साप्ताहिक संवाददाता
नेपाली चलचित्र क्षेत्रका पूर्व अभिनेता तथा वर्तमान निर्माता÷वितरक गोविन्द शाही हिरासतमुक्त भएका छन् । झण्डै दुई साता लामो प्रहरी हिरासतबाट बुधवार साँझ बाहिर आएका हुन् । निर्मात शाहीले बुधवार राती फेसबुकमा स्टाटस लेख्दै सर्वोच्च अदालतले बुधवारकै मितिमा जारी गरेको रीटबाट हिरासत मुक्त भएको बताएका छन् ।
शाहीले आफ्नो स्टाटसमा लेखेका छन्—‘योजनावद्ध र नियतवस मेरो विरुद्ध जाहेरी दिइ मलाई लगातार १४ दिनसम्मको प्रहरी हिरासतमा राखिएको विषयलाई सम्मानित सर्वोच्च अदालतबाट आजैको मितिमा जारी भएको रीटबाट म हिरासत मुक्त भएको छु र मेरो विरुद्धका सबै मुद्दा खारेजी भएको छ ।’
त्यसअघि दुई वर्षअघि प्रदर्शन भएको चलचित्र ‘लिलिबिली’ बाट प्राप्त भएको शेयर रकम (करिव ८८ लाख रुपैयाँ) लुकाएको आरोपमा निर्माताद्वय मिलन चाम्स तथा सुदीप खड्काले एक वर्षअघि नै महानगरीय अपराध महाशाखा टेकुमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले निर्माता शाहीलाई दुई साताअघि पक्राउ गरेको थियो । वितरक शाही चलचित्र लिलिबिलीका निर्माताहरु मध्येका एक पनि हुन् । यो चलचित्रको वितरण पनि उनैले गरेका थिए । त्यसैबीच काठमाडौं जिल्ला अदालयतले पछिल्लो दुई सातामा तीन पटक दुई–दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकोमा पछिल्लो पटक थप एक हप्ताको समय थपिदिएको थियो । अघिल्लो बिहिबार भएको वसहको आधारमा वितरक शाहीलाई अनुसन्धानका लागि थप एक हप्ताको म्याद थपिएको निर्माता सुदिप खड्काले जानकारी दिएका थिए ।
अनुसन्धान नसकिएको भन्दै प्रहरीले गत बिहिबार म्याद थपका लागि शाहीलाई अदालत लगको थियो । अपराधिक विश्वासघात तथा अपराधिक लाभको मुद्धामा उनलाई दुई सातआघि महानगरीय अपराध महाशाखा टेकुले कमलपोखरीबाट पक्राउ गरेको थियो । उनलाई अनुसन्धानका लागि टेकुमा राखिएको थियो ।