साप्ताहिक संवाददाता
अनमोल केसी पछिल्लो समयका लोकप्रिय अभिनेता हुन् । चलचित्र उद्योगमा पाइला चालेको छोटो समयमै धेरैको मनमा बस्न सफल अनमोललाई लिएर चलचित्र निर्माण गर्न खोज्ने निर्माताको कुनै कमी छैन । यद्यपी अनमोल भने चलचित्रको स्क्रिप्ट र राम्रो टिम नभएसम्म काम नगर्ने अडान राख्दै आएका छन् ।
सोहि कारण पनि उनले धेरै चलचित्र छोडिदिए । अहिले होमप्रोडक्सनको चलचित्र ‘एन्टि हिरो’ को काममा व्यस्त अनमोलले हालै निर्माता सन्तोष सेनलाई भेटेका छन् । भेटमा निर्माता सेन र अभिनेता केसीले ‘हिजो, आज र भविष्य’ को चलचित्र बजारको स्थितीलाई लिएर निकै गम्भिर ढगंले छलफल गरेको बुझिएको छ । नेपालको चलचित्र उद्योगको भविष्य निकै राम्रो भएपनि आवश्यक टिम र व्यक्तीको सहकार्य नमिलेकै कारण सोचेजस्तो रिजल्ट आउन नसकेको उनिहरुको निष्कर्ष छ ।
श्रोतका अनुसार निर्माता सेनलाई लामो समयदेखि अनमोलले भेट्न खोजेका थिए । यद्यपी, निर्माता सेन चलचित्र ‘प्रेम गीत ३’ को काममा व्यस्त भएका कारण अनमोलसँग भेट्ने अवसर जुरेको थिएन । भेटमा अनमोलले आफुलाई विल्कुलै फरक विषयवस्तुमा काम गर्ने सोच रहेकाले त्यस्तो समय कुरेर बसेको बताए । निर्माता सेनसँग अनमोलले भने, ‘एकपटक तपाइको सोंचमा सहकार्य गर्ने मन छ ।’
सन्तोष सेनले चलचित्र ‘प्रेम गीत ३’ प्रदर्शनपछि विशेष किसिमको भेट गरेर सल्लाह गर्ने बचन दिएका छन् । उनिहरुको भेटलाई केहि समयदेखि निकै चासोको रुपमा लिइएको थियो । यद्यपी उनिहरु दुवैले यो भेटको विषयमा आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । तर, उनिहरु निकट अति विश्वस्त स्रोतले सेन र अनमोलको भेट निकै गम्भिर विषयमा भएको र निकट भविष्यमै सहकार्य हुन सक्ने समेत संकेत गरेका छन् ।