माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा सीधा कुरा जनतासँगका सञ्चालक सञ्चारकर्मी रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई साउन ३० गते पक्राउ गरेर भरतपुर ल्याइएपछि चितवनको दैनिकी बदलियो । लामिछाने पक्राउ परेलगक्तै युट्युब च्यानलहरूको सत्रियता र घटनाका सम्बन्धमा अनेकन् अफवाह फैलिएसँगै ठुलो जनमत लामिछानेतिर एकोहोरियो ।
सनसनीपूर्ण खुलासा, बाहिरियो रहस्य, गोप्य भिडियो, कसले खिच्यो भिडियो, पुडासैनीका आँखामा हत्या गर्ने व्यक्तिको फोटो, अपराधी पत्ता लाग्यो’ जस्ता शीर्षकहरू युट्युबमा ट्रेन्डिङमा परे । पुडासैनी मृत्यु प्रकरणमा युट्युबमार्फत तर्क–विर्तक त आए नै, युट्युबमार्फत नै पत्रकार मार्ने मान्छे को हो ? खुलासा गर्छु भन्ने सम्मका भिडियो सार्वजनिक भए ।
लामिछानेलाई थुनामा राखिएपछिका दिनहरूमा जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला अदालत बाहिर समर्थकहरूको भीड थेगिनसक्नु देखिन्थ्यो । भरतपुरको अस्पताल रोड र सरकारी कार्यालय रोड ११ दिनसम्म प्रदर्शनस्थल नै बन्यो ।
त्यसो त पुडासैनी प्रकरणमा लामिछानेसँगै मुछिएका अन्य दुई अर्थात् युवराज कँडेल र पुडासैनीकी प्रेमिका भनिएकी अस्मिताको चर्चा शून्य प्रायः थियो । कतिपय समर्थकले अस्मिताले पुडासैनीसँग मिलेर रविलाई फसाउन खोजेको आरोपसमेत लगाए । उत्तेजित भीडले न्यायको माग गरिरहँदा अस्मितालाई पनि न्यायको खाँचो छ भन्नेहरू हराएका थिए ।
प्रहरी हिरासतमा रहेकी २१ वर्षीया अस्मिता अन्यौलमा थिइन् । उनले आफ्ना कुरा भन्न हुन्छ कि हुँदैन भन्नेसमेत छुट्याउन सकिरहेकी थिइनन् । अधिवक्ता फूलमाया रानाभाटले उनीसँग परामर्श गरेपछि मात्र उनी थोरै खुलेकी थिइन् । प्रेमी भनेर पुजेको व्यक्तिले धोका दिएको, वैवाहिक सम्बन्ध लुकाएर गुमराहमा राखि विवाह गर्न जोड दिएको र आफूले ऊसँग पिछा छुटाउन प्रयास गरेको कुरा उनले अधिवक्ता रानाभाटलाई बताएकी थिइन् ।
अस्मिताको मुद्दा हेर्ने अधिवक्ता रानाभाटले पुडासैनीले श्रीमतीलाई जानकारी गराएरै अस्मितासँग विवाह गर्न खोजेको बताइन् । प्रेम भनेकै एकअर्काको सम्मानमा हुनुपर्ने हो । प्रेम विवाहमा एक–अर्कालाई बुझेर स्वीकार गर्ने वा केही समस्या भए सहज छोड्न सक्नुपर्ने वातावरण तयार गर्न प्रेमी–प्रेमिकाकै भूमिका रहन्छ । अस्मिताले पनि त्यही गरिन् । उनलाई पुडासैनी आफ्नो जीवनका लागि ठिक लागेनन् र सम्बन्ध टुङ्ग्याउन चाहिन् तर उनको जीवनमा यो त्यति सहज निर्णय सावित भएन ।
अस्मिता हिरासतमा रहँदा उनकी आमा भने शिक्षण अस्पतालको बेडमा उपचाररत थिइन् । ‘तपार्इंकी आमा ठीक हुँदै हुनुहुन्छ, दाइले आमाको हेरचाह गरिरहनुभएको छ’ भनेर अधिवक्ताले सुनाउँदा उनी मुस्कुराएकी थिइन् ।
सोमबार जिल्ला अदालत चितवनले लामिछाने र कँडेललाई धरौटीमा र अस्मितालाई शुद्ध तारेखमा रिहा गरेपछि नारायणगढमा जुलुस निस्किएको थियो । चौविसकोठीमा ट्रक, बस तथा मोटरसाइकलमा नाराबाजी गर्दै प्रदर्शनकारीहरूले लामिछानेको जयजयकार गरे । लामिछानेले पनि उनका प्रति देखाइएको सदाशयताको सम्मान गर्दै धन्यवाद व्यक्त गरे ।
किटानी जाहेरीमा के छ ?
