साप्ताहिक संवाददाता
अघिल्लो वर्षबाट सुरु भएको सगरमाथा म्यूजिक अवार्डको यो वर्षको संस्करणका लागि उत्कृष्ठ ५ मा पर्ने कलाकारलाई नोमिनेशन पत्र तथा मेडल प्रदान गरिएको छ । गत साता राजधानीमा एक भव्य कार्यक्रमको आयोजना गरि नोमिनेशन प्रमाण पत्र तथा मेडल प्रदान कार्यक्रममा चलचित्र पत्रकारिता पुरस्कार तथा सम्मानको पनि सार्वजनिक गरिएको छ ।
नेपाली चलचित्र क्षेत्रकी प्रथम नायिका भुवन थापा चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा ४२ विधाका २ सय १० नोमिनिजलाई प्रमाणपत्र र मेडल वितरण गरिएको हो । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा हुन लागेको सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करणको अन्तिम प्रतिस्पर्धा भने आगामी असोज ९ गते हुने आयोजक समितिका अध्यक्ष मनोज थापा बताएका छन् ।
ऊक्त अवार्ड कार्यत्रममा लामो समयदेखि चलचित्र पत्रकारितामा कृयाशिल शान्तिप्रियलाई रंग पत्रकारिता रजत सम्मान प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी राज श्रेष्ठ, तुलसी गिरी ‘भावुक’, विजय आवाज, कुवेर डंगोललाई रंग पत्रकारिता सम्मान र मनीष दाहाललाई रंग पत्रकारिता पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।