साप्ताहिक संवाददाता
अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहने चलचित्र ‘पानीफोटो’ को शुभु मुहुर्त गरिएको छ । राजधानीको बंगलामुखी मन्दिरमा चलचित्र युनिटले पुजा गर्दै चलचित्रको छायाँकन प्रारम्भ गरेको हो । आफैंले लेखेको नाटकलाई खगेन्द्रले चलचित्रको स्वरुपमा ढालेका हुन् । चलचित्र मार्फत खगेन्द्रले झण्डै दशक अघि बेपत्ता छोराको पर्खाइमा बसेका बाबु आमाको कथालाई पर्दामा देखाउन खोजेका छन् ।
दशक अघि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ को कथामा निर्माण हुन लागेको यो चलचित्र काठमाडौं र स्याङ्गजामा खिचिने छ । टुकी आर्टस् र मञ्जुश्री फिल्म प्रोडक्सनको ब्यानरमा बन्ने यो चलचित्रमा रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुत्त रुपमा लगानी गरेका छन् ।
चलचित्र सन् २०२० मा रिलिज गर्ने लक्ष्य निर्माण टिमको छ । चलचित्रलाई दीपक बज्राचार्यले खिच्नेछन् भने सम्पादन निमेष श्रेष्ठले गर्नेछन् । चलचित्रमा पुष्पा संगमको संगीत रहने छ ।
खगेन्द्रका साथमा सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत लगायतका कलाकारले अभिनय गर्ने छन् । पशुपति प्रसाद र धनपति चलचित्र निर्माण गरेको टुकी आर्ट्सले यो चलचित्र निर्माणमा मन्जुश्री फिल्म्ससंग सहकार्य गरेको छ ।