साप्ताहिक संवाददाता
चलचित्रका अभिनेताले आफ्नो ज्यान राम्रो बनाउनु ठूलो कुरा होइन । अधिकांश अभिनेता फुर्सद पाउने बित्तिकै जिमशाला धाउनु सामान्य हो । अचेल अभिनेता पुष्प खड्का पनि आफ्नो ज्यान बनाइरहेका छन् । यद्यपि, उनले ज्यान बनाएको कुरालाई भने बलिउडका अभिनेता प्रभाससँग तुलना गरिएको छ । भदौ १३ गते बलिउडको हालसम्मकै सबैभन्दा ठूलो बजेटको चलचित्र ‘साहो’ प्रदर्शनमा आउँदैछ ।
त्यही मितिमा पुष्प खड्काको महत्वाकांक्षी चलचित्र ‘मारुनी’ प्रदर्शन हुँदैछ । बलिउडको ठूलो चलचित्रसँग आफ्नो चलचित्रको भिडन्त हुने कुराले निर्देशक नवल नेपाल तथा निर्मात्री पूनम क्षेत्रीको चिन्ता बढिरहेको हुनुपर्छ । यता अभिनेता पुष्प खड्का भने पृथक विषयमा फरक शैलीबाट निर्माण भएको मारुनीलाई नेपाली दर्शकले माया गर्छन् भन्ने कुरामा ढुक्क देखिन्छन् ।
निर्माणमा कुनै सम्झौता नगरिएकाले मारुनीले व्यवसायिक सफलता पाउने तर्क छ । यद्यपि, मल्टिप्लेक्समा हलिउड तथा बलिउडका चलचित्र हेर्न पल्किएका सहरीया दर्शकले अभिनेता खड्काको विश्वासमा कत्तिको साथ दिने हुन्, हेर्न बाँकी नै छ ।