मानिसले किन कुकुर पाल्छ ? कुकुर एउटा राम्रो साथी हो जसले मानिसको दिल बहलाउन मद्दत गर्छ । कुकुर बफादारीताको उत्कृष्ट नमुना हो । कुकुरका उन्नत प्रजातिहरू त भाषा बुझ्ने र साधारण कामहरू गर्नेसमेत हुन्छन् ।
गएको साता दुईवटा नराम्रा समाचारले मिडिया जगतमा प्रश्रय पाए— वीरेन्द्रनगरभन्दा माथि कटकुवा जङ्गलमा भीरबाट खसालेर २४ वटा गाई मारिएको र खोटाङको दिक्तेल नगरपालिकामा भुस्याहा कुकुरको नियन्त्रण गर्ने नाममा निर्ममतापूर्वक लठ्ठीले हानेर कुकुर मारिएको । पृथ्वीमा रहेका हरेक प्राणीहरू प्रकृतिका अमूल्य धरोहर हुन् । कतिपय जनावर मानिसको सह–अस्तित्व बिना बाँच्न सक्दैनन् । जीव जनावरहरूसँगको आपसी स्वस्थ सम्बन्धले मानिसको जीवन पनि आनन्दमय हुन्छ ।
मानिसले किन कुकुर पाल्छ ? कुकुर एउटा राम्रो साथी हो, जसले मानिसको दिल बहलाउन मद्दत गर्छ । कुकुर बफादारीताको उत्कृष्ट नमुना हो । कुकुरका उन्नत प्रजातिहरू त भाषा बुझ्ने र साधारण कामहरू गर्नेसमेत हुन्छन् । उनीहरू मानिससँग परिवारको सदस्यसरह सँगै खाने र सुत्ने पनि गर्छन्, तर जब कुकुरलाई कुनै रोग लाग्छ वा बूढो हुन्छ तब मानिससँगको उसको सहयात्रा समाप्त हुन्छ । निर्दयी मानिसले त्यो प्राणीलाई लगेर कुनै अन्जान ठाउँमा, बाटो वा पार्कमा फर्किन नसक्ने गरी बेवारीस छोडिदिन्छ । अनि ऊ पप्पी वा लुसीबाट अकस्मात् भुस्याहा कुकुरमा परिणत हुन्छ । उसले समयमा खान र सुत्न पाउँदैन । आफ्नो इलाकामा आएको भनेर अरु कुकुरले उसको खेदो गर्छन् । अन्तत: केही दिनमा ऊ अरु जस्तै हुनुपर्छ— फोहोर वरिपरि बस्ने, फोहोर खाने, नयाँ कुकुर आए खेद्ने । यो क्रम चलिरहन्छ ।
अब साँझ बिहान हिँड्नै गाह्रो भो भनेर स्थानीय सरकारकै रोहबरमा के सार्वजनिक रूपमै भिडियोमा देखाए जसरी ती कुकुरको हत्या गर्ने अधिकार मानिसलाई छ ? यो पशु अधिकारकर्मीहरूको मात्र चासोको विषय नभएर सम्पूर्ण सचेत नागरिकको चासोको विषय हुनुपर्छ । यो पशु हिंसा सरकारी तवरबाटै यदा कदा गरिएको उदाहरण पाइन्छ । रूसमा एक वर्षअघि फिफा बिश्वकपको पूर्वसप्ताहमा खेल हुने सबै सहरमा सडक कुकुरहरूलाई गोप्य तवरबाट मार्न सरकारले निर्देशन दिएको हुनसक्ने कुरा बाहिरिएको थियो । भारत र पाकिस्तानमा यस्ता घटना प्रशस्तै हुन्छन् । ईरानमा त झन दुई हप्ताअघि मात्र कुकुर हत्याको बिषयलाई लिएर ठूलै प्रदर्शनी भयो । चाहे जसले अबलम्बन गरे पनि नराम्रो चीज नराम्रै हुन्छ ।
