सिर्जनालाई संसारको कुनै भूगोलले छेक्न सक्दैन । अर्को कुरा विदेश बसेर पनि मैले अरू काम गरेर संगीतमा केही काम नगरेको भए आज मेरो अस्तित्व हिजोका गीतमा मात्रै सीमित हुन्थ्यो । आजका पुस्ताले मलाई चिन्दैनथे । मलाई फलो नगर्नु भएका श्रोता–दर्शकलाई चाहिँ राजु लामाको गीत आएको छैन, हरायो भन्ने लाग्दो हो, तर मैले मेरा श्रोता–दर्शकलाई अन्याय गरेको छैन । अन्याय गरेको भए यति धेरै माया पनि पाउँने थिइनँ । र, आफैंलाई पनि गरेको छैन ।
गायक राजु लामा आफूलाई मंगोलियन हार्टसँग जोडेर चिनाउँछन् । मंगोलियन हार्टले पनि स्थापनाको २६ औँ वसन्तमा प्रवेश गरिसकेको छ । ६० को दशकको पुस्तालाई उनका धेरै गीत कण्ठ छन् । मंगोलियन हार्टका नाममा धेरै गीत संगीत प्रेमीको मुटुको ढुकढुकी बन्न सफल राजु लामा सांगीतिक यात्राकै क्रममा एउटा बेग्लै कथा बोकेर अमेरिका पुगे । अमेरिका बसाइमा पनि निरन्तर गीत/संगीतमा देखिएका लामा यतिबेला ‘द भ्वाइस अफ नेपाल’को कोंच बनेर पछिल्लो पुस्तासँग जोडिन आइपुगेका छन् । उनै गायक लामासँग साप्ताहिकका लागि महेश तिमल्सिना र राधिका अधिकारीले गरेको कुराकानी :
तपाईं लामो समय अमेरिकामै रहनुभयो । नेपाली साङ्गीतिक क्षेत्र र स्वयं तपाईंलाई पनि धोका भयो जस्तो लाग्दैन ?
मलाई त्यस्तो लाग्दैन । नलाग्नुको कारण पनि छ । मेरो बसाइ अमेरिका भए पनि म प्रत्येक वर्ष नेपालमा आएर सांगीतिक कार्यक्रम गरिरहेको छु । मैले अमेरिका गएर मेरो बाटो परिवर्तन गरेको छैन । यहाँ भए पनि मैले मेरा श्रोता–दर्शकलाई दिन सक्ने सिर्जना नै हो । त्यो मैले अमेरिका बसेरै दिएको छु । र, मलाई आजसम्म त अमेरिका गएर अन्याय भयो भनेर कसैले भनेको पनि छैन ।
भन्नेहरूले त राजु लामा पनि पलायन भयो भने नि त ?
सिर्जनालाई संसारको कुनै भूगोलले छेक्न सक्दैन । अर्को कुरा विदेश बसेर पनि मैले अरू काम गरेर संगीतमा केही काम नगरेको भए आज मेरो अस्तित्व हिजोका गीतमा मात्रै सीमित हुन्थ्यो । आजका पुस्ताले मलाई चिन्दैनथे । आज यसरी हाम्रो भेट पनि हुने थिएन । म ‘लो प्रोफाइल’मा बस्ने भएकाले पनि कतिपय मलाई फलो नगर्नु भएका श्रोता–दर्शकलाई चाहिँ राजु लामाको गीत आएको छैन, हरायो भन्ने लाग्दो हो, तर अमेरिका जानुअगाडि जुन रफ्तारमा गीत निस्किन्थे त्यो पछि पनि निस्किएकै छन् । पछिल्लो एल्बम गरेको १ वर्ष भयो, तर पहिलाको जस्तो एल्वम बिक्ने, किनेर सुन्ने चलन छैन । अनलाइनको पहुँचमा हुने थोरैलाई मात्रै थाहा हुन्छ । फेरि मैले गरेको काम हेर्न मैसँग सामाजिक सञ्जालमा जोडिएको हुनुपर्छ । त्यसैले काम नगरे जस्तो लाग्न सक्छ, तर मैले मेरा श्रोता–दर्शकलाई अन्याय गरेको छैन । अन्याय गरेको भए यति धेरै माया पनि पाउँने थिइनँ । र, आफैंलाई पनि गरेको छैन ।
यहाँ सेलिब्रेटी भएर हिँडेको मान्छे । अर्काको देशमा गएर संघर्ष गर्दै गर्दा अब यहाँ नबसौं, नेपाल नै फर्कौं भन्ने लागेन ?
