दीपिका प्रसाईं नेपालकी लोकप्रिय अभिनेत्री हुन् । चलचित्र ऐश्वर्यबाट एकाएक धेरैको दिवाना बनेकी दीपिकाले त्यसपछि छक्कापन्जा ३ बाट धेरैको नजरमा पनि परिन् । यो चलचित्रपछि उनले आफ्नै होमप्रोडक्सनबाट निर्माण हुने चलचित्रमा काम गर्ने अडान राखेकी थिइन्, तर उनले बिचमा चलचित्र हेल्लो जिन्दगीमा काम गरिन् । उनै दीपिकासँग रामजी ज्ञवालीले यसपटक रमाइलो गफ गरेका छन् ।
डियर जिन्दगीको सुटिङ त सकियो, अहिले के मा व्यस्त हुनुहुन्छ ?
अहिले म नयाँ प्रोजेक्टको तयारीमा छु ।
कस्तो प्रोजेक्ट हो ?
यो होम प्रोडक्सनको ब्यानरमै निर्माण हुने चलचित्र हो । निर्देशक दिवाकर भट्टराई र मेरो आफ्नै ब्यानरमा निर्माण हुन लागेको चलचित्र हो ।
कहिलेदेखि छायांकनमा जानुहुन्छ ?
दशैं मनाएर छायांकनमा जाने तयारीमा छौं ।
अनि, पारिवारिक दाम्पत्य जिवन कस्तो चल्दैछ ?
राम्रै छ ।
चलचित्र क्षेत्रमा अभिनेत्रीको रुपमा करिअर जम्न लागेका बेला दिवाकर भट्टराईसँग भेट भयो है ?
संयोग नै भन्नुपर्छ । भनिन्छ नि, हरेक कुरा समयको खेलसँगै परिवर्तन हुन्छ । समयको रफ्तारसँगै मानिसले भोग्नुपर्ने कुरा भोग्दै जानुपर्छ ।
बास्तवमा उहाँको के कुराले प्रभावित पा¥यो ?
एउटै कुराले प्रभावित पारेको होइन । उहाँको व्यवहार, स्वभाव, लुक्स लगायत धेरै कुराले प्रभावित पार्दै लग्यो ।
पहिलोपटक उहाँसंग कहाँ भेट भएको थियो ?
बानेश्वरको एउटा कफि सपमा नि ।
कतिबेर भुल्नुभयो ?
केहि घण्टा ।
दिवाकर भन्दा अघि कसैसँग विहे हुनेवाला थियो ?
थिएन । तर, हात माग्न त धेरै जना आएका थिए ।
दिवाकर जि ले दिएको पहिलो गिफ्ट के थियो ?
ब्याग थियो ।
ब्याग भित्र के थियो ?
खाली थियो ।
मेरो मन पछि ब्याग जस्तै खाली छ, भरिदिनु भन्नुभएको रैछ है ?
हा हा हा..., त्यस्तै रहेछ भन्ने बुझ्नुपर्यो ।
अलिकति भिन्न विषयमा कुरा गरौं, कुनैपनि पुरुष पहिलोपटक भेटियो भने तपाईंको आँखा कहाँ जान्छ ?
उसको लुक्समै हो ।
लुक्सपछि ?
उसको व्यवहार हेरेर संगत गर्छु ।
कस्तो पुरुषले तपाईलाई आकर्षित गर्छ ?
साधारण स्वभाव भएको व्यक्ति मन पर्छ । बनावटी स्वभाव देखाउने मान्छेदेखि मलाई टाढै बस्न मनपर्छ ।
किन ?
बनावटी स्वभाव देखाउने व्यक्ति डरलाग्दा हुन्छन् ।
जिवनमा पहिलोपटक कुन पुरुषलाई भेट्नुभयो ?
मेरो आफ्नै ड्याडीलाई ।
बुबाले कत्तिको मायाँ गर्नुहुन्थ्यो ?
एकदमै धेरै ।
कहिल्यै पिट्नुभएको याद छ ?
छैन ।
सानोमा सबैभन्दा धेरै झगडा कोसँग गर्नुभयो ?
मेरो सानो भाईसँग हो । बिहान देखि साँझसम्म निकै झगडा हुन्थ्यो ।
कस्तो पुरुषदेखि असाध्यै घृणा लाग्छ ?
