साप्ताहिक संवाददाता
यो साता चलचित्र ‘मारुनी’ प्रदर्शनमा आउँदैछ । फेसन डिजाइनर तथा निर्मात्री पुनम गौतमले निर्माण गरेको यो चलचित्रमा नवल नेपालको निर्देशन छ, जसमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, रेबिका गुरुङ, अर्जुन श्रेष्ठ, कुशाग्र भट्टराई आदि कलाकारले अभिनय गरेका छन् । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र विशेषतः युवापुस्ताको वर्तमान प्रेममा केन्द्रित छ ।
नवल नेपाल, निर्देशक
चलचित्रमा ‘मारुनी’ शब्दलाई हामीले एउटा प्रतिविम्बका रूपमा लिएका छौं । यो शब्दले मारुनी नृत्यसँग कुनै सरोकार राख्दैन । चलचित्रमा दुई युवती र एक युवकको प्रेममा आउने उतारचढाव प्रस्तुत गरिएको छ । चलचित्रमा मनोरञ्जनसँगै इमोसनल पाटा पनि छन् । मैले यसअघि निर्देशन गरेका चलचित्रमा म्याचुअर्डनेस थियो, तर यो चलचित्रमा चाहिँ दर्शकले युवापुस्ताको भावना पाउनुहुनेछ । यो चलचित्रमा अभिनेत्री साम्राज्ञीलाई बोल्ड संवादमा हेर्न पाइनेछ । यस अर्थमा बोल्ड कि साम्राज्ञीले यसअघिका चलचित्रमा सजिलो र रफ किसिमको संवाद बोलेकी थिइन्, तर यो चलचिक्र त्यस्ता संवादबाट मुत्त छ । चलचित्रमा शास्त्रीय किसिमका संवाद छन् । हामीले यो चलचित्रको छायांकन भैरहवा, कोहलपुर तथा काठमाडौंमा गरेका हौं ।
पुष्प खड्का
मैले अहिलेसम्म अभिनय गरेका चलचित्रको तुलनामा ‘मारुनी’ केही फरक छ । यसमा हिरोइज्म भन्दा पनि विशुद्ध प्रेमकथा र केही एक्सन छ । चलचित्रको विषयबस्तु मन छुने खालको छ । मलाई लाग्छ अहिलेसम्म नेपालमा यस्तो कथामा चलचित्र बनेको छैन । चलचित्रले वर्तमान पुस्ताको माया–प्रेम समेटेको छ । चलचित्र ‘मंगलम’मा काम गर्दा साम्राज्ञीसँग मेरो भेट हुन पाएन । चलचित्र ‘मारुनी’को घोषणामा मात्र उनीसँग भेट भएको हो । म साम्राज्ञीको कामबाट प्रभावित भएँ ।
साम्राज्ञी राज्यलक्ष्मी शाह
मैले चलचित्र ‘मारुनी’मा केही नयाँपन दिएकी छु । यो चलचित्रको कथा सुन्दा अरुको आँखा लाग्छ कि भन्ने डरसमेत लागेको थियो । किनभने चलचिक्रको स्त्रिप्ट नै राम्रो थियो । म आफूलाई निकै बोल्ड अभिनेत्री मान्थें, तर यो चलचित्रमा म भन्दा बोल्ड संवाद थिए । म यस्तो संवाद बोल्न सक्छु कि सक्दिनँ भन्ने डर पनि थियो । भूमिका एकदमै राम्रो थियो । कथा सुनेपछि गर्नुपर्छ भन्ने पनि लाग्यो । यति शक्तिशाली भूमिका गर्न सक्छु कि सक्दिनँ भन्ने पनि नलागेको होइन ।