साप्ताहिक संवाददाता
नेपाली चलचित्रमा खलनायकको चर्चा हुने बित्तिकै सुनिल थापाको सम्झना आउँछ । थापाले राते काइँलाका रूपमा बेग्लै छाप बनाएका थिए । त्यसयता नेपाली चलचित्रमा खलनायकहरूको समेत प्रभावकारी भूमिका रहँदै आएको छ । पछिल्लो समय त अभिनेताहरूलाई नै खलनायकका रूपमा अभिनय गराउने ट्रेण्ड प्रारम्भ भएको छ ।
अभिनेता अनुप विक्रम शाही प्रायः खलनायककै भूमिकामा प्रस्तुत भैरहेका हुन्छन् । अहिले आएर चलचित्रका लागि एउटा नयाँ अनुहार खलनायिकाका रूपमा दर्शकमाझ आएकी छिन् सिर्जना रेग्मी ।
स्थापित मोडल रहिसकेकी सिर्जनाले नम्रता श्रेष्ठको नयाँ चलचित्र ‘जाइरा’ मार्फत खलनायिकाको भूमिका निर्वाह गर्दै अभिनय यात्रा प्रारम्भ गरेकी छिन् । यही साता प्रदर्शनमा आएको उक्त चलचित्रमा नम्रता श्रेष्ठले मार्शल आर्ट खेलाडीको भूमिका निर्वाह गरेकी छिन् भने सिर्जनाले नम्रतासँगै फाइट खेल्ने एक्सन लेडीको भूमिका निर्वाह गरेकी छिन् ।
यो चलचित्रमा नम्रता र सिर्जनाका बीचमा जबरजस्त द्वन्द्वका दृश्य समावेश गरिएको छ । चलचित्रमा सिर्जनालाई नेपाली चलचित्रको इतिहासमै पहिलो पटक शक्तिशाली खलनायिकाका रूपमा प्रस्तुत गरिएको बताइन्छ । चलचित्रको ट्रेलरमा देखिने सिर्जनाको लुक्स, गेटअप तथा एक्सनको प्रशंसा भैरहेको छ भने सिर्जनाले गरेको बाइक स्टन्टको दृश्य पनि प्रशंसित छ ।