साप्ताहिक संवाददाता
निजी सवारी अब नेपालीका लागि विलासिताको वस्तु रहेन । कर्पोरेट वर्ल्डमा काम गर्ने नेपालीहरूका लागि चारपांग्रे आवश्यकता र सौखको विषय भैसकेको छ । सेलिब्रेटीहरूका लागि त सवारी अब विलासिता होइन, आवश्यकता बन्न पुगेको छ ।
नेपालका अधिकांश सेलिब्रेटीसँग निजी सवारी साधन छ । काठमाडौंमा अधिकांश कलाकार निजी कारमा हुइँकिन्छन् । त्यसो त यतिबेला कलाकारहरूबीच गाडी किन्ने प्रतिस्पर्धा नै चलेको पाइन्छ । गायक प्रमोद खरेलले दुई महिनाअघि माक्र हुन्डाईको त्रेटा कार खरिद गरे । उनले करिब आठ वर्षअघि स्यान्ट्रो कार किनेका थिए, तीन वर्ष स्यान्ट्रो चढेपछि हुन्डाई आई–१० किने । हुन्डाई आई–१० करिब पाँच वर्ष प्रयोग गरेपछि दुई महिनाअघि क्रेटा खरिद गरेको खरेल बताउँछन् । सेतो रङको उक्त कार खरेलले ५४ लाख रुपैयाँमा खरिद गरेका हुन् ।
अभिनेता निखिल उप्रेतीले कारमा सयर गर्न थालेको वर्षौं भैसकेको छ । डेब्यु चलचित्र पिँजडाबाट चर्चामा आएका उप्रेतीले अहिलेसम्म तीनवटा कार फेरिसकेका छन् । उनले पिँजडामा अभिनय गरेको तीन वर्षपछि सेकेन्डह्यान्डको स्यान्ट्रो कार १२ लाख रुपैयाँमा खरिद गरेका थिए । दुई वर्ष स्यान्ट्रो चढेपछि उप्रेतीले डाइहात्सुको पुरानो टेरियस खरिद गरे । एक वर्ष चढेपछि डाइहात्सुकै नयाँ कार खरिद गरेको निखिल बताउँछन् । यही क्रममा निखिल नेपाली चलचित्रबाट ब्रेक लिँदै मुम्बई पुगे । त्यहाँ रहँदा निखिलले महिन्द्रा एक्स युभी ५०० चढेका थिए । ड्राइभिङका सौखिन उप्रेतीले मुम्बईदेखि काठमाडौंसम्मको करिब २ हजार किलोमिटर लामो यात्रा ड्राइभिङबाटै पूरा गरेका छन् । निखिल भन्छन्, ‘म महिन्द्रा एक्स यू भी ५०० मोडलको गाडीमा मुम्बईदेखि काठमाडौंसम्म आएको छु, त्यो नै मेरो अहिलेसम्मको सबैभन्दा लामो ड्राइभिङ हो ।’ अहिले उप्रेतिसँग हुन्डाईको क्रेटा छ । उनले यो गाडी दुई वर्षअघि खरिद गरेका हुन् ।
अभिनेता भुवन केसी पनि गाडीप्रेमी हुन् । उनी गाडी फेरी–फेरी चढ्ने अभिनेतामा पर्छन् । केसीले अहिलेसम्म थुप्रै गाडी परिवर्तन गरिसकेका छन् । अहिले उनी रातो रङको हुन्डाईको क्रेटा चढ्छन् । अभिनेता प्रदीप खड्का पनि रातै क्रेटा चढ्छन् । खड्कालाई उक्त गाडी चलचित्र ‘प्रेमगीत–२’ का निर्माता सन्तोष सेनले चलचित्र रिलिज भएको ५१ दिनको अवसर पारेर उपहार दिएका थिए ।
अभिनेता पल शाहले निजी कार चढ्न थालेको करिब तीन वर्ष भयो । त्यसभन्दा अघि उनी मोटरसाइकलमा यात्रा गर्थे । शाहले तीन वर्षअघि निशान कम्पनीको सेकेन्डह्यान्ड सन्नी कार खरिद गरेका थिए । हाल उनी यही कारमा सयर गर्छन् । सिल्भर कलरको उक्त कार किनेपछि सोही वर्ष काठमाडौंबाट वीरगन्ज पुगेको शाह बताउँछन् ।
अभिनेत्री प्रियंका कार्की टाटाको जेस्ट चढ्छिन् । अभिनेता राजेश हमाल पनि गाडीप्रति मोहित छन् । हमाल कियाको स्पोर्टेज चढ्छन् । हास्यकलाकार सन्दीप क्षेत्रीले गाडी चढ्न थालेको चार वर्ष भयो । उनीसँग अहिले क्रेटा छ । यसभन्दा अघि उनी हुन्डाईकै आई ट्वान्टी चढ्थे ।
गायक हेमन्त शर्माले निजी कार चढ्न थालेको करिब आठ वर्ष भयो । उनले सुरुमा मारुतीको अल्टो किनेका थिए । उक्त गाडी रिकन्डिकसनबाट ५ लाख ६५ हजारमा किनेको शर्मा बताउँछन् । तीन वर्ष अल्टो चढेपछि उनले हुन्डाईको आई–१० खरिद गरे । अहिले उनीसँग हुन्डाईकै नयाँ आई–२० छ, जसलाई उनले तीनवर्ष अघि ३८ लाखमा खरिद गरेका हुन् ।
यस्तै गायक रामकृष्ण ढकाल कियाको स्पोर्टेज चढ्छन् । ढकालले यो गाडी चढ्न थालेको करिब चार वर्ष भयो । ढकाल पनि गाडीका सौखिन मानिन्छन् ।
अभिनेता दीपकराज गिरी टाटाको हेक्जा चढ्छन् । उनले यो गाडी करिब ९ महिनाअघि किनेका हुन् । यो गाडी किनेपछि पोखरासम्मको लामो यात्रा गरेको गिरी बताउँछन् । हेक्जाभन्दा अघि गिरीले सुजुकीको स्विफ्ट डिजायर तथा हुन्डाईको आई–१० को सवारी गरेका थिए । यस्तै दीपाश्री निरौला अहिले हुन्डाईको आई–२० चढ्छिन् । उनले यो गाडी करिब एक वर्षअघि ४२ लाखमा खरिद गरेकी हुन् । यसभन्दा अघि उनी स्यान्ट्रो चढ्थिन् । यस्तै अभिनेता जितु नेपाल हुन्डाईको आई–२० चढ्छन् । यसभन्दा अघि उनी हुन्डाईको आई–१० चढ्थे ।