साप्ताहिक संवाददाता
बालाजुमा रहेको, चलचित्र विकास कम्पनीको खुम्चिएको जग्गा । सोही जग्गामा टिनले बारेर बनाइएको एउटा स्टूडियो । सोही स्टूडियो भित्र भव्य सेट लगाएर चलचित्र ‘पोई पर्यो काले’को शिर्ष गीतको छायांकन भैरहेको थियो ।
चलचित्रको शिर्ष गीतमा मुख्य कलाकार सबैलाई स्थान दिइएको छ । नायक सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धरको साथमा नायिकाद्धय पूजा शर्मा र श्रृष्टी श्रेष्ठले कम्मर मर्काइरहेका थिए ।
कोरियोग्राफर रामजी लामिछाने कलाकारलाई डान्स स्टेप सिकाउन व्यस्त देखिन्थें । छायांकार शिव ढकाल आकर्षक सेट र कलाकारलाई क्यामेरामा कैद गर्न तल्लिन रहेका थिए ।
शिशिर राणाको लेखन तथा निर्देशनमा बनेको चलचित्रलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । चचित्रमा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । अमलादेवी राई चलचित्रकी कार्यकारी निर्माता हुन् ।
चलचित्रको शिर्ष गीतमा अर्जुन पोखरेलको संगीत, रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर, नृपेश उप्रेतीको शब्द छ । यो चलचित्रले आगामी कार्तिक ८ का लागि रिलिज डेट लक गरिसकेको छ ।