साप्ताहिक संवाददाता
नेपाली सांगीतिक क्षेत्रमा पृथक स्वाद पस्किने सांगीतिक समूह बेला–बेलामा स्थापना भैरहन्छन् । तिनै सांगीतिक समूह मध्येको एक हो—सत्याकृत ब्यान्ड । सत्याकृत फाउन्डेसनअन्तर्गत स्थापना भएको यो समूह आध्यात्मिक शैलीका गीत–संगीत तथा भजन सिर्जना गरेर संगीत पारखीहरूमाझ स्थापित भैरहेको छ ।
यो समूहले प्रायः चाडपर्वको अवसर पारेर आफ्ना नयाँ सिर्जनाहरू सार्वजनिक गर्छ । समूहले प्रायः नेपाली मौलिक शब्दहरू प्रयोग गरेर संगीत तथा गीत सिर्जना गरिरहेको छ । त्यसमा पनि वैदिक संस्कृति तथा परम्परामा आधारित गीतहरू तयार पारेर यसले संगीत पारखीहरूको मन जितेको छ ।
उदाहरणका लागि सत्यकृत अघिल्लो वर्षको शिवरात्रीको पूर्वसन्ध्या पारेर सार्वजनिक भएको ‘आउ फर्केर...’ गीतको म्युजिक भिडियोमार्फत दर्शक श्रोताहरूलाई संगीतको नौलो स्वाद चखाउन सफल रह्यो । उक्त गीतमार्फत सत्याकृत ब्यान्डले नेपालीहरूलाई आत्म स्वरुप तथा शान्ति स्वरूपमा फर्काउने प्रयास गरेको थियो । यो सांगीतिक समूहले भक्ति संगीतको क्षेत्रमा निरन्तर काम गर्दै आएको छ । भक्ति संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन समूहका संगीतकर्मीहरू कटिवद्ध छन् ।
यो समूहको पहुँच नेपालमा मात्र सीमित छैन । केही समय अघि यो समूहले भारतको स्थापित संगीत कम्पनी टी–सिरिजमार्फत ‘जय देवी जय’ शीर्षकको गीत सार्वजनिक गरेको थियो । उक्त गीतमा ब्यान्डकै संस्थापक सदस्य विजय गौतमको शब्द तथा प्रजित लामाको स्वर तथा संगीत समावेश छ । उक्त गीतको भिडियोलाई गौतमले निर्देशन गरेका थिए ।
‘आयातित संस्कार तथा परम्परामा भुलिरहेको अहिलेको नेपाली समाजका लागि आफ्नै सनातन भावले सु–सज्जित गीत प्रस्तुत गर्ने जमर्को गरिरहेका छौं, सत्याकृत प्रतिष्ठानका निर्देशक विजय गौतम ‘शाकल्यदेव’ भन्छन्—‘हामीले सिर्जना गरेका गीतले हाम्रो मौलिक वैदिक संस्कृति तथा परम्परामा फर्कन ऊर्जा दिनेछ भन्ने आशा गरेका छौं ।’ संगीतमार्फत पनि समाजलाई सत्यपथमा डोहोर्याउन सकिन्छ भन्ने उद्देश्यका साथ सत्याकृत ब्यान्डले गीत–संगीत उत्पादन गरिरहेको छ ।
अघिल्लो वर्षको शिवरात्रीमा पोखरामा प्रस्तुति दिएपछि चर्चामा आएको यो ब्यान्डले वैदिक भजनकृतन सहितको सांगीतिक कार्यक्रमहरू प्रस्तुत गरिरहेको छ । अध्यक्ष गौतमका अनुसार ब्यान्डको स्थापना कालदेखि नै उनीहरूले मौलिक परम्परा, संस्कृति तथा वैदिक मूल्य मान्यताहरूको संरक्षण गर्दै समाजमा शान्ति एवं सद्भाव कायम राख्ने उद्देश्य लिएका छन् । ब्यान्डले समाजका विकृत पक्षहरूलाई हटाउँदै वैदिक संस्कृतिमार्फत सिर्जित संगीत रचना प्रस्तुत गर्ने अभियान नै चलाएको छ ।
ब्यान्डले सकारात्मक भावसहितका शब्द संयोजन गरी पूर्वेली तथा पश्चिमेली शैलीका लय, सुर तथा वाद्यवादन मिश्रण गरेर गीत–संगीत सिर्जना गरिरहेको छ । यो ब्यान्डले नेपालका विभिन्न सहरहरूका साथै भारत, दुबई, अस्ट्रेलिया जस्ता देशहरूमा पुगेर प्रस्तुति दिइसकेको छ । सत्याकृत ब्यान्डले शास्त्रीय, रक, पप तथा लोकशैलीलाई संयोजन गरी नयाँ संगीत प्रस्तुत गरिरहेको छ । ब्यान्डमा अहिले मादल, सितार, तबला, गितार, हार्मोनियम, पियानो, ड्रमसमेत, सारंगी आदि वाद्ययन्त्र छन् ।
ब्यान्डले सम्पूर्ण मानव जीवनको यथार्थ सत्यलाई अवगत गराउने, प्रेरणा दिने शैलीका, सकारात्मक भाव अभिवृद्धि गर्ने शैलीका गीतहरू सिर्जना गर्ने तथा प्रस्तुत गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ ।
ब्यान्डले केही अघि मात्र गायक उदितनारायण झाको स्वरमा ‘होसमा बेहोसी’ गीत तयार पारेको छ, जसमा विजय गौतमको शब्द तथा संगीत सुन्न सकिन्छ । सत्याकृत ब्यान्डले भारतीय गायक कैलाश खेरसँग पनि सहकार्य गरिसकेको छ । ब्यान्डका संगीतकर्मी सुर साधुको शब्द तथा संगीतमा गायक खेरले ‘भक्तिका चन्दन...’ गाएका छन् । उक्त गीत मुम्बईमै रेकर्ड गरिएको हो । यो ब्यान्डमा विजय गौतम, लक्ष्मण वयलकोटी, सुरज रिजाल, प्रजित लामा, सुर साधु, विदुर न्यौपाने आदि संगीतकर्मी आबद्ध छन् ।