साप्ताहिक संवाददाता
अ भिनेत्री नम्रता श्रेष्ठ प्रायः रोमान्टिक चलचित्रका लागि प्रख्यात छिन् । हुन त नम्रताले यसअघि अभिनय गरेका अधिकांश चलचित्रमा कि त उनलाई प्रेमिकाका रूपमा चित्रण गरिएको छ कि त गृहिणीका रूपमा । अघिल्लो चलचित्र ‘प्रसाद’ मा नम्रताले निम्न मध्यमवर्गीय गृहिणीको भूमिका सशक्त ढंगले निर्वाह गरेकी थिइन् । उक्त चलचित्रमा निर्वाह गरेको चरित्रको ठीक विपरीत गत शुक्रबार प्रदर्शनमा आएको चलचित्र ‘जाइरा’ मा भने उनी फाइटर भएकी छिन् । हुन त जाइरामा पनि उनी विवाहित महिलाकै भूमिकाका छिन्, तर प्रहरी अधिकृतकी श्रीमतीका साथै मार्शल खेलाडीको भूमिकामा उनले सहरिया युवतीको प्रतिनिधित्व गरेकी छिन् ।
चलचित्र जाइराको कथा नम्रताकै वरिपरि घुमेको छ । चलचित्रको शीर्षक भूमिका (जाइरा) मै प्रस्तुत भएकाले प्रारम्भदेखि अन्त्यसम्म नम्रता नै केन्द्रमा देखिन्छिन् । मार्शल आर्ट्सकी राष्ट्रिय खेलाडी जाइरा प्रहरी निरीक्षक राव राणा (अनुप विक्रम शाही) की धर्मपत्नी पनि हुन् । उनीहरूको मायालु जोडी लोभलाग्दो छ । त्यही बेला सहरमा राजा अर्थात् रविशंकर (प्रमोद अग्रहरी) को जगजगी हुन्छ । हत्या, बलात्कार तथा लुट राजाको धर्म नै हो । राजालाई राजनैतिक दलका नेतादेखि मन्त्रीसम्मको संरक्षण छ ।
एउटा बलात्कारको मुद्दामा राजा इन्काउन्टर गर्ने योजना बनाइरहेका रावको हत्या राजाकै हातबाट हुन्छ, जसको साक्षी जाइरा नै हुन्छिन् । रिंगमा मात्र फाइट खेलेकी जाइराले त्यसपछि राजालाई नै सिध्याउने योजना बनाउँछिन् । राजाकी प्रेमिका बुलेट (सृजना रेग्मी) लाई रिङमा पराजित गरेपछि उनी एक्लैले राजालाई समेत सिध्याउँछिन् ।
अघिल्लो वर्ष प्रदर्शित चलचित्र बुलबुलमा स्वस्तिमा खड्कालाई प्रमुख पात्र बनाइएको थियो, यसपटक जाइराका रूपमा नम्रता श्रेष्ठलाई त्यसैगरी प्रस्तुत गरिएको छ । चलचित्रमा समावेश गरिएका द्वन्द्वका दृश्य आकर्षक छन् । अभिनयमा समेत नम्रताले प्रशस्त मेहनत गरेकी छिन् ।
चलचित्रका लागि आफ्नो तौल घटाउनेदेखि केश नै छोट्याउनसम्म अप्ठ्यारो नमानेकी नम्रताले चलचिक्रलाई सशत्त बनाउन गरेको मेहनतको प्रशंसा गर्नैपर्छ । चलचित्रको प्राविधिक पक्ष कमजोर मानिएको छ । खासगरी छायांकनमा दर्शकहरूले विभिन्न त्रुटि फेला पार्छन् । आशुतोषराज श्रेष्ठले आफ्नो पहिलो निर्देशनको चलचित्रलाई राम्रो बनाउने प्रयास गरेका छन् ।
यद्यपि चलचित्रमा दर्शकले जुन प्रकारको पञ्चको अपेक्षा गरेका थिए, त्यो पाउन सक्दैनन् । फलस्वरूप चलचित्र व्यवसायिक रूपमा औसतभन्दा माथि उठ्न सकेन । निर्माण पक्षले चलचित्रको व्यवसायिक रिपोर्ट सार्वजनिक गर्न नचाहनुले पनि यसले लगानी सुरक्षित गर्न संघर्ष गरिरहेको कुरा स्पष्ट हुन्छ । यो चलचित्र करिब २ करोड रुपैयाँमा निर्माण भएको बताइएको थियो ।