साप्ताहिक संवाददाता
प्रदेश नम्बर १ मै पहिलो पटक भेडेटार नजिकै काम्फेकमा जिप फ्लाइङ चलाउने तयारी सुरु भएको छ । जिप फ्लाइङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन सकिएको छ भने डिपिआरका लागि माटो परीक्षण भैरहेको छ । खर्क डाँडाबाट टेक अफ भएको जिप फ्लाइङको ल्यान्डिङ भने कार्कीछापमा हुने बताइएको छ ।
सम्भाव्यता अध्ययनमा जिप फ्लाइङ सञ्चालन सम्भव हुन्छ भन्ने रिपोर्ट आएकाले थप तयारी सुरु गरिएको सञ्चालक आशिष राईले बताए । डिपिआर तयार भए आगामी दसैंभित्रै व्यवसायिक रूपमा सञ्चालन गर्ने गरी अनुमति लिने प्रक्रिया प्रारम्भ गरिने राई बताउँछन् ।
जिप फ्लाइङको टेकअफ खर्क डाँडा काम्फेकदेखि ३ मिटर उत्तरतर्फ पर्छ । हालसम्मको अध्ययनबाट एरियल डिस्टेन्स १ दशमलव ५ किलोमिटर रहेको पाइएको छ भने डोरी लत्रँदा १८ सय मिटर पुग्नेछ । दुई डाँडाबीचको उचाइको फरक २ सय ५५ मिटर छ ।
जिप फ्लाइङ नेपालमा पोखरा र धुलिखेलमा मात्र सञ्चालनमा छ । यसअघि असोजको दोस्रो साता धरानमा फ्लाइङ फक्सको समेत परीक्षण गरिएको थियो । फ्लाइङ फक्स सुतेर चरा जस्तै उडेर मज्जा लिन सकिने साहसिक खेल हो भने जिप फ्लाइङ बसेर झर्ने खेल हो ।
नरेन्द्र बस्नेत