इतिहासमा लेखिएका गौतम बुद्ध, पृथ्वीनारायण शाह, कालु पाण्डे र जड्डबहादुरहरू मात्र सत्य होइनन् । अतीतका केही कालखण्डमा जन्मिएर अवसान भएका करोडौँकरोड मानिसहरूका यहाँ मृत्युपर्यन्त अवशेष नै पखाल्लिएर गएका छन् । तिनीहरूलाई तिनीहरूकै पनाती खलकहरूले श्राद्धमा पिन्ड सेलाएर फगत एक दिन स्मरण गर्लान्, त्यो पनि केही समयसम्म । तिनका नाम, अनुहार र हाउभाउ समयले बिर्साउँछ, मानिसले बिर्सन्छ ।
इतिहास अतीत होइन, यसको सानो अंशमात्र हो । तथ्यहरूले जहिल्यै सत्य बोल्दैनन्, तथ्यलाई कसरी लिने मानिसअनुसार फरक–फरक दृष्टिकोण हुन सक्छ । त्यसै पनि एब्सल्युट सत्यको अस्तित्व छैन । ठाउँ, व्यक्ति एवं परिस्थितिअनुसार एउटाको सत्य अरु धेरैका लागि मिथ्या हुन्छ । एउटा तथ्य र अर्को तथ्यलाई पात्र, ठाउँ वा समय दिएर जुन मूर्त कथा बन्छ त्यो इतिहास हो । इतिहास एउटा लिखत भएकाले यसले अलिखित अतीतका ९० प्रतिशत भन्दा बढी कथा वा घटनाहरू गायब बनाएको हुन्छ । कसैले कुनै प्रश्नको उत्तर मौनताबाट दिन्छ भने बुझ्नेले एउटै तरिकाबाट बुझ्नुपर्छ भन्ने छैन ।
जो अव्यक्त, अलिखित वा अदृश्य छ त्यो फिक्सन हो । त्यसैगरी जीवन एउटा वास्तविकता हो भने मृत्युपछिको जीवन एउटा फिक्सन हो अर्थात् मृत्यु हरेक जिन्दगीको फिक्सन छिर्ने द्वार हो । जसरी अव्यक्त भूतकालहरूलाई कलम र पानाहरूले कथामार्फत आवाज दिन्छन्, त्यसैगरी मृत्युपछिको फिक्सनमा बाँचिरहेका जिन्दगीहरू अनेक रूपमा वास्तविकतालाई छुन आइरहन्छन् । उनीहरूका बोल्ने मुखहरू भनेकै हाम्रा सपना, कल्पना अनि फिक्सनहरू हुन् । सायद तिनै आत्माहरूका अंश नै मध्यरातको निन्द्राबीच कसैलाई झस्काउने कारक हुन् अनि शायद तीनै अदृश्य गैरवैज्ञानिक इन्जिनहरू भगवान र भूतको भ्रम भिरेर यदाकदा बेलाबेलामा मर्त्यलोकमा तैरिरहन्छन्— सायद–सायद ।
इतिहासमा लेखिएका गौतम बुद्ध, पृथ्वीनारायण शाह, कालु पाण्डे र जङ्गबहादुरहरू मात्र सत्य होइनन् । अतीतका केही कालखण्डमा जन्मिएर अवसान भएका करोडौँकरोड मानिसहरूका यहाँ मृत्युपर्यन्त अवशेष नै पखाल्लिएर गएका छन् । तिनीहरूलाई तिनीहरूकै पनाती खलकहरूले श्राद्धमा पिन्ड सेलाएर फगत एक दिन स्मरण गर्लान्, त्यो पनि केही समयसम्म । तिनका नाम, अनुहार र हाउभाउ समयले बिर्साउँछ, मानिसले बिर्सन्छ । यो शरीर चलाउने अभौतिक वस्तु के हो ? मलाई म र तँलाई तँ अनि उसलाई ऊ भनेर चिनाउने चालक को हो ? सबै जीवहरूलाई चलाउने अवश्य पनि हामी भित्र एउटा ड्राइभर छ, जुन व्यक्ति र जीवैपिच्छे पृथक छ । मृत्युपछि ती अर्बौं अर्बको संख्यामा रहेका ड्राइभरहरू कता बिलाउँछन् ? के हामीभन्दा फरक ती ड्राइभरले जन्मअघिको जिन्दगी र मृत्युपछिको जिन्दगी पनि जिउँछन् ? यस्ता प्रश्न जति सोच्यो त्यति नयाँ प्रश्न जन्मिरहन्छन् ।
पटक–पटक लेखक, कलाकारहरूले इतिहासका अमूर्त पात्रहरूलाई आकार दिएर उभ्याउने चेष्टा गरिरहेका हुन्छन् । अतीतलाई इतिहासमा परिणत गर्ने यो अभियान सदैब अपुरो रहने निश्चित छ । नासिएर गएका करोडौँ करोड जिवात्माहरूका खर्बौं खर्ब कथा लेखिन बजेट पुग्दैन, समय छैन, द्रष्टाहरूको अभाव छ । सोचमा समेत नअटाउने ती कथाहरू अभिव्यक्त गरेर कसले, कहिले सक्छन् ?
यो ब्रह्माण्डका यावत् इहलीलाहरूको प्रारुप प्रकृति हो, तसर्थ प्रकृति नै भगवान् हो । सबै नश्वर् जगतलाई प्रश्रय दिने पृथ्वी, सूर्य, वायु, आकाश, जल सबै–सबै प्रकृति हुन् । जन्मिने हरेक चिज मर्नै पर्ने यही प्रकृतिको अकाट्य नियम सबैले पालन गर्नुपर्छ । प्रकृतिले आफ्नो आयु रहेसम्म सबै लीला रचाएकै हुन्छ । मनुस्यजगतमा कुनै मानिस नामी हुन्छ, विख्यात हुन्छ तर आखिर प्रकृति जगतमा त्यही मानिस् ठीक अरु ऐरे–गैरेसरह नै विलय हुन्छ । प्रकृतिले मानव निर्मित शालीक वा ताम्रपत्र बुझ्दैन । ढुङ्गोधरि एक दिन तत्वमा रुपान्तरण भएर अर्कै परिचयमा विलीन हुन्छ, तसर्थ प्रकृतिले सबै अतित देखेको छ तर मानिसले केवल इतिहास देख्छ । यदि हामी इतिहास कोर्ने इतिहासकार वा इतिहास रच्ने महानायक बन्यौँ भने पनि त्यो मनुष्य जगत्का लागि मात्र हुनेछ ।