साप्ताहिक संवाददाता
अभिनेत्री सुपुष्पा भट्ट पहिलो चलचित्र ‘रणवीर’ मार्फत नै दर्शकको नजरमा पर्न सफल भएकी थिइन् । व्यवसायिक रूपमा उक्त चलचित्र असफल भए पनि उनले त्यसपछि थुप्रै चलचित्रबाट प्रस्ताव पाइन् । तीमध्ये कुनै पनि चलचित्र स्वीकार नगरेकी सुपुष्पाले एउटा चलचित्रमा भने अभिनय नै गरेको कुरा हालै मात्र सार्वजनिक भएको छ ।
दसैंपछि प्रदर्शन हुने चलचित्र ‘छ माया छपक्कै’ का दुई अभिनेत्रीमध्ये सुपुष्पासमेत एक भएको हालै सार्वजनिक चलचित्रको पहिलो गीत ‘जुनको जुनेली’ को भिडियोबाट स्पष्ट भएको छ । चलचित्रमा दीपकराज गिरीको जोडीका रूपमा केकी अधिकारी प्रस्तुत भएकी छिन् भने जितु नेपालको जोडीका रूपमा सुपुष्पा प्रस्तुत भएकी हुन् ।
सुपुष्पाले आजका मितिसम्म आफू यो चलचित्रमा अभिनय गरिरहेकी छु भनेर सार्वजनिक गरेकी छैनन् । यद्यपि तीन महिनाअघि उनले सिन्धुली लोकेसन राख्दै दुईवटा तस्बिर सार्वजनिक गरेकी थिइन् । अहिले आएर स्पष्ट भएको छ, उनी त्यति बेला छ माया छपक्कैको छायांकनका लागि त्यहाँ पुगेकी थिइन् ।
अभिनेत्री भट्टले मात्र होइन, चलचित्रका निर्माता/अभिनेता दीपकराज गिरी, अभिनेता जीतु नेपाल, निर्मात्री दीपाश्री निरौला तथा निर्देशक दीपेन्द्र लामासमेत यो कुरा गोप्य राख्न सफल हुनुलाई भने मान्नैपर्छ ।