भगवान्को कृपाले मैले अमेरिका गएर पनि संगीत क्षेत्रमै रहेर बाँच्न पाएँ । अन्य खालको संघर्ष मैले गर्नु परेन । सायद संगीत छोडेर अन्य केही पेसा अँगाल्नुपरेको भए मलाई गाह्रो हुन्थ्यो होला । मैले नजानेको काममा हात हाल्नुपरेको भए तपार्इंले भनेको जस्तो फिल बारम्बार आउँथ्यो होला । (यसको मतलब देशलाई इग्नोर गरेको भन्ने होइन । सबैभन्दा धेरै देश सम्झनेहरू नै देश छोडेर हिँड्नेहरू हुन् । देश छोड्नुका पछाडि सबैका आफ्नै खाले कथा हुन्छन् । मसँग पनि छ । बारम्बार त्यो कथा कोट्याइरहन मन छैन् ।) तर उता गएर पनि मैले जे जानेको थिएँ, त्यही गर्न पाएँ । त्यसैले ममा त्यस्तो पछुतो छैन । जिन्दगी जस्तो हुन्छ खुसी भएर बाँच्नुपर्छ । म फेरि अमेरिका जान्छु, उतै बस्छु भन्ने प्लान बनाएर गएको मान्छे पनि होइन । मलाई परिस्थितिले अमेरिका पुर्याएको हो । अनि उतै भुलायौ भनौं न । जिन्दगीमा जे आइपर्छ त्यो भोग्नुको विकल्प हुँदैन् । सबैभन्दा ठूलो कुरा एउटा स्रष्टाले जहाँ बसे पनि आफ्नो सिर्जनालाई निरन्तरता दिनुपर्छ । त्यो मैले गरिरहेको छु ।
आगामी दिनमा तपाईं नेपाल बसेर साङ्गीतिक कर्मलाई निरन्तरता दिनुहुन्छ भन्नेमा तपाईका श्रोता शुभचिन्तक विश्वस्त होलान् ?
म कहाँ बस्छु त्यो मेरा लागि ठूलो कुरा होइन । सिर्जना गर्न नेपालमै बस्नुपर्छ भन्ने पनि छैन । मेरो लागि महत्वपूर्ण कुरा सिर्जना हो । सिर्जनाप्रति म सचेत छु । सिर्जना निकाल्छु । सिर्जनाको प्रमोसनमा ध्यान दिन्छु । कन्सर्टमा हिँड्छु । त्यो काम म जुन बेलाबाट संगीत यात्रामा होमिएँ त्यही बेलाबाट गर्दै आएको हुँ । म जहाँ बसौँला तर गीत/संगीतमै हुनेछु । मैले गीत/संगीतलाई छोडेर अर्को बाटो रोज्न सक्दिनँ ।
नेपालमा एक खालको क्रेज हुँदा हुँदै बाहिर जानुभयो । नेपालबाहिर चाहिँ राजु लामाको क्रेज कस्तो थियो ?
त्यो क्रेज नपाएको भए म आज यहाँ हुन्नथें । म बस्ने मात्र त्यता हो । त्यहींबाट विश्वका कैयौं देशमा सांगीतिक भ्रमण गरिरहेको हुन्छु । म एकदमै ‘लो प्रोफाईल’मा बस्न रुचाउँछु । धेरै समाचारमा देखिन मन लाग्दैन, तर म जहाँ जान्छु त्यहाँ उस्तै क्रेज पाउँछु । सबै ठाउँमा उत्तिकै माया पाएको छु ।
तपाईं जुन समयमा अमेरिका पलायन हुनुभयो, त्यतिबेला तपाईंको गीत सुन्ने छुट्टै जमात थियो । तपाई ‘द भ्वाइस अफ नेपाल’ मा आइसकेपछि नयाँ पुस्ताले पनि नियाल्न थालेको छ । पछिल्लो पुस्तासँग कसरी जोडिन चाहनुहुन्छ ?
पछिल्लो पुस्ता चाहिँ यस्तो छ । जब मैले म्युजिक सुरुवात गरे, उहाँहरूको आमा बुवा, हजुरबुवा, हजुरआमा, दाइ पुस्ताले मेरो गीत सुन्नुभएको थियो । अहिलेको पुस्ताको म्युजिक टेस्ट फरक छ, तर उहाँहरूलाई भेट्दा मेरो गीत पनि थाहा हुन्छ । कसरी थाहा पाउनुभयो मेरो गीतभन्दा ‘मेरो हजुरबुवा, आमा, दाइले सुन्नुहुन्थ्यो भन्नुहुन्छ । खुसी लाग्छ । कम्तीमा हामीले ३/४ जेनेरेसनलाई टच गर्न सक्यौं । ३/४ पुस्तालाई छुन, सम्बोधन गर्न सक्नु भनेको ठूलो कुरा हो जस्तो लाग्छ । यसरी हाम्रा गीत पुस्तान्तरण हुनुमा हामीले संगीतमा दिएको निरन्तरता पनि हो । हामीले निरन्तरता दिन नसकेको भए हाम्रो गीत सुनेर हुर्किएको पुस्ताको उमेर र स्मरणसँगै गीत पनि बिर्सिनुहुन्थ्यो । यो लामो समय यसरी निरन्तर माया गरिरहनुभएका श्रोता–दर्शकप्रति आभारी छु ।
अहिले द भ्वाइस अफ नेपालको कोंच हुनुहुन्छ, गायक हुन र निर्णायक हुनुमा के–कस्तो फरक पाउनुभयो ?
