साप्ताहिक संवाददाता
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिलेको सर्वाधिक लोकप्रिय अभिनेत्री मानिन्छिन् । चलचित्र ड्रिम्सबाट अभिनयको करियर थालेकी शाहले छोटो समयमै धेरै चलचित्रमा अभिनउ पनि गरिन् र सबै चलचित्र मार्फत् दर्शकको ध्यान आकृष्ट गर्न सफल पनि भईन् ।
युवपुस्ता माझ लोकप्रिय छवि भएकै कारण उनलाई निर्माताले पहिलो प्राथमिकतामा राखे भने उनले पनि आफुले मागेको पारिश्रमिक पनि पाउदैं गईन् ।
हालै चर्चित चलचित्र चपली हाइटको तेस्रो सिक्वेलमा साम्राज्ञीलाई मुख्य अभिनेत्रीको रुपमा अफर गरिएको थियो । उनले चलचित्रको स्क्रिप्ट पढिन् र मन पनि पराइन् । अन्तिममा आएर उनले उक्त चलचित्रमा काम नगर्ने निर्णय गरेकी छिन् ।
साम्राज्ञीले किन यो चलचित्र छोडिन् ? यस विषयमा आधिकारिक धारणा कतैबाट आएको छैन । न अभिनेत्रीले भनेकी छिन्, न चपली हाइटका निर्माता अर्जुन कुमारले नै खुलाएका छन् । तर, पटक–पटक निर्माण पक्ष र साम्राज्ञीबिच भेटघाट भएको थियो । उनले काम नगर्ने निर्णय लिएसँगै निर्माण टिमले अर्की हटकेक अभिनेत्री स्वस्तिमालाई इन्ट्रि गराएको छ । स्वस्तिमाले एकपटकमै स्क्रिप्ट पढेर काम गर्ने निर्णय गरेकी छिन् । स्रोतका अनुसार साम्राज्ञीले चलचित्रको नाम परिवर्तन गर्न आग्रह गरेकी थिइन्, तर निर्माण पक्षले नाम परिवर्तन गर्न नसकिने जवाफ दिएपछि साम्राज्ञी चलचित्रबाट बाहिरिएकी हुन् ।