विदेशमा तीजको रौनक

- युवराज गौतम

भाद्र १५, २०७६

 

यतिबेला देश तथा विदेशमा हिन्दू नारीहरूको पर्व हरितालिका तीजको रमझम छ । नेपालका मन्दिर, पार्टी प्यालेस तथा रेस्टुराँहरूमा तीजको रौनक देख्न पाइन्छ । देशका कतिपय जिल्लामा तीज मनाउन प्रहरी प्रशासनले कडाइ गरेको छ, तर विदेशमा रहेका नेपालीहरू खुलस्त रूपमा तीजको रमझममा रमाइरहेका छन् । विदेशमा रहेका हिन्दू धर्मावलम्बीहरू दर खाने कार्यक्रम तथा सांगीतिक कार्यत्रमको आयोजना गरेर तीजलाई उल्लासमय बनाइरहेका छन् । 

युरोप, अमेरिका, क्यानाडा, अस्ट्रेलिया, जापान, यूके तथा खाडी देशहरूमा तीजका विशेष कार्यक्रमहरू तय भएका छन् । कतिपय देशमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को चुनावी कार्यक्रम जारी रहेकाले तीजभन्दा पनि चुनावी जोड घटाउले व्यस्त गराएको छ । यद्यपि धेरैजसो देशमा तीजका भव्य कार्यक्रमहरू आयोजित भैरहेका छन् । पारिवारिक जमघटदेखि सार्वजनिक स्थानमा तीजको भाकाले माहोल तताएको छ । 

यो वर्ष जापान तथा अस्ट्रेलियामा तीजका कार्यक्रम बढी हुँदैछन् । १ लाखभन्दा बढी नेपाली भएको अस्ट्रेलियामा हालसम्म ३२ वटा कार्यक्रम तय भैसकेका छन् । जापानमा एक दर्जनभन्दा बढी कार्यक्रम छन् । अमेरिकाका थुप्रै सहरमा कार्यक्रम तय भैसकेका छन् । अस्ट्रेलियामा सुनिता दुलाल, अन्जली अधिकारी, कुलेन्द्र विक, टीका प्रसाई, प्रकाश सपूत, प्रीति आले, बद्री पंगेनी, अन्जु पन्त आदि कलाकारको कार्यक्रम तय भएको छ । 

जापानमा टोकियोस्थित शिवा पार्कमा सेप्टेम्बर १ तारिखमा तीज फेस्टिबल आयोजित गरिएको छ । डेस्टिनी क्रिएसन र एनआरएनए जापानले आयोजना गरेको ऊक्त कार्यत्रममा कलाकारहरू पशुपति शर्मा, मन्जु पौडेल, बद्री पंगेनी, रेमशराज भट्टराई, सम्झना भट्टराई आदिले सहभागिता जनाउँदैछन् ।

जापानमा रहेका पत्रकार गोकर्ण अधिकारीका अनुसार जापानमा यो वर्ष १५ जनाजति कलाकार नेपालबाट पुग्ने कुरा तय भैसकेको छ । टोकियोमा नवलपरासी समाजले पनि ‘तेस्रो नवलपरासी तीज धमाका’ तय गरेको छ । ऊक्त कार्यत्रममा सुनिता दुलाल, सम्झना लामिछानेलगायत स्थानीय कलाकारहरूले प्रस्तुति दिनेछन् । बाग्लुङ गल्कोट समाजले पनि खुमन अधिकारी आदि कलाकारलाई बोलाएर सेप्टेम्बर २ तारिकमा भव्य तीज मेलाको आयोजना गरेको छ । एनआरएनएले ‘दर खाने, ख्वाउने’ बेग्लै कार्यक्रमको तयारी गरेको छ ।

अमेरिकाको वासिङ्टनमा पनि अन्तर्रािष्ट्रय कलाकार मञ्च तथा अनेसास वासिङ्टन डिसी मेट्रो कमिटीले तीज महोत्सव–२०१९ को आयोजना गरेको छ । डिसीनजिकैको बेल्सभिल म्यारिल्यान्डस्थित नेपाली मन्दिरमा तीजको पूजाको तयारी सुरु भएको छ । त्यहाँ अगस्ट २ तारिखमा नेपाली पण्डितहरूबाट विधीपूर्वक पूजासहित तीजको गीतमा दिदी–बहिनीहरूले नाचगान गर्ने कार्यक्रम छ ।

भारतको दिल्लीस्थित अशोक विहार समुदाय भवनमा लोक गायक खुमन अधिकारीसहितका कलाकारले ‘हरितालिका तीज महोत्सव–२०७६’मा विशेष प्रस्तुति दिइसकेका छन् । खुमनले दिल्लीपछि क्यानाडा, जापान तथा युएईका तीज विशेष सांगीतिक प्रस्तुति दिनेछन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् नेदरल्यान्ड्सले पनि तीज कार्यक्रमको आयोजना गरेको छ । 

युकेको चाल्टन नेपाली समाजले भव्य तीज कार्यक्रम सम्पन्न गरिसकेको छ । त्यहाँ नेपालबाट गएकी गायिका भूमिका गिरीले आफ्नो प्रस्तुतिमाफर्mत तीजलाई स्वागत गरिन । एनआरएनएको चुनावी कार्यक्रम रहेकालाई यूकेमा तीज विशेष कार्यत्रम विगतको झैं नरहेको नेपाल पत्रकार महासंघ, बलायतका महासचिब संजयभक्त कँडेल बताउँछन् । कँडेलका अनुसार त्यहाँ रेस्टुराँ तथा बारहरूमा दर खाने तथा पारिवारिक जमघट गर्ने कार्यक्रमहरूचाहिं सुरु भैसकेका छन् ।

थुप्रै नेपालीको बसोबास रहेको मलेसियामा पनि तीज कार्यक्रमको तयारी भैरहेको छ । नेपाली कलाकार संघ, मलेसियाको आयोजनामा मलेसियास्थित केलाङ चौतारी रेस्टुरेन्ट, केलाङमा हालै तीज विशेष कार्यक्रम सम्पन्न भएको थियो । यसैगरी दुबई तथा कतारमा पनि विभिन्न कार्यक्रमहरू तय भएका छन् ।

प्रकाशित :भाद्र १५, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्