दुवै गाह्रो छ । हुन त गायन स्वेच्छाको कुरा हो । त्यसैले बिस्तारै सिर्जना गरे पनि हुन्छ । वर्षौं लगाएर सिर्जना गरे पनि हुन्छ । यता निर्णायक भएर बस्नु पर्दाचाहिँ तत्काल गर्नुपर्छ । यसैले दुवै गाह्रो हुँदाहुँदै पनि निर्णायक बन्न अझै धेरै गाह्रो हुँदो रहेछ । मलाई आफैंलाई विश्वास थिएन । म निर्णय गर्न सक्छु, मेरो जजमेन्टलाई दर्शकले मन पराइदिनुहोला । तर, खुसीको कुरा पहिलाको भन्दा धेरै माया पाएको छु । त्यसैमा खुसी छु ।
तपाईको टिममा आएका प्रतिस्पर्धीलाई कसरी विजयी गराउँछु भन्ने सोच्नुभएको छ ?
जितभन्दा पनि, जति पनि मेरो टिममा आउनुभएका सहभागी हुनुहुन्छ उहाँहरूलाई मैले मेरो अनुभव सेयर गर्ने हो । उहाँहरू आफैंमा पनि एक खालको क्षमता छ । उहाँको गलामा कुन गीत सुहाउँछ । त्यो भन्ने हो । सबैजना एकदम राम्रो हुनुहुन्छ । मैले त केवल उहाँहरूको कन्फिडेन्ट लेभल बिल्डअप गरिदिने हो । गायक भएपछि सबै खाले गीत गाउने रहर हुन्छ, तर हरेक मान्छेको स्वरको आफ्नै नेचर हुन्छ । सबैको गलामा सबै खाले गीत सुहाउँदैन् । त्यसले मैले त्यो पहिचान गरेर भनिदिने हो । भोलि गएर जित्ने–हार्नेभन्दा पनि उहाँहरूलाई कसरी आत्मविश्वासी बनाउने भन्ने महत्वपूर्ण कुरा हो ।
तपाईंले हालसम्म गाएका गीतहरूले नेपाली समाजलाई केही सन्देश दिएको महसुस गर्नुभएको छ ?
यस्तो हो । मुख्य कुरा मेरो विचार संगीतको माध्यमबाट सबैलाई खुसी दिन सकौं । मान्छेलाई आनन्द मिलोस् । मानिसमा एकता आओस् भन्ने हो । समाजका लागि सकारात्मक सन्देश दिन सकौं भन्ने हुन्छ । हाम्रो पनि २/३ वटा गीत छन्, जसले अवार्डनेस दिएको छ । जनचेतना दिएको छ । एउटा ‘नतानू त तानूँ लाग्ने’ भन्ने गीत छ– ‘यो गीत हामीले हाम्रो संस्कृतिभित्र पर्ने, खाने रमाउने परम्परासँग गाँसिएर गाइएको गीत हो । यो गीतले खाँदा कतिसम्म खानुपर्छ । रक्सीले मान्छेलाई कहाँसम्म पुर्याउँछ भन्ने सन्देश दिएको छ ।’ अर्को मेरो देश भन्ने गीत छ । युवाअवस्थामा जो देश छोडेर हिँड्नुहुन्छ, उहाँहरूले अझ राम्रोसँग आफ्ना देश, आफन्त तथा यहाँको संस्कृतिको महत्व बुझ्नुहुन्छ । यो गीतले पनि युवाहरूप्रति देशप्रेम फिल गराउँछ । अर्को युनिसेपको गीत पनि गाएको थिएँ । त्यो गीतले चाहिँ सबै मान्छे एकै हो । विभिन्न बहानामा मान्छेले मान्छेलाई विभेद गर्नु हुँदैन भन्ने सन्देश बोकेको थियो । यो त एकातिर छ । अर्कातिर हामी संसारको जुनसुकै कुनामा गए पनि संगीतका माध्यमबाट सकारात्मक सन्देश दिउँm भन्ने हुन्छ । अहिलेको मान्छे एकदमै व्यस्त छ । व्यस्तताका कारण पनि मान्छेले खुसी हुन बिर्सिएको छ । संगीतका माध्यमबाट मान्छेलाई खुसी दिन सक्नु पनि एक सकारात्मक कुरा हो जस्तो लाग्छ ।
वर्तमान समयमा नेपाली सङ्गीत कुन अवस्थामा छ र कस्तो होस् भन्ने चाहनुहुन्छ ?
