साप्ताहिक संवाददाता
अभिनेता पल शाह तथा अभिनेत्री आँचल शर्माको प्रेमसम्बन्धले कुनै समय ठूलै हलचल मच्चाउँथ्यो । यद्यपि यो खबर अहिले सेलाइसकेको छ । यसबीच आँचल अर्कैसँग प्रेमसम्बन्धमा रहेको खबर एकाएक बाहिरिएपछि केही दिनयता पलका प्रशंसकहरूले आँचललाई सामाजिक सञ्जालमा गाली गरिरहेका छन् । आफ्ना समर्थकले आँचललाई गाली गरेको देखेपछि पलले केही दिनअघि आफ्नो फेसबुक पेजमा आँचललाई गाली नगर्न अनुरोध गरेका छन् ।
उनले लेखेका छन्, ‘मेरा शुभचिन्तकहरूले लगातार प्रश्न गरिरहनुभएको छ, आज स्पष्ट पार्न चाहन्छु आँचल र म सधैं राम्रो साथी हौँ र रहनेछौँ । सबै अफवाह थियो । केही दिनदेखि सामाजिक सन्जालहरूमा आँचलजीलाई गालीगलौज गरेको देखिरहेको छु, त्यसैले उहाँको नयाँ जीवन र हाम्रो मित्रतालाई गलत बुझेर सामाजिक सन्जालमा उहाँलाई गाली नगरिदिनुहोला । उहाँको नयाँ जीवनको खबरलाई मसँग जोडेर सामाजिक सन्जालमा कमेन्ट नगरिदिनुहोला ।
साथी हौँ त्योभन्दा माथि केही थिएन, म आफ्नो करियरमा फोकस छु । हरेक पटक राम्रो चलचित्र दिने मेरो प्रयासमा हजुरहरूको मायाको सधैं अपेक्षा गर्छु । आँप जोडी थियौं, छौं र रहनेछौं । अन्त्यमा उहाँको व्यक्तिगत जीवनमा मलाई नजोडिदिनुहुन म मेरा शुभचिन्तकहरूलाई हार्दिक अनुरोध गर्छु ।’