साप्ताहिक संवाददाता
नेपाली गीत/संगीतमा गीतकारले आफ्नो पहिचान बनाउन निक्कै कठिन छ । निक्कै चर्चित र लोकप्रिय गीतका गीतकारहरुको पनि निक्कै कम चर्चा हुने गरेको छ । पछिल्लो समय केहि ट्रन्ड परिवर्तन भएतापनि अहिले पनि गीत बज्दा गायक/गायिकाको नाम मात्रै भन्ने प्रचलन कायमै छ ।
गीत/संगीतको विकास र बिस्तारसँगै आएका प्रविधिका कारण गीत सुन्ने भन्दा हेर्ने विधामा पुगिसकेको छ । पछिल्लो पुस्ताले कतिपय चर्चित भएका गीत उक्त गीतको म्यूजिक भिडियोमा अभिनय गर्ने मोडलको भनेर बुझ्न थालिसकेका छन् । यस्तो समयमा नेपथ्यमा बसेर गीत लेख्ने गीतकारहरुले गीतै लेखेर आफ्नो नाम बनाउन निक्कै गाह्रो छ ।
तर, यहि समय नेपाली गीति लेखनमा आएर आफ्नो नाम विश्वमा लेखाउँन सफल गीतकारको नाम हो– डा. डिआर उपाध्याय । उनले नेपाली गीत/संगीतका विविध विधामा गरेको नामका खातिर विश्वका विभिन्न मुलुकले उनलाई सम्मान गरेको छ ।
६ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेरका उपाध्ययलले सोही कामका लागि लण्डनबाट विश्व किर्तीमानी गीतकारको सर्टिफिकेट प्राप्त गरे । गीत रिलिज ताका उनको कुनै त्यस्तो योजना थिएन् गीतै लेखेर विश्व रेकर्ड राखौंला भन्ने । तर, उनले एकै पटक ३६ गीत रिलिज गर्दासम्म एल्वमका रुपमा कसैले पनि उक्त काम नगरेको भन्दै उक्त रेकर्ड कायम सर्टिफिकेट प्रदान गरिएको हो ।
त्यसपछि उनले एउटै गीतमा ३ सय भन्दा बढी लोक बजाहरुको प्रयोग गरेर गीत रेकर्ड गराए । उनको यो काम पनि ‘वर्ल्ड बुक अफ रेकर्ड’मा दर्ता भयो । त्यसपछि फेरि उनले आठ फरक गीत आठ फरक बिटमा संगीत गरेर रेकर्ड गराए । नेपाली गीत संगीतका फरक फरक ६ कामका लागि ‘वल्ड बुक अफ रेकर्ड’मा आफ्नो नाम दर्ता गराएका गीतकार उपाध्यायले यसै हप्ता मुम्बई पुगेर सम्पूर्ण प्रमाणपत्र ग्रहण गरेका हुन् ।
एक भव्य कार्यक्रमकाबीच विश्व किर्तीमानी गीतकारका रुपमा प्रमाण पत्र बुझेर आएका गीतकार उपाध्यायले यस्तो काम धेरै पटक गर्न नसकिने बताएका छन् । गीत लेखेर पाएको यो पहिचानले आफूलाई निक्कै खुशी र गीत/संगीत प्रति अझैं जिम्मेवार बनाएको उनको भनाई छ ।