साप्ताहिक संवाददाता
यो साता प्रेमकथामा आधारित द्वन्द्वप्रधान चलचित्र ‘सोच’ प्रदर्शनमा आएको छ । पूजन सिंह (प्रभाकर प्रकाश) को डेब्यु निर्देशनको चलचित्रमा पूजन आफैं प्रमुख भूमिकामा छन् । चलचित्रमा उनीसहित प्रज्वल गिरी, नीता ढुंगाना, उत्तम केसी, विशाल पहाडी, सोनिका, किरण थापा, रितेश श्रेष्ठ आदि कलाकारले अभिनय गरेका छन् । पूजनकै कथामा तयार पारिएको यो चलचित्रमा गंगा रजक तथा एस डीको लगानी छ ।
पूजन सिंह (प्रभाकर प्रकाश), अभिनेता/निर्देशक
हाम्रो समाजमा महिलाले महिलाकै घर बिगार्ने चलन छ । यो चलचित्रले महिलाले महिलाकै घर नबिगारौं भन्ने सन्देश दिन्छ । कसैले कसैको घर बिगार्दा त्यसले समाजमा नकारात्मक असर पुर्याउने भएकाले घर सपार्ने काम गरौं भन्ने कुरा हाम्रो चलचित्रले बोल्छ । यो मेरो पहिलो चलचित्र हो । यसमा मैले अनुभवी कलाकारहरूसँग काम गरेको छु । सबैले राम्रो काम गरेका छन्, आफूलाई दिएको भूमिकालाई सही ढंगले निर्वाह गरेका छन् । यो चेतनामूलक चलचित्र भएकाले पनि सबैको काम प्रशंसनीय छ । हामीले यो चलचित्रको छायांकन काठमाडौं, भक्तपुर तथा ललितपुरका विभिन्न स्थानमा गरेका छौं ।