साप्ताहिक संवाददाता
अभिनेता आर्यन सिग्देलले आफ्नो अभिनय करियरमा दर्जनौं चलचित्रमा अभिनय गरिसकेका छन् । रोमान्टिक छवि भएका आर्यनले कतिपय चलचित्रमा नौलो प्रयोग समेत गर्दै आएका छन् । गोपीकृष्ण मुभिजको एउटा चलचित्रमा आर्यनले हजुरबुवाको भूमिका निर्वाह गरेर दर्शकलाई नै अचम्ममा पारेका थिए । यद्यपि, उक्त चलचित्र व्यवसायिक रूपमा सफल भएन ।
अहिले आएर आर्यनले चलचित्र ‘हजार जुनी सम्म’ मा पनि दार्ही तथा केश पूरै फूलेको वृद्ध पुरुषको भूमिका निर्वाह गरे । त्यसो त विकास आचार्यको निर्देशनमा बनेको उक्त चलचित्रलाई आर्यनलाई जवानदेखि वृद्धसम्मकै गेटअपमा प्रस्तुत गरिएको छ ।
चलचित्रको केन्द्रिय भूमिकामा रहेका आर्यनले यो चलचित्रबाट निकै राम्रो आशा गरेका थिए । चलचित्रमा उनको अभिनयले प्रशंसा समेत पाएको छ । प्रेमिदेखि दुई जवान युवकका बुवाको भूमिकालाई आर्यनले न्याय त गरेका छन् तर, यो चलचित्रले उनको सोचभन्दा ठीकविपरीत नतिजा दिएको छ । चलचित्रलाई दर्शकले खासै रुचाएनन् । व्यवसायिक रूपमा चलचित्रको परिणाम देखेर निर्माण पक्षको तनाव त बढेकै छ, अभिनेता सिग्देललाई समेत नराम्रो झट्का लागेको छ ।
उक्त चलचित्र व्यवसायिक रूपमा सफल भएको भए आर्यनको करियरले पुनः गति लिने सम्भावना थियो । यो चलचित्रको परिणामले आर्यनको आगामी चलचित्र ‘च च हुई’ लाई खासै प्रभाव त नपार्ला, तर आशा गरेको चलचित्रबाट असफलताको स्वाद चाख्नु पर्दा सिग्देल पक्कै दुःखी भएको हुनुपर्छ ।