साप्ताहिक संवाददाता
उतिबेला कलिलो उमेरमै विवाह हुन्थ्यो । विवाह गरेर श्रीमान्को घर गएकी छोरीलाई धेरै कुरा थाहा हुँदैनथ्यो । सानै उमेरमा बुहारीका रूपमा श्रीमान्को घर गएपछि कामको सबै बोझ उठाउनुपर्थ्यो । त्यसैले धेरैका लागि माइतीसम्मको यात्रा सहज थिएन । वर्षायामको काम सकिएपछिको फुर्सदमा माइतीले चेलीलाई बोलाएर तीजका बेला मीठो–मसिनो ख्वाउने चलन थियो भने चेलीहरू आफूले भोगेका दुःख–वेदना गीतको माध्यमबाट साटासाट गर्थे । यद्यपि, अहिले समय परिवर्तन भैसकेको छ । तीज भन्नेबित्तिकै तीज गीतको लयमा मात्र परिवर्तन आएको छैन, त्यसका आर्थिक, सामाजिक पाटाहरूमा समेत व्यापक बदलाव आएको छ ।
पछिल्ला दिनमा तीजको सांगीतिक बजारमा पनि उस्तै चहल–पहल देखिन्छ । तीज आउनुपूर्व नै तीज लक्षित गीत सार्वजनिक गर्ने क्रमले बजारलाई प्रतिस्पर्धी बनाउँछ । त्यसैले तीजको समयमा गीतकार, गायक, संगीतकार, निर्देशकहरूको व्यस्ततासँगै कमाइ पनि बढ्ने गरेको छ । यद्यपि अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष तीजको सांगीतिक बजार अलि कम देखियो । गत वर्षको तुलनामा यो वर्ष गायक–गायिकाले कम गीत गाए । गायक–गायिकाहरूले गुणस्तरमा ध्यान दिने उद्देश्यले गीत घटाएका हुन् कि बजारमा तीज गीत नै कम सार्वजनिक भएका हुन् ?
गायक पशुपति शर्मा कलाकारले गुणस्तरमा ध्यान दिन थालेकाले यस्तो अवस्था आएको कुरा बताउँछन् । शर्माले पनि यसपालि विगतको तुलनामा निकै कम तीज गीत गाए । पशुपति भन्छन्, ‘जति गीत गाए पनि चल्ने एक–दुईवटा मात्र हो, त्यसैले यसपालि राम्रा गीत मात्र गाएँ ।’ तीजका बेला बग्रेल्ती गीत सार्वजनिक हुनुभन्दा सिमित तर राम्रा गीत सार्वजनिक भयो भने सांगीतिक बजार फस्टाउने शर्माको धारणा छ । योसँगै यतिबेला पुरुषहरूले तीज गीत गाएर यसको मर्म मर्यो अथवा महिलाको मुद्दालाई उठाउन सहज भयो भन्ने बहस पनि चलिरहेको छ । ‘यो समयको माग हो, त्यसैले तीज गीतमा पुरुष स्वर हुँदैमा यसको मर्म मर्यो भन्नु गलत हो,’ शर्मा भन्छन् ।
गीतकार राजेन्द्र थापा गीत रेकर्डिङ र भिडियो निर्माण महँगिएपछि तीज गीतको बजार सेलाएको कुरा बताउँछन् । थापा भन्छन्, ‘लगानी बढेको छ, तर आम्दानी छैन । कम्पनीलाई सित्तैमा दिनुपर्ने भएकाले तीज गीत कम रेकर्ड भएका हुन् ।’ थापा रोयल्टी समाजका केही व्यक्तिका कारण युट्युबबाट रोयल्टी नउठ्ने हुँदा थप समस्या परेको बताउँछन् । ‘यस्तै स्थिति कायम रह्यो भने एक–दुई वर्षपछि भएका स्टुडियोहरू पनि बन्द हुनेछन्,’ थापा थप्छन् । थापाका अनुसार तीज गीतको रचना र लय सबैको उस्तै भएकाले पनि तीज गीत प्रति जनताको चासो घटेको हो । थापा विदेशमा भने अझै पनि तीज गीतको राम्रो माहोल रहेकाले केही गायक–गायिकालाई तीजको अवसरमा विदेशका कार्यक्रम भ्याइनभ्याइ हुने बताउँछन् ।
