साप्ताहिक संवाददाता
अभिनेत्री शिल्पा मास्के सुन्दर छिन् । उनको अभिनयमा पनि कुनै कमी छैन । नृत्यमा पनि उनले गुनासो गर्ने ठाउँ दिएकी छैनन् । शिल्पा बेलायतमा अभिनयको प्रशिक्षण लिएर नेपाली चलचित्र क्षेत्रमा आएकी हुन् । यती हुँदा–हुँदा पनि अभिनेत्री मास्केले अभिनय गरेका चलचित्रहरू चल्न सकेका छैनन् ।
शिल्पाको अभिनयले दर्शकको मन जित्न सकेका छैनन् । शिल्पाले अभिनय गरेका तीनवटै चलचित्र औसतभन्दा माथि उठ्न सकेनन् । पहिलो चलचित्र ब्रेकअपमा उनलाई बिन्दास युवतीका रूपमा चित्रण गरिएको थियो । अनमोल केसीको चलचित्र क्याप्टेनसँग जुधेका कारण पनि उक्त चलचित्र व्यवसायिक रूपमा सफल हुन सकेन ।
चलचित्र ‘कागज पत्र’ पनि नचलेपछि शिल्पालाई दोस्रो पटक ठेस लाग्यो । दुई साताअघि प्रदर्शन भएको आफ्नो तेस्रो चलचित्र ‘सानो मन’ पनि औसतभन्दा माथि उठ्न नसकेपछि शिल्पामाथि असफलतामा ह्याट्रिक गर्ने अभिनेत्रीको बात लागेको छ । सबै कुराले पूर्ण भए पनि आफूले अभिनय गरेका चलचित्र नचलेपछि शिल्पाको अबको यात्रा कसरी अघि बढ्छ, हेर्न बाँकी नै छ ।