भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीज पर्वले नेपाली नारीहरूको आफ्नो धर्म र संस्कृतिप्रतिको अटुट आस्था, धार्मिक विश्वास एवं व्रतपरायणप्रतिको समर्पण भावलाई परिभाषित गर्दै आएको छ । दर खाने, तीज र ऋषिपञ्चमी गरी तीन दिन मनाइने यो विशिष्ट पर्वले अनेकौं किसिमका सामाजिक, मूल्य–मान्यताका साथै धार्मिक, सांस्कृतिक एवं मनोरञ्जक पक्षहरूलाई समेटेको छ ।
पौराणिक कथाअनुसार देवर्षि नारदको आग्रहमा पार्वतीको विवाह विष्णुसित गरिदिने निर्णय भएपछि पार्वती खिन्न हुन्छिन् । उनको इच्छा आफ्ना पति महादेव हुन् भन्ने थियो । पार्वतीको चिन्ताग्रस्त र मलिन अनुहार देखेर उनका संगिनीहरूले उनीसँग त्यसको कारण सोध्छन् । उनीहरूले पार्वती चिन्ताग्रस्त हुनुको कारण पनि बुझ्छन्। त्यसपछि पार्वतीका संगिनीहरूले उनलाई लुकीछिपी पर्वतराज हिमालको दरबारबाट पार्वतीलाई हिन्द महासागरको कन्याकुमारी भन्ने स्थानमा लगेर लुकाउँन्छन् ।
उक्त स्थानमा पार्वती बालुवाको शिवलिङ्ग स्थापना गरेर निराहार रही देवाधिदेव महादेवलाई पति पाउने उद्देश्यले अत्यन्त कष्टकर तपस्यामा लीन हुन्छिन् । त्यसपछि महादेव आफ्नो रूपमा प्रकट हुन्छन् र तथास्तु भन्छन् अनि उनीहरूबीच विवाह हुन्छ । यही व्रत र तपस्याका कारण पार्वतीले भाद्र शुक्ल तृतीयाका दिन भगवान् शिवको दर्शन पाउँछिन् ।संगिनीहरूले लुकाउन लगिएकी पार्वतीबाट भएको व्रत हुनाले तीजलाई आलिभिः हरितःको अर्थमा हरितालिका भनिएको पाइन्छ ।
विवाहित नारीहरूले आफ्ना पति, परिवार एवं आफ्नो सौभाग्यको रक्षाका साथै आफूले चिताएको सम्पूर्ण इच्छा पूरा हुन् भन्ने मनोकामनासहित यो व्रत लिन्छन् । आ–आफ्नो अन्तर्मनको अत्यन्त पवित्र किसिमको प्रेमभावना साकार पार्न र विवाहित महिलाहरूले दाम्पत्य–जीवनलाई आदर्श र रचनात्मक बनाउने उद्देश्यले भाद्र शुक्ल तृतीयाको दिन हरितालिका (तीज) को व्रत लिने परम्परागत संस्कार हाम्रो समाजमा विकसित हुँदै गएको हो । यसरी हरितालिका (तीज) ले हाम्रो सभ्यता–संस्कृतिमा नारीहरूको विशिष्ट पर्वका रूपमा छुट्टै महत्व राख्दै आएको छ ।
तीजपछि लगत्तैको पञ्चमीलाई ऋषिपञ्चमी भनिन्छ । यो दिन वर्ष दिनभरिमा आफूबाट जानेर वा नजानेर कुनै पनि किसिमको पापकर्म हुन गएको छ भने त्यसबाट मुक्ति पाउने उद्देश्यले शिव मन्दिरहरूमा गएर कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ नाम गरेका सप्त ऋषिको विधिपूर्वक पूजाआजा गर्ने प्रचलन छ । यही पूजालाई ऋषिमञ्चमी भनिन्छ ।
सप्त ऋषिहरूको पूजा–आराधना गर्नुअघि आफ्नो शरीरलाई पवित्र तुल्याउनुपर्ने प्रचलन छ । यस क्रममा पूजा गर्नुअघि वर्षको एक दिनको दरले अपामार्गको दतिवनले ३ सय ६५ पटक नै दाँत सफा गरिन्छ भने ३ सय ६५ पटक नै स्नान गरिन्छ । त्यसपछि सप्त ऋषिको पूजा हुन्छ ।
यसरी नेपाली समाजमा दरखाने, हरितालिका (तीज) र ऋषिपञ्चमी पर्व स्वयंमा नारीहरूको अद्वितीय, महान् र विशिष्ट किसिमको धार्मिक एवं सांस्कृतिक परम्परा बोकेको एउटा अभिन्न सामाजिक संस्कारका रूपमा जीवन्त रहिआएको पाइन्छ ।