साप्ताहिक संवाददाता
आगामी वर्ष सरकारले ‘भिजिट नेपाल–२०२०’ वर्ष मनाउने क्रममा हिममानव यतिको मस्कट सार्वजनिक गरेको छ । नेपाललाई सर्वोच्च शिखर सगरमाथा तथा बुद्ध जन्मिएको देशका रूपमा चिनाइरहेको अवस्थामा अब नेपाल हिममानव भएको देशका रूपमा पनि चिनिनुपर्छ भन्दै यतिको मस्कट सार्वजनिक गरिएको हो । कलाकार आङछिरिङ शेर्पाले कोरेको यतिको चित्रलाई मूर्तिकार विजय महर्जनले ढेड महिनाको अथक प्रयासपछि मूर्तिमा ढाले ।
मूर्तिको साँचो तयार भएपछि अहिले यतिका मूर्तिहरू धमाधम तयार भैरहेका छन् । पहिलो चरणमा ३० वटा मूर्ति तयार हुनेछन् भने अर्को वर्षसम्ममा १ सय ८ वटा मूर्ति तयार गर्ने लक्ष्य छ ।
७ फिट अग्लो यतिको मूर्तिलाई नेपाललगायत विदेशमा समेत स्थापना गर्ने योजना कलाकारहरूको छ । विजय भन्छन्–हाम्रो योजनानुसार यतिको मूर्तिमा विभिन्न कलाकारले रंग भर्नुहुनेछ र त्यो मूर्तिलाई इच्छुक व्यक्तिहरूले किन्नु हुनेछ । अहिले हामीले विभिन्न होटल, विमानस्थल तथा ट्राभल एजेन्सीहरूलाई प्रतिमूर्ति ५ लाख रुपैयाँमा बिक्री गर्ने तयारी गरेका छौं भने ३० वटा मूर्ति किन्ने संस्था फेला परिसकेका छन् ।
अहिले तयार भएको मूर्तिमै आधारित भएर नेपालका चर्चित कलाकारहरूले त्यसलाई क्यानभासमा उतारिरहेका छन् । ती चित्र तयार भएपछि यतिका मूर्तिलाई आगामी अक्टोबरमा प्रदर्शन गरेर एडप्ट गर्ने संस्थालाई हस्तान्तरण गरिनेछ ।
हामी कलाकारहरूलाई यति अलौकिक नै लाग्छ,–विजय भन्छन् । हिमालमा बस्ने अनुमान गरिएको यति नेपालमै छ भन्ने जनविश्वास छ । यतिको वास्तविक तस्बिर अहिलेसम्म सार्वजनिक नभए पनि कतिपयले हिममानव यति देखेको दाबी गर्दै आएका छन् । विजय भन्छन्–‘मेरो विचारमा यति शान्त प्रकृतिको प्राणी हो । त्यही भएर मेरो यतिको मूर्तिले बुद्धको झझल्को दिन्छ ।’