साप्ताहिक संवाददाता
ठूलो बजेटका हिन्दी फिल्म चर्को मूल्यमा किनेर नेपालमा प्रदर्शन गरिरहेका चलचित्र वितरकबाट हैरान भएपछि निर्माता तथा अभिनेता दीपकराज गिरीले फेसबुकमार्फत चलचित्र विकास बोर्डलाई एउटा कडा सुझाव दिएका छन् । नेपाली वितरककै कारण दसैंको फूलपातीको दुई दिनअघि बलिउडको ठूलो बजेटको फिल्म ‘वार’ नेपालमा प्रदर्शन हुने भएपछि ‘छ माया छपक्कै’ को प्रदर्शन दसैंपछि सार्न बाध्य भएका गिरीले शनिबार एउटा घतलाग्दो स्टाटस लेखेका हुन् । ‘
चलचित्र विकास बोर्ड विगठन गरे हुन्छ कि ?’ भन्ने शीर्षकमा गिरीले लेखेका छन्— ‘सरकारको विद्यमान नीतिअनुसार हामीले २ करोड खर्च गरेर नेपाली भाषाको चलचित्र बनाउनुको कुनै अर्थ छैन । नेपाली चलिचत्र खास चल्दा पनि चल्दैनन् अनि राम्रा पनि हुँदैनन् । त्यही दुई करोडमा त शाहरूख खान, सलमानको चलचित्रलगायत एकसे एक विदेशी चलचित्र आउँछन् । ती चलचित्र किनेर ल्याउने, चलाउने । नेपाली चलचित्रभन्दा सुरक्षित पनि छ हिन्दी चलचित्र ।
राज्यले रातारात सेन्सर गरिदिइहाल्छ, सुविधा दिन्छ, हलहरूले पनि विशेष स्थान दिन्छन्, किन टाउको दुखाउने बेकारमा ? सबै मिलेर नेपाली चलचित्र नबनाऔं, विदेशी फिल्म किनेर चलाउँ । भाषा, संस्कृति भाँडमा जाओस्, व्यापार मुख्य कुरा हो नि । त्यसपछि विकास बोर्ड पनि चाहिन्न, राज्यको खर्च पनि कम हुन्छ । करै उठाउने काम त कर कार्यालयले गरिहाल्छ नि, होइन र ? व्यक्तिगत सुझाव हो है यो ।’