पत्रकार शालिकरामकी पत्नी सम्झना घिमिरेले भदौ १ गते काठमाडौंमा दिएको जाहेरी दरखास्तमा नारायणगढ, चितवनको पोखरा बसपार्कस्थित होटल कंगारुको कोठा नम्बर २०२ मा झुण्डी मृत फेला परेका पतिलाई दुःख तथा मानसिक पीडा दिई आत्महत्या गर्न बाध्य तुल्याएको कुरा उल्लेख छ । किटानी जाहेरीमा सम्झनाले पतिको साथबाट फेला परेको मोबाइलमा रहेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल तथा रुकु भन्ने अस्मिता कार्कीसमेतले आफ्नो पतिलाई दुःख दिएका कारण आत्महत्याको घटना भएको भन्दै निजहरूलाई कानुनबमोजिम कारबाही गरिपाऊँ भन्ने बेहोरा उल्लेख गरेकी छिन् ।
मृतकका साढुभाइ नुवाकोट बेलकोटगढी बस्ने रामप्रसाद रिमालले पनि रवि, अस्मिता र युवराजका कारण आत्महत्या गर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको बयान दिएका छन् । उनले मृत्युअघि शालिकरामले आफूसँग रवि लामिछानेसमेतले मलाई धेरै श्रममा लगाउँछन् र पैसा जति आफू मात्र लिन्छन्, मलाई कहिलेकाहीं रवि लामिछानेसमेतको समूहले हातपातसमेत गरी उपेक्षा गरेकाले मैले न्युज २४ छोडेको हो भनी बताएका थिए भनेर प्रहरी बयानमा उल्लेख गरेका छन् ।
अभियोगपत्रमा के छ ?
प्रहरीले सरकारी वकिलको कार्यालयमा दर्ता गरेको अभियोगपत्रमा सिलिङ पंखामा नाइलनको डोरीले पासो लगाई शालिकराम पुडासैनी झुन्डिएर मृत अवस्थामा रहेको घटनास्थल तथा लासजाँच मुचुल्का देखिनुका साथै अटोप्सी रिपोर्टमा समेत झुन्डिएरै आत्महत्या भएको तथ्य उल्लेख गरिएको छ । मृतकको साथबाट रवि, युवराज र अस्मिताले आफूलाई यो अवस्थामा पुर्याएको र सोही कारण आत्महत्या गरेको भनी भावविह्वल अवस्थामा रेकर्ड गराएको मोबाइल भिडियोले यो जाहेरी थप पुष्टि भएको बताइएको छ ।
मृतककी प्रेमिका भनिएकी अस्मिताले समेत सम्बन्ध बिग्रिएपछि न्युज २४ का क्यामेरामेन अनिल ढुंगेललाई शालिकराम र आफूबीचको म्यासेन्जर कुराकानीको केही स्क्रिन सर्ट दिएको र त्यसपश्चात् अनिल, युवराज र शालिकरामले सो सम्बन्धमा सल्लाह गरी योजना बनाई केही गरेको हुनुपर्छ भन्ने बताएको समेत उल्लेख छ । अभियोगपत्रमा लेखिएको छ— मृतकप्रति बदला लिन यी प्रतिवादी समेतको दुरुत्साहन तथा आत्महत्या गर्नुपर्ने सम्मको परिस्थिति खडा गरिदिएका कारण मृतकले आत्महत्या गरेको बुझिएको छ । अभियोगपत्रमा चितवन बस्ने प्रमिला शर्मा भुषालले आत्महत्याको दिन अर्थात् साउन २० गते शालिकरामले आफूसँग प्रेमिका र न्युज २४ का मानिस मिली मलाई फसाउन खोजेका छन्, रेप मुद्दा हाल्ने भनेका छन् भनी हतास अवस्थामा बताएका थिए भनेको कुरा पनि उल्लेख छ ।
रविले के भने बयानमा ?
