सम्बन्धमा सुखानुभूतिका लागि 

- रोजिन शाक्य

भाद्र १९, २०७६

 

कामबाट घर फर्किएपछि टेलिभिजनको रिमोट लिएर च्यानल सर्फ गर्ने अथवा मोबाइल वा ल्यापटपको दुनियाँमा हराउने श्रीमान्को बानी श्रीमतीको प्रतिक्षाप्रति बेइमानी मानिन्छ । श्रीमतीको प्रेम इच्छा पूरा नहुँदा त्यसले उदासीको रूप लिनु स्वभाविक हो । यस्तो स्थितिमा कुनै स्त्रीरोग विशेषज्ञकले उनको यौन जीवनका सम्बन्धमा प्रश्न सोध्दा ती श्रीमतीले निराशाका साथ यौन जीवनसित जोडिएका गुनासाहरू व्यक्त गर्न बाध्य हुनुपर्छ । 

यो कुनै एउटी महिलाको समस्या होइन । चाहे गृहिणी हुन् वा कामकाजी, विवाहित महिलाहरूमा यो समस्या अक्सर देखिन्छ । यद्यपि लाज, डर वा सामाजिक परिवेशका कारण व्यक्त गर्ने अवस्था वा परिस्थिति नभएको हुनसक्छ जसको परिणाम डिप्रेसन, अनिद्रा, अनियमित महिनावारी, हार्मोन्सको असन्तुलनजस्ता समस्या देखा पर्छन् । दाम्पत्य परिवेशमा करियर, पारिवारिक परिस्थिति, आर्थिक अवस्था, बालबालिकासम्बन्धी कुरामा दम्पतीबीच कुराकानी, विचार विमर्श र वादविवाद भैरहन्छ तर यौनका सम्बन्धमा विरलै कुराकानी हुन्छ । 

स्वस्थ र सुखद दाम्पत्य जीवनमा सुखद यौनको उत्तिकै महत्व हुन्छ । स्वस्थ यौन जीवनका लागि पुरुषले नै पहल गर्नुपर्छ भन्ने छैन । महिलाले पनि आफ्नो यौनसम्बन्धी इच्छाको अभिव्यक्तिलाई प्राथमिकता दिनु पर्छ । अधिकांश पुरुषले यौनका लागि महिलाबाट भएको पहललाई हार्दिकताका साथ स्वीकार गर्छन् । यौन जीवनको रोमाञ्चताका लागि, यसको सुखद अनुभूतिका लागि स्त्री–पुरुष दुवैले एकअर्काको आवश्यकता, रुचि एवं कल्पनालाई बुझ्नुका साथै त्यसमा उत्साहपूर्वक सहभागी हुनुपर्छ । 

आफ्नी श्रीमतीसँगको सम्बन्धमा सन्तुष्ट पुरुषले श्रीमतीको प्रशंसाका लागि उपयुक्त समय र अवसरको प्रतिक्षा गरिरहनु पर्दैन । यस्तो प्रशंसाले श्रीमतीलाई सुखानुभूति गराउँछ र आपसी सम्बन्ध थप प्रगाढ हुन्छ । श्रीमान्–श्रीमतीको आपसी सम्बन्धमा ताजापन कायम राख्न उनीहरूबीच हुने यौन सम्बन्धका लागि समय, अवस्था र स्थानका विषयमा कुनै योजना बनाउनुलाई मनोवैज्ञानिक रूपमा अनावश्यक मानिन्छ । सुखमय यौन जीवनका लागि एक–अर्कासित खुल्नु आवश्यक हुन्छ । त्यसका साथ कल्पनाको प्रयोग पनि आवश्यक छ । 

यौनलाई पूर्वनिर्धारित नबनाई समझदारीपूर्वक दुवै पक्षको सक्रिय सहभागितामा जुनसुकै बेला एक–अर्काको सामिप्यतामा पुग्नुले यसको रोमाञ्चतालाई नयाँ उचाइ प्रदान गर्छ । मनोचिकित्सकहरूका अनुसार दम्पतीले यौनलाई एउटा थेरापीका रूपमा लिनुपर्छ । दुवै पक्षले आफ्ना सबै इन्द्रीयलाई खुला राख्नुपर्छ । एक–अर्काको स्वर, सुगन्ध, स्पर्श, स्वाद एवं स्वरूपमा ध्यान दिनु आवश्यक हुन्छ । यसले यौनमा सुखानुभूति प्राप्त गर्न प्रमुख भूमिका निर्वाह गर्छ । 

यौनमा संवादको महत्वपूर्ण भूमिका हुन्छ । सुखद यौन अनूभुतिको अभिव्यक्तिले प्रक्रियामा रोमाञ्चता ल्याउने भएकाले एक–अर्काको झावना र यौन क्रियामा सत्रिय सहभागितालाई राम्रोसँग बुझ्नुपर्छ । एक–अर्काको चाहनासम्बन्धी बुझाइले यसलाई अझ प्रभावकारी एवं सुखद् बनाउँछ । 

प्रकाशित :भाद्र १९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्