साप्ताहिक संवाददाता
अभिनेत्री सुरक्षा पन्त चलचित्रको भूमिका र चरित्रअनुसार अभिनय गर्न सिपालु छिन् । केही महिनाअघि प्रदर्शनमा आएको चलचित्र घरमा गर्भवती महिलाको भूमिका निर्वाह गरेर चर्चामा आएकी यी अभिनेत्री यतिबेला छायांकनको क्रममा रहेको चलचित्र ‘आमा’का लागि केश मुण्डन गरेर चर्चामा आएकी छिन् ।
निर्देशक दीपेन्द्र के खनालद्वारा निर्देशित उक्त चलचित्रको चरित्रका लागि सुरक्षाले केश मुण्डन गरेकी हुन् । चलचित्रमा उनले मिथिला शर्माकी छोरीको भूमिका निर्वाह गरेकी छिन् । एउटी आमा र छोरीको भावनात्मक सम्बन्धमा आधारित भनिएको उक्त चलचित्रमा सुरक्षाको केश मुण्डनसँगै चलचित्रको विषयवस्तुका बारेमा विभिन्न अनुमान गर्न थालिएको छ ।
सुरक्षाले कथाको मागअनुसार आफ्नो लामो तथा सिल्की केश मुण्डन गरेको बताएकी छिन् । चलचित्रमा केश काट्नुपर्ने दृश्य भएकै कारण आफूले यो कडा कदम चालेको सुरक्षाको भनाइ छ । चलचित्रको करिब ३५ प्रतिशत छायांकन दर्के झरीमै गर्नुपर्ने भएकाले यसको नियमित छायांकन भने हुन नसकिरहेको बताइन्छ ।