कार्यक्रम निर्माता दिपक बोहराको सिफारिसमा शालिकरामलाई न्युज २४ को रिपोर्टरका रूपमा काममा राखेका थियौं । निजले पाउने सुविधाका बारेमा मलाई केही थाहा थिएन । निज काममा निकै मेहनत गरी खटिन्थे र राम्रा–राम्रा सूचनाहरू ल्याउँथे ।
करिब दुई महिना पहिले निजले (शालिकरामले) मैले माउन्टेन टिभीमा एक लाख रुपैयाँ तलब पाउने गरी मार्केटिङको काम पाएँ, अब न्युज २४ छोडे भनेका थिए । पछि निजले उक्त टिभीमा मिसन न्युज भन्ने कार्यक्रम चलाउँछन् भन्ने थाहा पाउँदा निजले किन ढाँटे होला भन्ने लागेको थियो । घटनाको दुई–तीन दिन पहिले हाम्रा क्यामेराम्यान अनिल ढुंगेलले हामी सबै कर्मचारीहरू सँगै भएको बेला निज शालिकराम पुडासैनीको प्रेमिका पनि भएको र उनकी प्रेमिकाले शालिकरामबाट केही समस्या भोगिरहेको भनेको सुनेको थिएँ ।
मिति २०७६ साउन २० गते मेरो कार्यक्रम नभएकाले म चाँडै सुते । भोलिपल्ट बिहान ब्युँझिई मोबाइल हेर्दा निज शालिकरामको मृत्युसम्बन्धी म्यासेजहरू २० गते राति नै आइसकेका रहेछन् ।
निजले मर्नुअघि बनाएका दुईवटा भिडियो हेर्दा निजले आफूलाई रवि लामिछानेसमेतले मर्न बाध्य बनाएकाले आत्महत्या गरेको भनेका रहेछन् । त्यो कुरा निजले के–कति कारणले भने मलाई थाहा छैन, तर निजले आफ्नी श्रीमती हुँदाहुँदै प्रतिवादी अस्मितासँग झूटो बोली निजसँग प्रेम गरेको र पछि प्रेमिका अस्मिताले सबै कुरा थाहा पाई टाढिन खोज्दा अस्मितालाई अनेक दुःख दिने, बाटो छेक्ने, मरिदिन्छु भनी डर देखाउने जस्ता कार्यहरू गर्ने गरेकाले अस्मिताले मैले चलाउने सिधा कुरा जनतासँग भन्ने कार्यक्रममा गई रवि लामिछाने समेतलाई तिम्रो बारेमा भनी सार्वजनिक गरिदिने भनेका कारणले सोही कुरालाई निजले साँचो ठानी म समेतसँग चित्त दुःखाई भिडियोमा मेरो समेत नाम लिई आत्महत्या गरेको हुनुपर्छ ।
बयानमा के भनिन अस्मिताले ?
आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीकी प्रेमीका रुकु भनिने अस्मिता कार्कीले प्रहरी बयानका क्रममा आफूलाई शालिकरामले बारम्बार दुःख दिने गरेको कुरा बताएकी छिन् ।
अस्मिताको बयानको मुख्य अंश :
आत्महत्याको चार पाँच दिन पहिले न्युज २४ टिभीका क्यामेराम्यान अनिल ढुंगेललाई फोन तथा म्यासेज गरी भेटी रवि लामिछाने समेतलाई सो कुराको जानकारी गराइदिनु भनी म र मृतक शालिकराम पुडासैनीबीच भएका म्यासेजहरूका केही स्क्रिन सर्ट निज ढुंगेललाई दिएकी थिएँ ।
भेटपछि न्युज २४ को कार्यालय अघि उभिएको तस्बिर खिची शालिकरामलाई पठाएकी थिएँ ।
मैले भेटेको र मैले राखेको कुराका बारेमा क्यामेराम्यान अनिलले रवि र युवराजलाई पनि जानकारी गराएको भनेर मलाई भनेका थिए । म सँगको भेटको कुरा आफूले शालिकरामलाई पनि भनेको भनेर अनिलले मलाई भनेका थिए ।
शालिकराम र मबीच भएका म्यासेजका स्क्रिनसटहरू मैले शालिकरामका नजिकका तीन जना साथीलाई पनि पठाएकी थिएँ । त्यसलगत्तै शालिकरामले मलाई बारम्बार फोन गरे तर मैले त्यति वास्ता गरिन् ।
