साप्ताहिक संवाददाता
रोहित अधिकारी निर्मित चलचित्र ‘छ माया छपक्कै’पहिलो पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका जोडी कलाकार केकी अधिकारी र दीपकराज गिरीका साथमा कलाकार जितु नेपाल र केदार घिमिरेलाई प्रस्तुत गरिएको छ ।
चलचित्रको मुहूर्तमा पनि पहिलो पोस्टरमा समेटिएका यिनै ४ कलाकार दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे र जितु नेपालले मुहूर्त सर्ट दिएका थिए । जेठको पहिलो साता सिन्धुलीबाट छायांकन प्रारम्भ गरेको चलचित्रले पहिलो पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रचार यात्रा प्रारम्भ गरेको छ । चलचित्रको पोस्टर निर्माता रोहित अधिकारीले आफ्नो फेसबुक पेजमा पोस्ट गरेका छन् । फेसबुक मार्फत सार्वजनिक गरिएको चलचित्रको पहिलो पोस्टर मंगलबारनै एक कार्यक्रमका बिच औपचारिक कार्यक्रम गरेर सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ ।
रोहित अधिकारीले लगानी गरेको यो चलचित्र दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । रोहितले पहिलोपटक यहि चलचित्र मार्फत दीपकराज गिरी र दीपाश्री निरौलासँगको टिपअप गरेरका छन् । रोहित सफल चलचित्र गाजलुका निर्माता हुन् । आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मसको संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्रमा सुपुष्पा भट्ट, रमा थपलियालगायतका कलाकारले पनि शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
४० वर्ष उमेर अन्तरालको प्रेम कथामा आधारित रहेर बनेको यो चलचित्र हरि हुमागाईंले छायाङ्कन गरिरहेका छन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहने चलचित्रमा दीपक शर्माको संगीत छ । चलचित्रमा निर्देशक लामाको कथा तथा दीपकराज गिरीको पटकथा रहेको छ । संवाद लेखनमा भने दीपकलाई केदार घिमिरे, जितु नेपाल र अभिमन्यु निरबीले सहयोग गरेका छन् । यो चलचित्र दशैंमा रिलिज हुनेछ ।