विगतका वर्षमा तीज आउनुभन्दा एक महिना अघिदेखि नै बजारमा तीजको चहलपहल र चर्चित गीतहरू घन्किन थालिसक्थे । यद्यपि यसपालि तीज लाग्न एक हप्ता बाँकी रहँदासम्म पनि विगतको जस्तो चहल–पहल देखिँदैन । चाहे तीज विशेष कार्यक्रम होस् वा तीजका गीत नै । समाजमा घटेका विभिन्न घटनाक्रमका कारण विगतको जस्तो यसपालाको तीजमा चहलपहल नभएको गायिका राधिकाको तर्क छ । हमाल भन्छिन्, ‘जुनबेलादेखि तीजको गीतको चर्चा हुनुपर्थ्यो, त्यो बेला समाजमा घटेका विभिन्न घटनाले नै आम मानिसलाई भुलायो, त्यसैले तीज गीतको चर्चा कम भएको हो ।’ यसका साथै प्रहरीले विगतको जस्तो तारे होटल तथा रेस्टुराँमा भड्किलो र खर्चिलो तरिकाले तीज नमाउन भनेकाले पनि यसको चहलपहलमा केही कमी आएजस्तो देखिएको हमाल बताउँछिन् । हमालका अनुसार— ‘सामान्य ढंगले गरिने तीज विशेष कार्यक्रममा भने कुनै कमी आएको छैन ।’ विगतका वर्षमा तीज गीतमा करोडौं लगानी हुन्थ्यो यद्यपि यो वर्ष लगानी लाखमा झरेको छ । यसको मुख्य कारण भनेकै रेकर्डिङमा कमी आउनु हो । आखिर तीज गीतको रेकर्डिङ किन घट्यो त ? हमाल भन्छिन्, ‘दुई महिनाका लागि मात्र किन लगानी गर्ने बरु सदाबहार गीतमा लगानी गरौं भन्ने मनस्थितिका कारण तीज गीतको रेकर्डिङ घटेको हो ।’
कोरियोग्राफर प्रकाश भट्ट रहरले गीत निकाल्नेहरूले यसपालि तीज गीतमा लगानी नगरेका कारण तीज गीत घटेको बताउँछन् । भट्ट भन्छन्— यो वर्ष विगतको तुलनामा तीज गीतको भिडियोमा पनि निकै सुधार आएको छ । त्यसैले पनि तीजमा रहरले गीतमा लगानी गर्नेहरूले धेरै लगानी गर्न आँट गरेनन् । भट्टका अनुसार— ‘विगतका वर्षहरूमा सोखले गीतमा लगानी गर्नेहरू थुप्रै थिए, यद्यपि यसपालि व्यवसायिक गायक–गायिकाले मात्र तीज गीतमा लगानी गरेका कारण रेकर्डिङ घटेको हो ।’ भट्ट थप्छन्, ‘पहिले–पहिले तीजमा पनि माया प्रेमका गीत बढी आउँथे, तर यसपालि महिलाको मात्र एकल स्वरका र तीजको गन्ध दिने गीतहरू आइरहेका छन् ।’
संगीतकार विनोद बाजुराली लगानीको प्रतिफल नआउनु, लगानी डुब्नु, रेकर्डिङ स्टुडियोले ठग्नु जस्ता कुराले तीज गीतलाई नकारात्मक प्रभाव पारेको कुरा बताउँछन् । अर्को कुरा गीत संगीत युट्युबमा निर्भर रहनाले पनि यो अवस्था आएको बाजुरालीको धारणा छ । विनोद भन्छन्, ‘पहिले गायक–गायिकाले तीजको गीत क्यासेट बेचेरै भएपनि धेरथोर लगानी उठाउँथे, तर अहिले युट्युबमार्फत सोझै गीत सार्वजनिक हुने भएकाले यसको आयु एक हप्तामात्र हुन्छ, किनभने युट्युबमा एक हप्ताभन्दा बढी कुनै पनि गीत चर्चामा रहँदैनन् । त्यसैले लगानीकर्ताले एक हप्ताका लागि मात्र लगानी गर्न नचाहनाले तीज गीतको संख्या घटेको हो ।’ बाजुराली भन्छन्, ‘समाजमा घट्ने विभिन्न घटना युट्युबको ट्रेन्डिङमा पर्न थालेका ले पनि राम्रा गीत मर्न पुगे ।’ यसका साथै कपिराइज्डले पनि यसमा असर पुर्याएको छ । अहिले तीज गीत धमाधम जुध्न थाले, जसले गर्दा संगीतकारहरूलाई पनि रिक्स छ । किनभने तीज गीतको संगीत बनाउँदा जुध्छ, त्यसैले धेरैजसो संगीतकार रिस्क लिन चाहँदैनन् । यसको प्रत्यक्ष प्रभाव तीज गीतमा परेको बाजुरालीको बुझाइ छ ।
सञ्चारकर्मी चन्द्रमणि गौतम विगतको तुलनामा यो वर्ष तीज गीत घट्नुलाई विभिन्न तवरबाट हेर्छन् । पहिलो कुरा तीज गीतको भिडियो बनाउन ठूलो लगानीको आवश्यकता पर्ने भएकाले तीज गीतको निर्माण घटेको उनी बताउँछन् । गौतम भन्छन्, ‘सालको पातको टपरी गीत आएपछि लोकदोहोरी गीतको भिडियो निर्माणमा स्तरोन्नति भयो, जसले गर्दा यसको लगानी पनि ह्वात्तै बढ्यो भने त्यसले तीज गीतलाई केही हदसम्म असर गर्यो ।’ यस्तै नयाँ कलाकारहरू चाडबाड विशेष गीतको तुलनामा सदावहार गीतमा लगानी गर्न उत्सुक भएका कारण पनि तीज गीतको परिमाण घटेको गौतमको बुझाइ छ ।