साप्ताहिक संवाददाता
भाद्र २०, २०७६
खानपिनका पारखीहरूका लागि मनसुन फुड फेस्टिबल उपयुक्त हुन सक्छ । गायक सुगम पोखरेलको सुमधुर गायनसँगै विभिन्न परिकारको आनन्द उठाउन चाहनेहरूका लागि भोलि शनिबार रिट्ज मनसुन फेस्टिबलको आयोजना हुँदैछ ।
ललितपुर बालकुमारीस्थित रिट्ज कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टको आयोजनामा कलेजमै हुने उक्त फुड फेस्टिबलमा विभिन्न फुड स्टल, गेम्स, लाइभ म्युजिक आदि पनि प्रस्तुत हुनेछन् ।
यो अवसरमा गायक पोखरेल, डिजे अशोक तथा वीसँगै दुनामिस ब्यान्डले समेत लाइभ प्रस्तुति दिनेछन् । बिहान १० बजेदेखि साँझ साढे ५ बजेसम्म चल्ने मनसुन फुड फेस्टिबलको प्रवेश शुल्क १ सय रुपैयाँ राखिएको छ ।