नेगेटिभ एटिच्युड भएको पुरुष पटक्कै मन पर्दैन ।
कस्तो मान्छेदेखि तपाईलाई सवैभन्दा धेरै झर्को लाग्छ ?
मिसकल गरिरहनेदेखि दिक्कै नै लाग्छ ।
त्यस्ता ब्यक्तिलाई तपाई के भन्नुहुन्छ ?
कहिलेकाहीँ त मैले मज्जाले थर्काएकी छु । कहिलेकाहिँ सम्झाएकी पनि छु ।
दिवाकर जि भन्दा अघि कोही प्रेमी थिए की ?
म सिंगल नै थिएँ ।
जिन्दगीमा पहिलोपटक डेट गएको याद छ ?
याद हुनका लागी त प्रेमी हुनुपथ्र्यो होला नि । म करिअर बनाउन हिंडेको मान्छे, डेट–सेटमा भुलिनँ ।
करिअरको सुरुवात्मै प्रेममा पर्नुभयो हैन ?
हाहा.., यो अनौठो संयोग हो । भाग्यमा जे लेखिएको हुन्छ, त्यो भोग्नै पर्दोरहेछ । लभ मात्रै परेन, उहाँसंग त विहेनै भयो ।
निकै राम्री हुनुहुन्छ, पहिलो पटक कहिले लभ लेटर हात पर्यो ?
८ कक्षामा पढ्दा नै हो ।
प्रेम पत्र हात परेपछि कस्तो लाग्यो ?
एकदम डर लाग्यो ।
लभ लेटर कस्तो थियो ?
झण्डैं ८ पेजको थियो । कागजको कुनैपनि खाली स्थान बाँकी नराखेर, निकै इमोशनल कुरा लेख्नुभएको थियो ।
के लेखिएको थियो ?
मिठा सपना कोर्नु भएको थियो । जुन सपना सँगै पुरा गरौं भन्नुभएको थियो । साथै, उहाँले आफुले असाध्यै माया गर्ने कुरा भन्नुभएको थियो ।
जवाफ के दिनुभयो त ?
एसेप्ट गर्ने माहौल नै भएन । म परिपक्क थिइनँ । प्रेम भन्ने कुरा के हो भन्ने समेत ख्याल नभएको मान्छेले कसरी लभ एसेप्ट गर्छ होला !
जिवनमा पहिलोपटक कस्ले चुम्वन गरेको थियो ?
ड्याडी ।
त्यसपछि ?
दिवाकरले ।
विहे त भयो, तर कोही क्रस छ ?
शाहिद कपुर । मैले कविर सिंह हेरिसकेपछि त शाहिदको डाइहार्ड फ्यान भएँ । खासमा शाहिदले मेरो दिल चोरे ।
तपाईको नामको ट्याटु कसैले खोपेको छ ?
मेरो नामको ट्याटु भन्दा पनि मलाई पाउने आशामा एकजना पुरुषले हात काटेर मेरो नाम लेख्नुभएको याद छ ।
आफ्नो बनाउन खोज्ने कसैले धम्की दिएको याद छ ?
एकजनाले धम्की दिनुभएको थियो । बास्तवमा, प्रेम भन्ने कुरा कोसँग कसरी पर्छ भन्नेनै थाहा हुँदैन रहेछ ।
संसारको सबैभन्दा ह्याण्डसम पुरुष ?
ड्याडी होला ।
तपाईलाई सवैभन्दा धेरै मनपर्ने नेपालमा कोही नेता छन् ?
केपी शर्मा ओली ।
उहाँको के कुरा मन पर्छ ?
उहाँ अहिलेको कुरा होइन, भविष्य हेरेर काम गर्नुहुन्छ । खासमा उहाँजस्तै केहि नेता हुनेहो भने नेपाल चाँडै समृद्ध हुने थियो ।
अलिकति मुडी स्वभावकी हुनुहुन्छ रे, जिवनमा कसैलाई पिटेको याद छ ?
सानोमा भाईसँग झगडा हुन्थ्यो, उसैलाई खुव कुटेको छु ।
स्कुल पढ्दा तपाईको झापड खाने पनि होलान् नि ?
कक्षा १० मा पढ्दा एकजना साथिलाई मज्जाले झापड हान्या छु । असाध्यै नराम्रो व्यवहारका कारण उसलाई पिट्नै पर्ने हुनाले पिटेकी हुँ ।
झगडा कसले मिलायो ?
टिचर आएर मिलाउनुभयो ।