साउन २० गते राति साढे १२ बजेतिर क्यामेराम्यान अनिलले मलाई फोन गरी शालिकरामसँग आदानप्रदान भएका म्यासेजहरू डिलिट नगर्नु भनेका थिए ।
बयानमा के भनेका छन् पत्रकार युवराज कँडेलले
न्युज २४ मा सीधा कुरा जनतासँगका सञ्चालक रवि लामिछानेसँग कार्यरत पत्रकार युवराज कँडेलले आफूले कहिल्यै मृतक पक्रकार शालिकरामलाई दुःख नदिएको कुरा बताएका छन् । बयानका त्रममा उनले भनेका छन्, ‘भिडियोमा भने जस्तो मैले कुनै दुःख दिएको छैन । निजले ल्याएका समाचार टिपोटहरूलाई कहिलेकाहीँ निकाल्ने–थप्ने काम हुन्थ्यो । सोही कुरामा निजले म संग चित्त दुखाएको हुनुपर्छ । त्यसबाहेक अन्य केही कारण छैन ।’
बयानका क्रममा युवराजले शालिकराम विवाहित भएको र श्रीमती सम्झनासँग नयाँ बसपार्कतिर बस्छन् भन्ने बाहेक निजका बारेमा आफूलाई अरू केही पनि थाहा नभएको बताएका छन् । युवराजले आत्महत्याभन्दा दुई वा तीन दिन पहिले कार्यक्रम निर्माता दीपक बोहोरा तथा कार्यक्रम सञ्चालक रवि लामिछानेका साथै न्युज २४ का अन्य कर्मचारीहरूसमेत भएका बेला क्यामेराम्यान अनिल ढुंगेलले मृतक शालिकराम पुडासैनीको प्रेमिकासँग सम्बन्ध बिग्रिएको गुनासो गरेको कुरा सुनाएको बताएका छन् । सोही कुराकानीका क्रममा त्यस्तो छ भने प्रहरीकहाँ जानु भनेर दिपक बोहोराले भनेका थिए ।
आत्महत्या गर्नुभन्दा अघि
के–के गरेका थिए शालिकरामले ?
नारायणगढ, चितवनको पोखरा बसपार्कस्थित कंगारु होटलमा गत २० गते आत्महत्या गरेका माउन्टेन टेलिभिजनका पत्रकार शालिराम पुडासैनी किन चितवन नै पुगेका थिए भन्ने तथ्य खुलेको छैन, तर प्रहरी बयानमा माउन्टेन टेलिभिजनका क्यामेरामेन ओमबहादुर भुजेलले शालिकरामले चितवनको रामनगरस्थित एक होटलमा स्टिङ गर्न जान्छु भनेर चितवन गएको बताएका छन् । भुजेल मृतक पत्रकार शालिकरामले नै चलाउने कार्यक्रम मिसन न्युजसँग आवद्ध थिए ।
२० गते बिहान ८ बजेर १५ मिनेटमा शालिकराम गोंगबु बसपार्क पुगेको देखिन्छ । त्यति नै बेला उनले प्रेमिका अस्मिता र श्रीमती सम्झनालाई फोन गरेको प्रहरीले टेलिकमबाट लिएको कल डिटेलमा देखिन्छ । ९ बजेर ४५ मिनेटमा उनको मोबाइलले कलंकीको टावर टिपेको थियो । त्यसको तीन घन्टापछि भने मलेखु टावरमार्फत उनको मोबाइलले काम गरेको देखिन्छ । प्रहरीका अनुसार मलेखु पुगेपछि पनि उनले श्रीमती सम्झनालाई फोन गरेको थिए ।
साढे तीन बजे उनी कंगारु होटलमा पुगेर कोठा नम्बर २०२ बुक गरेको पाइन्छ । लगत्तै उनी डोरी किन्न पोखरा बसपार्कस्थित श्रेष्ठ ब्रदर्श पसल पुगे । उक्त पसलमा काम गर्ने योगेन्द्र बहादुर राजवंशीले शालिकरामले साढे तीन बजे आफ्नो पसलबाट डोरी किनेर लगेको समेत पुष्टि गरेका छन् । प्रहरीले प्राप्त गरेको सिसिटिभी फुटेजमा पनि शालिकराम डोरी किन्न पसलमा पुगेको पाइएको छ ।
