हिन्दू नारीहरूको महान् चाड तीज नजिकिँदै गएपछि कार्यक्रमहरूको लर्को लाग्न थालेको छ । तीजको विशेष पहिरन, गरगहना, कार्यक्रमको तालिका आदि मिलाउन महिलाहरू व्यस्त हुन्छन् । आधुनिक सहर हङकङका महिलाहरूलाई पनि तीजको रौनकले छोइसकेको छ । यहाँ कामको चटारोसँगै परिवारलाई समय दिँदै तीजको पार्टीमा भेला हुने क्रम सुरु भैसकेको छ । ‘एक दिनका लागि भए पनि आफ्ना साथीहरूसँग धक फुकाएर नाच्नुको मज्जा नै बेग्लै छ,’ महिलाहरू बताउँछन् । बराहज्वेलरी हङकङकी सेल्स म्यानेजर सोनु सुब्बा भन्छिन् ‘खानपिन त सधैंभरि नै हुन्छ, तर विविध कारणले भेट्न नपाएका साथीहरूसँग भलाकुसारी गर्दै समय व्यतीत गर्दा अर्कै आनन्द आउँछ ।’
हङकङमा दर्जनभन्दा बढी नेपाली (जातीय तथा क्षेत्रीय) संघ–संस्था छन्, तीमध्ये केही संघ–संस्थाले महिलाहरूका लागि तीज कार्यत्रमको आयोजना गरेका छन् । नेपाली महिला संघ हङकङले पनि तीजको अवसर पारेर तीज खुसीयाली–२०१९ सम्पन्न गरेको छ । ऊक्त तीज विशेष कार्यत्रममा उत्कृष्ट जोडी, वेशभूषा तथा नृत्यका लागि आकर्षक पुरस्कारको व्यवस्थासमेत गरिएको थियो ।
नेपाल मेहली सप हङकङले पनि तीज पार्टी–२०१९ को आयोजना गरेको थियो । ब्लु ओशन रेस्टुरेन्टमा आयोजित कार्यक्रममा विभिन्न संघसस्थामा आबद्ध महिलाहरूका साथै पुरुषहरूको समेत व्यापक सहभागिता थियो । हङकङ नेपाली अल्पसंङ्ख्यक संगठनले पनि तीज कार्यक्रम–२०१९ को आयोजना गर्दैछ । निःशुल्क प्रवेशसहित इन्डियन क्लबमा सञ्चालन हुने कार्यक्रमको तयारी पूरा भैसकेको अध्यक्ष गोविन्द विक बताउँछन् । बराह ज्वेलरी हङकङ शाखाले तीजमा चेलिबेटीहरूलाई दर ख्वाउने कार्यक्रमको आयोजना गर्दैछ । ‘सेप्टेम्बर २४ मा आफ्ना ग्राहक दिदी–बहिनीसहित क्रुजमा तीज पार्टीको आयोजना गर्दैछौं,’ –अपरेटिङ प्रमुख सम्झना राई बताउँछिन् ।
विदेशमा भए पनि तीजको माहौलका कारण नेपालमै भएको महसुस हुने पक्कु चाम्लिङ बताउँछिन् । हङकङको व्यस्त सडकमा रातो साडी, चुरा तथा पोतेमा सजिएका महिला देख्दा नेपाल अनि नेपाली संस्कृतिको झझल्को पाइन्छ । तीज महिलाहरूमा केन्द्रित भए पनि यसले समग्रमा सबैलाई खुसी दिने व्यवसायी तुलसी उप्रेती बताउँछन् । ‘विभिन्न जातजाति, धर्म–संस्कृतिमा आस्था राख्ने भए पनि हामी नेपालीहरू सबैको चाडपर्वलाई आपसी सद्भाव र सहिष्णुताका साथ मनाउँछौं, यही नै हाम्रो, अनेकतामा एकता अनि विशेषता हो,’ –उप्रेती भन्छन् ।
परिवर्तित तीज डिस्कोमा
समयक्रमसँगै परम्परागत तीजको पनि आधुनिकीकरण भएको छ । अब तीज माइतीमा होइन, डिस्को र डान्सबारमा समेत मनाउन थालिएको छ । कामको व्यस्ततामा कहाँ व्रत बस्नु, बेलुकीको समयमा पार्टीमा चाहिँ गइन्छ, एक महिला बताउँछिन् । डिस्कोमा कम्मर मर्काउँदै मीठा–मीठा परिकार खाएर श्रीमान् लाई पनि नचाउन सकियो भने पो तीज त ? –उनको तर्क छ । त्यसो त अहिले तीजमा महिलाहरूसँगै पुरुषहरूको पनि व्यापक सहभागिता हुने गरेको छ । ‘श्रीमतीको खुसीमा हाम्रो पनि खुसी मिसिएको छ,’ –मोडल विनोदकुमार बस्नेत बताउँछन् ।
हङकङस्थित नेपाली महावाणिज्य दूतावासले पनि तीजका हरेक कार्यक्रममा पर्यटन प्रर्वद्धनका लागि भिजिट नेपाल–२०२० अंकित लोगो प्रयोग गर्न अपिल गरेको छ । महावाणिज्य दूत कमलप्रसाद भट्टराईले तीजमा नेपाली दिदी–बहिनीहरूसँगै चाइनिज, इन्डियनका साथै अन्य देशका महिलाहरू पनि सहभागी हुने हुँदा यसले सकारात्मक प्रभाव पार्ने बताउँदै उक्त अपिल गरेको बताएका छन् ।
तस्बिर : कृष्ण गुरुङ