साप्ताहिक संवाददाता
गत शुक्रबारबाट रिलिज भएको चलचित्र ‘जाइरा’मा अभिनेत्री नम्रता श्रेष्ठ फरक भूमिकामा देखिएकी छिन् । अभिनेत्री नम्रता श्रेष्ठ स्टार चलचित्र ‘जाइरा’मा समावेश ‘जिन्दगीको खेल’ शिर्षकको गीत चलचित्र रिलिजको ५ औँ दिनपछि रिलिज गरिएको छ । ‘जाइरा’ को ओरिजिनल साउण्ड ट्रयाक ‘जिन्दगीको खेल’ सार्वजनिक गरिएको हो ।
‘टम्बल वीड’ ब्याण्डले तयार पारेको यो गीतको भिडियोमा प्रियंका आरएल थापा, मोनिषा कर्माचार्य, मोनिका कर्माचार्य र सेलिषा श्रेष्ठको गेस्ट अपिरियन्स छ । पदम बहादुर श्रेष्ठ ‘बाबु’ ले गीत खिचेका हुन् ।
बदलाको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र ‘जाइरा’मा अभिनेत्री नम्रता मिक्श मार्शल आर्ट खेलाडीको भूमिकामा देखिएकी छिन् । यो चलचित्रमा नम्रताका साथमा प्रमोद अग्रहरी, अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरलगायतले अभिनग गरेका छन् ।
आशुतोष राज श्रेष्ठले निर्देशन गरेको चलचित्रमा प्रशन्न गोपाली कार्यकारी निर्माता रहेका छन् । बाबु श्रेष्ठले खिचेको चलचित्रलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । चलचित्रको पटकथा निर्देशक श्रेष्ठ र निरोज महर्जनको हो ।
मिश्रित प्रतिक्रिया बटुलेको यो चलचित्रले बक्सअफिसमा सन्तोषजनक व्यापार गरिरहेको निर्माण पक्षले दाबी गरेको छ । चलचित्र हेर्ने दर्शकले अभिनेत्री नम्रताको अभिनय र मेहनतको प्रशंसा गरेका छन् ।