साप्ताहिक संवाददाता
यस वर्षको पद्मश्री साहित्य पुरस्कार निबन्धकार रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’लाई प्रदान गरिने भएको छ । निबन्धहरूको संगालो छुटेका अनुहारमा लेखक रमेश सायनले आफैंले भेटेर छुटेका केही अनुहार र तिनको मनोवृत्तिको कलात्मक शैलीमा चित्रण गरेका छन् ।
त्यस्तै, यस वर्षको पद्मश्री साधना सम्मान पूरातत्वविद्, इतिहासविद् तथा संस्कृतज्ञ डा. महेशराज पन्तलाई प्रदान गरिने भएको छ । दुईसय भन्दा बढी शोधलेखका साथसाथै ६ वटा पुस्तक प्रकाशित गरेका महेशराज पन्त नेपाली भाषा, संस्कृति, इतिहासका अन्वेषक हुन् । २००९ सालमा पिता नयनराज पन्तले सुरु गरेको संशोधन मण्डलका अभियन्ता महेशराज पन्तले २०२१ सालदेखि इतिहास प्रधान पूर्णिमा प्रकाशन गरिरहेका छन् ।
पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशि दुई लाख रुपैयाँ रहेको छ । २०६३ सालदेखि खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ । वि.सं.२०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्ने गरेको छ । दुवै सम्मान तथा पुरस्कार कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिने आयोजक संस्थाले जनाएको छ ।