गर्मी मौसममा पानीमा खेल्दै रमाउने रहर सबैलाई हुन्छ, तर उपयुक्त स्थान नहुँदा यसरी रम्न खोज्ने कतिपयले आफ्नो रहर मेट्न पाउँदैनन् । पोखरामा ‘बिग स्प्लास वाटर पार्क’ ले यस्तो रहर पूरा गराउँदै आएको छ । उक्त वाटर पार्कमा दैनिक स्थानीयसँगै आन्तरिक तथा बाह्य पर्यटकहरूको भीड लाग्छ ।
पृथ्वी राजमार्गबाट नजिकै पोखरा महानगरपालिका वडा नम्बर–१४ कुँडहरस्थित उक्त पार्कमा प्रवेश गरेपछि थुप्रै किसिमका खेल खेल्न पाइन्छ । पौडी र पानीमा रमाउनेहरू त्यहाँ ३० फिटको उचाइमा रहेको ओपन फ्लोट स्लाइडबाट ३ सय १० फिट लामो स्लाइडिङ गरी पुलमा उत्रन सक्छन् ।
३० फिटको उचाइमा रहेको ओपन फ्लोट स्लाइडबाट ३ सय १० फिट लामो फ्ल्यास पुलमा उत्रन मिल्छ । उक्त वाटर पार्क ३० फिट उचाइमा १ सय २० फिट लामो तथा १५ फिट उचाइमा ६० फिट लामो गरी छुट्टा–छुट्टै स्ट्रेट स्लाइड र वेभ स्लाइडबाट अर्को पुलमा उत्रने मिल्ने गरी निर्माण गरिएको छ । पार्कमा मनोरञ्जनका लागि आकर्षक फाउन्डेसनहरू समेत छन् ।
वाटर पार्कभित्र बालबालिका एवं युवाका लागि छुट्टाछुट्टै छाल तथा पोखरी छन्, जहाँ पानीको फोहरामा नुहाउन मिल्ने रेन्बो समेत छ । पार्कमा पानीमा चिप्लिँदै रमाउन ट्युब स्लाइडर र कपल चिप्लेटी खेल्ने स्लाइडरको व्यवस्था पनि छ । यहाँ पानीमा रमाउन ४ फिटसम्म उचाइ भएकाहरूका लागि ४ सय ३५, ४ फिट उचाइ माथि भएकाहरूलाई ४ सय ९५ रुपैयाँ शुल्क लाग्छ । यति शुल्क तिरेपछि त्यहाँ चाहेजति समय रम्न पाइन्छ ।
बिहान १० बजेदेखि साँझ ६ बजेसम्म खुला रहने यो वाटर पार्कमा विभिन्न परिकारसहितको रेस्टुराँ समेत सञ्चालनमा छ । १२ रोपनी क्षेत्रफलमा फैलिएको पार्कमा बालबालिका तथा युवा–युवतीहरूले पहिले चेन्जिङ रुममा नुहाएर मात्र प्रवेश गर्नुपर्ने नियम छ ।