साप्ताहिक संवाददाता
नेपाली चलचित्र क्षेत्रमा फलानो मल्टिप्लेक्स कलाकार, फलानो सिंगल थिएटर कलाकार भन्ने रोग नै छ । कुन कलाकारलाई लिएर चलचित्र बनाउँदा कुन हलमा चल्छ र कुन हलमा चल्दैन भन्ने चलचित्र निर्माणको त्रमदेखि नै अनुमान गरिन्छ । यो मामिलामा अभिनेता दयाहाङ राई केही फरक छन् । उनका चलचित्र सिंगल र मल्टिप्लेक्स दुवैमा राम्रैसँग चलेका छन् । दयाहाङ भाग्यमानी पनि मानिन्छन् ।
भाग्यमानी यस अर्थमा कि उनी निर्देशक रामबाबु गुरुङको कुनै पनि चलचित्र छुट्दैनन् र दयाहाङले रामबाबुसँग सहकार्य गरेका कुनै पनि चलचित्रले असफलताको स्वाद चाखेका छैनन् । दया बाहिरी ब्यानरका चलचित्रमा त्यति जम्न सक्दैनन्, जति रामबाबुको ब्यानरमा जम्छन् । चलचित्र ‘कबड्डी’ बाट सहकार्य सुरु गरेको यो जोडीले हालसम्म ‘मिस्टर झोले’, ‘पुरानो डुंगा’, ‘कबड्डी कबड्डी’, ‘साइँली’ र अहिले ‘कबड्डी कबड्डी कबड्डी’ सम्म आइपुग्दा सहकार्य तोडेका छैनन् ।
त्यसो त रामबाबुले आफूले निर्देशन नगरे पनि दयाहाङले अभिनय गरेका ‘झुम्की’, ‘त्यान्द्रो’ र ‘आप्पा’मा लगानी समेत गरिदिएका छन् । अन्य निर्माताको चलचित्रमा पारिश्रमिक, भूमिका र स्क्रिप्टमा आनाकानी गर्ने दयाहाङ रामबाबुको चलचित्रमा भने विना पारिश्रमिक र स्क्रिप्ट नै अनुबन्धित हुन्छन् । किनभने दयामा रामबाबुले राम्रो स्क्रिप्ट लेखेको छ भन्ने भरोसा छ ।
सीताराम कट्टेल ‘धुर्मुस’ तथा कुन्जना घिमिरे ‘सुन्तली’ ले निर्माण गर्न लागेको चलचित्र ‘सेन्टी भाइरस’मा दयाहाङ केमियोको भूमिकामा देखिँदैछन् । यो चलचित्रको निर्देशन पनि रामबाबुले नै गर्दैछन् । यो जोडीको दोस्तीयारी देखेका चलचित्रकर्मीहरू भन्छन्, ‘जहाँ रामबाबु, त्यहाँ दयाहाङ ।’