साप्ताहिक संवाददाता
गत साता विभिन्न क्षेत्रमा कार्यरत व्यत्ति एवं संस्थाहरू सूचना प्रविधिसम्बन्धी आईसीटी एवार्डबाट सम्मानित भए । लिभिङ विथ आईसीटीद्वारा संयोजित उक्त एवार्डमार्फत यो क्षेत्रमा कार्यरत व्यत्ति एवं संस्था सम्मानित भएका हुन् ।
यस क्रममा ई–डिजिटल नेपालले स्टार्टअप आईसीटी एवार्ड प्राप्त गरेको छ । ई–डिजिटल नेपालले नेपालको शिक्षण संस्थामा देखिएको परम्परागत सूचना व्यवस्थापन प्रणाली एवं डिजिटल सूचना व्यवस्थापन प्रणालीबीचको अन्तर कम गर्ने उद्देश्य राखेको छ । यसले छोटो समयमै सयभन्दा बढी स्कुललाई स्टुडेन्ट म्यानेजमेन्ट सिस्टम सफ्टवेयरमार्फत सफलताका साथ डिजिटलाइज्ड गरिसकेको छ । यो स्टार्टअप इनोभेटिभ सोलुसन्सका लागि आइटी क्षेत्रमा अनुभव सँगालेको टिमले हाँकिरहेको छ । अहिले यो कम्पनीले ३० जना बढीलाई प्रत्यक्ष रूपमा रोजगारी दिइरहेको छ ।
प्रोडक्ट आईसीटी एवार्ड मेडिफ्लो सिस्टम एन्ड सर्भिसेजले प्राप्त गरेको छ, जसले अस्पताललाई अटोमेट गर्ने काम गर्छ । यसले अस्पतालको प्रशासनिक व्यवस्थापनलाई डिजिटलाइज्ड गर्छ भने विभिन्न मोड्युलहरूलाई एकीकृत गरेर इलेक्ट्रोनिकल मेडिकल रिपोर्ट तयार पार्छ । मेडिफ्लो नेपालमा उपलब्ध सिस्टममध्ये इलेक्ट्रोनिक मेडिकल रिपोर्ट र हस्पिटल म्यानेजमेन्ट सिस्टम दुवै भएको एक मात्र सिस्टम हो । यसले बिरामीको क्लिनिकल डाटालाई इलेक्ट्रोनिक वा क्लाउड सिस्टममा राख्छ र आवश्यक परेका बेला तुरुन्तै डाटामा पहुँच पुर्याउन सकिन्छ । त्यस्तै बिरामीले मोबाइल एप्लिकेसनबाटै आफूलाई चाहिने जानकारी–अपडेट लिन सक्छन् ।
स्टुडेन्ट प्रोजेक्ट आईसीटी एवार्ड रक्तदानले पाएको छ । पुल्चोक क्याम्पसका एलेक्स भट्टराई, अनिश दुलाल, मितेश पाण्डे, निशेष वाग्ले तथा विवेक तिमल्सिनाले निर्माण गरेको प्रोजेक्ट हो— रक्तदान । यो प्लेटफर्ममा रियल टाइम लोकेशन डाटाबेस अपडेट गरिएको हुनाले कुन मानिस (रक्तदाता) कहाँ छ भनेर रेडियस बेस्ड सर्च गर्न सकिन्छ । ब्लड ग्रुपको नाम सर्च गरिसकेपछि आफ्नो वरिपरि को–को इच्छुक रक्तदाता छन् भन्ने जानकारी यो एपले दिन्छ ।
त्यसैगरी पायोनियर आईसीटी एवार्ड महावीर पुनले प्राप्त गरेका छन् । एउटा सामाजिक कार्यकर्ताका रूपमा पुनले ग्रामीण क्षेत्रमा विद्यालयहरूको शैक्षिक गुणस्तर उकास्ने, हेल्थपोस्ट नभएको ठाउँमा सामुदायिक क्लिनिक तथा टेलिमेडिसिन सञ्चालन गर्ने जस्ता काम गरेका छन् ।
खल्ती र स्प्यारो एसएमएसका संचालक अमित अग्रवालले इन्टरप्रेनर आईसीटी एवार्ड प्राप्त गरे । जीवनको पहिलो आम्दानी २ हजार रुपैयाँबाट सुरु गरेका अग्रवाल आज लाखौं प्रयोगकर्ता भएको खल्ती मोबाइल वालेटको नेतृत्व गरिरहेका छन ।
डिजिटल एजुकेसन आईसीटी अवार्ड नेपाल खुल्ला विश्वविद्यालय, ललितपुरले प्राप्त गर्यो । अहिले १ हजार ३२ जना विद्यार्थीले खुल्ला विश्वविद्यालयमा अध्ययन गरिरहेका छन । नेपाली डायस्पोरा आईसीटी एवार्ड डा. समीर मास्केले प्राप्त गरे । डा. मास्के फ्युज मेसिनका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत हुन् । डा. मास्के आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी विभिन्न सोलुसन्स प्रदान गर्ने यो कम्पनीलाई नेपाल र अमेरिकामा स्थापित गराउन सफल छन् । विशेष गरी उनले नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ र मेसिन लर्निङको माध्यमबाट कस्टमर सर्भिस अटोमेसनका लागि प्लेटफर्म बनाइरहेका छन् ।
डिजिटल गर्भनेन्स आइसिटी अवार्ड लोकसेवा आयोगले प्राप्त गरेको छ । आयोगले विगत केही वर्षदेखि सम्पूर्ण परिक्षा फारम अनलाइनबाटै बुझाउन सकिने व्यवस्था गरिसकेको छ जसअन्तर्गत लोकसेवा आयोगले प्रकाशन गरेको ९ हजार १ सय ६१ पदका लागि ४ लाखभन्दा बढी आवदेकले बिना कुनै झन्झट घर बसी–बसी फारम बुझाएका छन् ।
पब्लिक च्वाइस आईसीटी एवार्ड किताबयात्राले प्राप्त गरेको छ । सन २०१७ मा स्थापना भएको किताबयात्रा डटकम अनलाइन बुक स्टोर हो जहाँ विभिन्न विधाका पुस्तक अनलाइनबाट सोझै खरिद गर्न सकिन्छ ।