साप्ताहिक संवाददाता
सामूहिक आत्महत्याको पनि लामै इतिहास छ । रोमन सभ्यतादेखि राजा महाराजाको समयसम्म प्रशस्तै सामूहिक आत्महत्या भएको पाइन्छ । कतिपय अवस्थामा युद्धमा पराजित भएपछि कठोर यातना पाइन्छ भनेर सामूहिक रूपमा आत्महत्या गरेको देखिन्छ । केही घटनामा विजेताले पराजित पक्षलाई उक्साएर सामूहिक आत्महत्या गर्न लगाएको पाइन्छ । राजामहाराजाको समयमा देश एकीकरण गर्ने क्रममा यस्ता किसिमका हत्या देखिएपछि विश्वयुद्धको समयमा भने सामूहिक हत्याका घटनाको प्रकृति फरक भयो । दोस्रो विश्वयुद्धमा जर्मन तानाशाह हिटलरले यहुदीहरूलाई विषालु ग्याँस भएको च्याम्बरमा थुनेर सामूहिक हत्या गरे । विश्वयुद्धको समाप्ति पछि सामूहिक आत्महत्याको शैलीमा फरकपन आएको पाइन्छ, जसमा अन्धविश्वासले जरो गाडेको देखिन्छ ।
पिपुल टेम्पल
जेम्स वारेन जोन अमेरिकाको नागरिक अधिकारका क्षेक्रमा सत्रिय धार्मिक नेता थिए । उनी मानिसहरूलाई अन्धविश्वासको जालोमा पार्न सक्थे । सन् १९५० मा अमेरिकाको इन्डियानामा पिपुल्स टेम्पल स्थापना गरेका जेम्सले आफ्नो शाखालाई क्यालिफोर्निया, सानफ्याँसिस्को हुदैं गूएनासम्म पुर्याए । गुएना पुगेका ९ सय १८ जनालाई आफ्नो प्रवचनबाट मोहित पारेर हामीलाई रसियाले कुनै पनि बेला आक्रमण गरेर मार्न सक्छ भन्दै उनले कायरका रूपमा मर्नुभन्दा सामूहिक रूपमा मरेर बहादुरी देखाउन उस्काउँदै विष सेवन गर्न बाध्य तुल्याएका थिए । यो आत्महत्यामा २ सय ७६ जना बालबालिका पनि सम्लग्न थिए । यो घटना सन् १९७८ नोभेम्बर १८ तारिखको दिन भएको थियो ।
सोलार टेम्पल
फ्रान्स, स्वीजरल्यान्ड र क्यानाडामा शाखा रहेको सोलार टेम्पलहरूमध्ये फ्रान्सस्थित सोलार टेम्पलले आफ्ना अनुयायीहरूलाई पृथ्वीमा बस्न योग्य भएन । त्यसैले अब अन्तरिक्षको एउटा चम्किलो तारा साइरसमा जानुपर्छ भनेर सन् १९९४ देखि १९९७ सम्म ७४ जनालाई सामूहिक आत्महत्या गर्न प्रेरित गरेको थियो ।
हेभेन गेट
स्वर्गको द्वारका रुपमा स्थापना भएको हेभेन गेटले पनि अन्तरिक्षको अर्कै ग्रहमा गएर बसोबास गर्ने भ्रममा पारेर आफ्ना अनुयायीहरूलाई सामूहिक आत्महत्या गर्न बाध्य तुल्याएको थियो । सन् १९९७ को मार्च २४ देखि २७ सम्म क्यालिफोर्नियामा ३९ जनाले अर्कै ग्रहको यात्रा गर्ने भ्रममा सामूहिक आत्महत्या गरेका थिए ।
एडम हाउस
बंगलादेशमा सन् २००७ मा भएको एकै परिवारको सामूहिक आत्महत्या पनि धार्मिक कारणबाटै प्रेरित भएको देखिन्छ । ढाकाबाट १ सय २० किलोमिटर उत्तरमा रहेको मेमेनसिंहमा भएको उक्त सामूहिक आत्महत्यामा एउटै परिवारका व्यक्तिले रेलको लिगमा आत्महत्या गरेका थिए । उनीहरूबाट बरामद भएको डायरीमा उनीहरूले क्रिस्चियन धर्मका देवता एडम र इभलाई भेट्न जानका लागि आत्महत्या गरेको कुरा उल्लेख गरेका थिए । कतिपयले उनीहरूले क्रिस्चियन धर्म अंगालेका कारण सामाजिक बहिष्कार सहन नसकेर आत्महत्या गरेको समेत बताएका थिए ।