साप्ताहिक संवाददाता
लामो समयपछि अभिनेत्री सारा शिर्पाइली नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन् । निखिल उप्रेतीको चलचित्र रुद्रमार्फत रजतपटमा आएकी साराले विगतमा पिँजडा ब्याक अगेन तथा सुश्री सम्पत्तिमा अभिनय गरेकी थिइन् । अघिल्लो वर्ष प्रदर्शनमा आएको चलचित्र सुश्री सम्पत्तिपछि म्युजिक भिडियोहरूमा मात्र देखिएकी साराले अहिले आएर चलचित्र ‘गुञ्जन’ मा मुख्य अभिनेत्रीको भूमिका निर्वाह गर्न थालेकी हुन् ।
यो चलचित्रको निर्देशन पुराना द्वन्द्व निर्देशक अष्ट महर्जनले गर्दैछन् । महर्जनको यो पहिलो निर्देशकीय चलचित्र हो । यो चलचित्रमा साराको जोडीका रूपमा प्रितमराज सेन्चुरी प्रस्तुत हुँदैछन् । प्रितमको पनि यो पहिलो चलचित्र हुनेछ । त्यसो त यही चलचित्रमा अभिनेता कबिर खड्का पनि महत्वपूर्ण भूमिकामा प्रस्तुत हुँदैछन् । कबिरले यसअघि चलचित्र ‘लम्फू’ मा अभिनय गरिसकेका छन् ।