समयअनुसार सबैकुरा फरक हुँदै गएको छ । पहिला अडियो, सिडीको जमाना थियो । मान्छेहरूले किनेर गीत/संगीत सुन्थे । बिस्तारै धेरै कुरा चेन्ज हुँदै गए । मानिसहरूले गीत/संगीत सित्तैमा पाए । सित्तैंमा पाएपछि कसैले पनि किन्न चाहँदैन । यसको सकारात्मक पाटो पनि छ । अहिले एकैछिनमा आफ्ना सिर्जना संसारभर पठाउन सकिन्छ । आफ्ना श्रोता–दर्शकसँग सजिलै पुग्न सकिन्छ । यो फरक–फरक अवस्था हो, तर नेपालमा प्रविधिमार्फत किन्छु, किनेर सुन्छु भन्ने श्रोताहरूलाई किन्ने सुविधा पनि छैन । बाहिर बस्ने यो खालको सुविधा हुनेहरूले पनि कत्तिको किनेर सुन्नुहुन्छ थाहा छैन, तर जोसँग एक्सेज छ किनेर सुनिदिनुहोला । रोयल्टीको पनि राम्रो सिस्टम बस्न सक्यो भने । गीत/संगीतको उपभोग गर्ने सञ्चार माध्यमदेखि यातायात, होटल लगायतका क्षेत्रबाट सिस्टमेटिक रूपमा थोरै भए पनि रोयल्टी उठ्न सक्यो भने निक्कै राम्रो हुन्छ । हिजो व्यवस्थानै थिएन, अब बिस्तारै विभिन्न सम्बन्धित संस्थाले यो खालको व्यवस्था बसाल्न खोज्दै छन् । ढिलो–चाँडो यो व्यस्था बन्छ । व्यवस्था बनेपछि, सिस्टम बसेपछि अटोमेटिक रूपमा सबै राम्रो हुन्छ । अहिले स्टेज कार्यक्रमहरूबाट गायक गायिकाले आम्दानी गरिरहनुभएको छ । रोयल्टीको सिस्टम बस्नेबित्तिकै गीत/संगीतसँग सम्बद्ध अरूलाई पनि राम्रो हुन्छ । त्यसैले हामी सबैले आफ्नो क्षेत्रबाट सकारात्मक भएर सोच्न र मनन गर्न जरुरी छ । विस्तारै हाम्रो संगीत पनि विश्वव्यापी हुँदै गएको छ । यो सकारात्मक कुरा हो । अब नयाँ–नयाँ टेस्टको गीत आउने कुरा त समयअनुसार आइनै हाल्छ । त्यसमा पनि क्वालिटी भएका चिजहरू बाँचिरहन्छ । आउने जाने क्रम त भैरहन्छ ।
कतिपयले तपाईंको गायन वा गीत छनौट एकै शैलीको भयो भन्छन्, समयअनुसार परिवर्तन नगर्नु भएको कि नसक्नु भएको हो ?
गाउँदै नगाएको होइन । केही फरक खालका गीत पनि गाएको छु । फरक धारका गीतमा मलाई दर्शक/श्रोताले अलि कम मन पराउनुभयो होला । किन्ने प्रविधि हराएसँगै इन्टरनेटको पहुँचबाहिरका श्रोतासमक्ष सबै गीत पुगेका पनि छैनन्, तर युट्युबमा सर्च गर्नुभयो भने फरक खालका गीत पनि सुन्न सक्नुहुन्छ । अलि कमचाहिँ हो । तथापि मैले आफूलाई जे म्याच हुन्छ त्यो काम गर्ने हो । गाउन नसक्ने भन्दा पनि मैले मलाई सुट नहुने गीत गर्न नचाहेको हो । सबैको आ–आफ्नै विचार हुन्छ । एउटा मान्छेले सबैको चित्त बुझाउन पनि सक्दैन । मलाई गीत तत्काललाई हिट होस् भन्ने लोभ छैन । मैले आज गाएको गीत अबको २० वर्षपछि सुन्दा पनि उस्तै राम्रो होस भन्ने लाग्छ । त्यसैले पनि आफूले गाएर न्याय गर्न नसक्ने गीतमा उतिसाह्रो मरिहत्ते गर्दिनँ । आफ्नै सन्तुष्टिका लागि, क्षमताको परीक्षाका लागि केही फरक खालका गीत पनि गाएको छु ।