डोरी किनेर ३ बजेर ४५ मिनेटमा उनी होटलको कोठामा फर्किएका थिए । त्यसलगत्तै उनले भिडियो बनाएको देखिन्छ । अदालत र प्रहरी स्रोतबाट प्राप्त विभिन्न कागजात अध्ययन गर्दा शालिकराम आत्महत्या नै गर्न नारायणगढ पुगेका थिए वा अरू पनि केही कारण थियो भन्ने खुल्न सकेको छैन, तर चितवन जानुपूर्व पत्रकार शालिकराम मानसिक रूपमा समेत तनावग्रस्त रहेको पाइन्छ । आत्महत्या प्रकरणमा थुनामा परेकी रुकु भनिने अस्मिता कार्कीकी साथीले समेत आफ्नो बयानमा चितवन जानुपूर्व शालिकरामले आफूलाई फोन गरेको कुरा बताएकी छिन् ।
आत्महत्याको केही दिन पहिले शालिकरामले अस्मिताकी तिनै साथीलाई फोन गरी आफुले अस्मितालाई छोड्दै छु भनेका थिए । आत्महत्याको दिन बिहान ६ बजेर ४५ मिनेटमा शालिकरामले अस्मिताकी ती साथीलाई फोन गरी दिउँसो साढे १२ बजे भेट्न आउने कुरा बताए । अस्मिताकी साथीले आफ्नो प्रहरी बयानमा भनेकी छिन्, ‘जरुरी काम छ, तर यो कुरा अस्मितालाई नभन्नु भनेका थिए, तर त्यसपछि उनले मलाई फोन गरेनन् ।’
प्रहरी बयानका क्रममा ती साथीले मृतक पत्रकार शालिकरामले आफू अविवाहित भनेर झुक्याएको विषयमा अस्मिताले चित्त दुखाएको कुरासमेत बताएकी छिन् । अस्मिताले आफूसँगको कुराकानीमा शालिकरामले आफूलाई अझै पनि झूटो बोली दुःख दिइरहेको कुरा उनको बयानमा उल्लेख छ ।
शालिकरामका आफन्त के भन्छन् ?
सम्माननीय अदालतको फैसलालाई हामीले सकारात्मक रूपमा लिएका छौं । अदालतमा वकिलहरूको बहसपछि आएको फैसलालाई हामीले सकारात्मक रूपमा हेर्नुपर्ने हुन्छ । जो–कोहीले अदालतको फैसललााई निष्पक्ष रूपमा लिनुपर्छ । मुद्दा फैसला नभैसकेकाले आगामी दिनमा वास्तविकता आउला, दोषीलाई कारबाही होला भन्नेमा पनि आशावादी छु ।
हामीले घटना के हो भनेर भन्न सक्ने अवस्था छैन । पछिल्लो समयमा जति प्रमाणहरू आए त्यसलाई हेर्दा हाम्रो सुरुको बुझाइमा परिवर्तन आएको छ । पहिलो हामी परिवारलाई हत्या हो जस्तो लागेको थियो, तर अहिले प्रमाणहरू, उसले बोलेका भ्वाइस तथा पोस्टमार्टम रिपोर्ट, मोबाइल तथ्यांक सबै आफैंले अध्ययन गरे, ती सबै हेर्दा हत्या नभै आत्महत्या नै हो कि भन्नेतिर हामी मोडिएका छौं । अझै ठ्याक्कै यही हो भन्ने ठोकुवा गर्न नसके पनि हत्या होइन कि भन्नेचाहिँ छ ।
विष्णु, दाजु
ठूलाबडाका कुरा हुन् । यसमा पैसाको ठूलो चलखेल हुन्छ । देशभरिका सबै मानिस रविभक्त भएका छन् । ती तीन जनाले कानुनमा व्यवस्था भएअनुसार सजाय पाउनुपर्थ्यो भन्ने लाग्छ, तर कानुन हामीजस्तो सामान्य मानिसहरूका लागि मात्र रहेछ, ठूलाबडालाई कानुन नलाग्ने रहेछ । यो घटनामा ठूलो चलखेल गरेर उनीहरू निस्किएजस्तो लाग्छ । सडक तातेकाले सरकारले देखावटी गरेर उनीहरूलाई धरौटीमा छाडेको होला । सडक तातेको हुनाले सरकारले पनि थेग्ने सकेन ।सबै मिलेर ठूलो केसलाई सानो बनाए । नत्र कानुनमा त आत्महत्या दुरुत्साहन गर्नेलाई ५ वर्ष जेल र ५० हजार जरिवाना हुनुपर्छ भनेर स्पष्टै भनिएको छ । कानुनले भनेअनुसार नै हुनुपर्थ्यो । मृतकले अन्तिममा भनेको कुरा नै कानुनी रूपमा प्रमाणित हुने हो । वकिलहरूले पनि मृतकले भनेको कुरा नै अन्तिम हुन्छ भनेका थिए, तर त्यसो भएन ।
जनक घिमिरे, ससुरा