचित्र बुझेको त थिएनँ । तर, मैले मिलाएर भनिदिएँ । जिन्दगीमा पहिलोपटक कमाएको पैसा हो, १ रुपैयाँ । अचम्मको कुरा त के हो भने, म सानो उमेरमै व्यवसायिक कलाकार भैसकेको रहेछु । व्यवसासियक स्क्रिप्ट राइटर पनि । कथा आफ्नै ढगंले भनिदिएँ ।
अलिकति ठुलो भएपछि नाटक देखाउन सुरु गरियो । केहि समय त निकै संघर्ष गर्नुपर्र्यो । कलंकी, सातदोवाटो लगायत धेरै टाढादेखि हिड्दै घर आउनुपथ्र्यो । जाँदा गाडीमा गएपनि आउँदा साँझ हुन्थ्यो । निकै कठिन स्थितीका वावजुद एकपटक १ हजार, २ हजार गर्दै हाम्रो नाटकका लागी हामी दुईजनालाई पैसा दिन थालियो । कलाकारिता क्षेत्रमा निकै संघर्ष गरियो । मैले गाइजात्रा महोत्सवमा २०३४ तिर भाग लिएको थिएँ । जसको कारणलेनै मेरो चर्चा चलेको थियो ।
गाइजात्राकै क्रममा मदन कृष्णदाईसँग भेट भएको थियो । जिन्दगीमा धेरै देश पुगियो । राम्रै पैसा कमाइयो । धेरै फ्यान कमाएँ । खासमा संघर्ष भन्दा ठुलो कुरा केहि रहेनछ । धेरै उताव–चढावका वावजुद यहाँसम्म आएको हुँ । खासमा हरेक बुबा–आमाले छोराछोरीले के चाहाना गर्छन्, त्यसै अनुसार उनिहरुको बाटोमा अगाडी बढाउनुपर्छ । पहिले भन्दा अहिले कला क्षेत्रमा लाग्न धेरै सहज छ । मिहेनत गर्नेहो भने अहिले धेरै सहज छ । त्यसो त प्रतिस्पर्धात्मक जमाना छ, तर मिहेनत गर्नेहो भने अरुको केहि लाग्दैन । अहिलेको जमानामा नेपालमा मात्रै होइन, संसारभर आफ्नो कला प्रदर्शन गर्न सक्ने उत्तिकै मोका पनि छ ।