सामान्यत: हिंस्रक आनिबानी भएको कुकुरले कुनै मानिसलाई आक्रमण गरिरहेको वा लखेटिरहेको अवस्थामा भेटियो भने मार्न पाइन्छ भनेर अमेरिकाका केही राज्यमा स्वानहत्यामा छुट दिइएको छ । कुनै रोग लागेर जनस्वास्थ्यमा प्रतिकूल असर गर्न सक्ने अवस्था सिर्जना हुन लागेको छ भने पनि युथेनसिया अर्थात् नदुख्ने औषधीको प्रयोगबाट कुकुरलाई मार्न सकिन्छ भन्ने प्रावधान धेरै देशमा छ र मार्ने भन्दैमा खुलेआम हिसांत्मक गतिविधि प्रर्दशन गर्न पाइँदैन । त्यसका प्रक्रिया हुन्छन्, तर यदि विगतका क्रियाकलाप टोक्ने, लखेट्ने वा बिगो गर्ने एकिन नभैकन मार्न त पाइँदैन नै, अझ लठ्ठी बजारेर तड्पाई–तड्पाई मार्न त पाइँदै पाइँदैन । नगरपालिकाहरूले कुकुर नियन्त्रणका लागि यसरी आवेगमा निर्णय लिनु हुँदैन । यसका लागि दिर्घकालिन योजना आवश्यक हुन्छ । पहिलो कुरा नगरपालिका सफा र स्वच्छ राख्ने, दोस्रो कुरा तत्काल समस्या दिइरहेका कुकुरहरूलाई सुविधाजनक संरक्षण क्षेत्र बनाएर बन्दी बनाउने साथै नगरका बाँकी सम्पूर्ण कुकुरलाई समातेर बन्ध्याकरण गरेर छाडिदिने । त्यसबाट नयाँ पुस्ता सिर्जना हुनबाट रोकिन्छ र यो प्रक्रिया कम्तीमा बर्षमा एकपटक
दोहोर्याइ रहनुपर्छ ।
गाईको कथा पनि लगभग उस्तै छ । मानिसले नै दूध दिउन्जेल दूध खाने दूध दिन छाडेपछि लगेर बेवारिसे छोडिदिने । गाईले बाछी पायो भने दूधका लागि भनेर हुर्काउने अनि बहर जन्मायो भने त्यसलाई सकेसम्म चाँडो छाडा छोडिन्छ । मानिसले दुईवटा प्रयोजनका लागि गोरु पाल्थे— एउटा हल बनाएर खेतबारी जोत्न अर्को गाईलाई बहर लगाउन । अब अहिले आधुनिक जमानामा गोरुको दुवै प्रयोजन समाप्त भएको छ । ट्रयाक्टरको आगमनले गोरु जोत्ने प्रथा लोप भयो । त्यसैगरी गाईलाई गोरु लगाउनुको साटो हिजोआज सबैले उन्नत बिज राखेर भेटिरिनरीबाट कृत्रिम गर्भाधान गराउँछन् । अब कि त गाई नै पाल्न रोक लगाउनुपर्यो, अन्यथा कुनै समय गोरु जन्मिहाल्छ र गोरु खुला छोड्ने बाहेक के उपाय छ त ? मानिस स्वार्थी प्राणी हो कुनै उपादयता छैन भने जीवनभर गोरु पालेर बस्न सक्दैन । दिनहुँजस्तो सडक दुर्घटना बेहोर्नु, छाडा चौपायाले बालीनाली नष्ट गरेको हेरिरहनु, नगर क्षेत्रभित्र व्यापारीहरूलाई दु:ख दिने तथा जथाभावी फोहोर गर्ने जस्ता समस्याहरू झेलिरहनुभन्दा बरु चीन सरकारसँग समन्वय गरेर उतै निकासी गर्ने ब्यबस्था मिलाए उत्तम हुन सक्छ । हामी हिन्दू हौ भनेर भावनामा बगेर होइन, यसरी जङ्गलबाट फ्यालेर निर्मम हत्या गर्नुभन्दा दीर्घकालीन नियन्त्रणका लागि वैज्ञानिक ढङ्गबाट सोचिनुपर्छ ।