साप्ताहिक संवाददाता
अछाममा जन्मिएका टंक तिमिल्सिना सुदूरपश्चिमको गायनमा चर्चित नाम हो । विगत आठ वर्षदेखि गीत–संगीतमा सक्रिय तिमिल्सिनाले करिब १ सय ५० भन्दा बढी गीत गाइसकेका छन् । देश तथा विदेशका स्टेज कार्यक्रमहरूमा निकै व्यस्त रहने तिमिल्सिनासँग अनामनगरमा साप्ताहिककर्मी महेश तिमल्सिनाको जम्काभेट :
केमा व्यस्त हुनुहुन्छ ?
यतिबेला अफसिजन हो । अहिले स्टेज कार्यक्रम त्यति छैनन् । त्यसैले नयाँ गीत–संगीत सिर्जनामा व्यस्त छु ।
भर्खरै २४ वर्षको भएँ भन्नुहुन्छ, सानै उमेरमा ठूलो प्रगति गरेजस्तो लाग्दैन ?
लाग्छ, अहिले मलाई देशभरका दर्शक–श्रोताले नोटिस गर्न थाल्नुभएको छ, तर पश्चिममा भने मैले छोटो समयमै ठूलो प्रगति गरें भन्ने लाग्छ । यतिमात्र नभएर मैले सुदूरपश्चिमको गीत–संगीतलाई माथि उठाउन ठूलै मेहनत गरेको छु । त्यसमा गर्व पनि लाग्छ ।
यो प्रगतिको रहस्य के हो ?
नयाँपन, एकै खालका गीत आइरहेका बेला मैले फरक स्वाद दिएँ । मौलिक गीत–संगीतमा अलिकति आधुनिकता दिएकाले सबैले रुचाउनुभयो ।
गीत गाउन थालेको कति भयो ?
गाउँघर, मेलापात तथा विद्यालयका कार्यक्रमहरूमा गाउँदा मेरो स्वरलाई धेरैले रुचाउनुहुन्थ्यो । समयक्रमसँगै म नेपालगन्जको रेडियो भेरी आवाजमा काम गर्न थालें । नेपालगन्जमा धेरै मेला महोत्सव हुन्थे । त्यतिबेला म कलाकारहरूलाई अन्तर्वार्ताका लागि आफ्नो कार्यक्रममा बोलाउँथे । त्यसपछि उनीहरूबाटै प्रेरित भएर व्यावसायिक रूपमा गीत गाउन थालेको हुँ ।
सुदूरपश्चिममा त तपाईंको क्रेज अत्यधिक छ होइन ?
छ, सुदूरपश्चिममा लोकसंगीतका पारखी प्रशस्तै हुनुहुन्छ । सुदूरपश्चिममा हामीभन्दा अग्रज गायकहरू पनि हुनुहुन्छ, तर उहाँहरूका धेरैजसो गीत कर्णाली तरेर यता आएनन् । फेरि त्यतिबेला एउटै किसिमको गीत आएको हुनाले दर्शक–श्रोताहरूले नयाँ स्वादको देउडा खोजिरहेका थिए । त्यही बेला गीत–संगीतमा मेरो प्रवेश भयो । मैले केही फरक गरौं भनेर अर्कै धारमा गीत–संगीत सिर्जना गरें । मेरो सिर्जनालाई दर्शक–श्रोताहरूले अत्यधिक रुचाइदिनुभयो ।
कमाइ कति छ ?
ठीकै छ, परिवारको सबै जिम्मेवारी मेरै काँधमा छ । अफसिजनमा कमाइ शून्य नै हुन्छ । मेला–महोत्सव चलेका बेलाचाहिँ मासिक ५ लाख रुपैयाँसम्म कमाउँछु ।
सुदूरपश्चिमको संगीतलाई मूलधारको संगीतसँग कसरी तुलना गर्नुहुन्छ ?
सुदूरपश्चिमको संगीतले एउटा छुट्टै भेग पाएको छ, जसरी भारतमा साउथ इन्डियन भनिन्छ । गीत–संगीतमा सुदूरपश्चिम धेरै अगाडि छ । त्यहाँ थुप्रै प्रतिभा छन् । त्यसैले सुदूरपश्चिमको गीत संगीतलाई मूलधारको संगीतसँग तुलना गर्न मिल्दैन ।
ह्यान्डसम हुनुहुन्छ, प्रेम प्रस्ताव कत्तिको आउँछन् ?
प्रेम प्रस्तावको त ओइरो नै लाग्छ । यो सबै मलाई गीत–संगीतले दिएको वरदान हो । यो प्रेम टंक तिमिल्सिनालाई भन्दा पनि मेरो स्वरलाई गरिएको हो ।
तपाईं प्रेमसम्बन्धमा हुनुहुन्छ ?
जीवन बिताउन माया गर्ने मान्छे त अवश्य चाहिन्छ । उमेरकै कुरा गर्ने हो भने पनि हाम्रो गाउँघरतिर १८ देखि २० वर्षसम्म अधिकांशको विवाह भैसक्छ । मेरै उमेरका साथीहरूको कुरा गर्ने हो भने धेरैजसो बाबुआमा भैसके । त्यसैले अब आफ्नो पनि बेला भयो भन्ने लागेर आफूलाई उपयुक्त हुने जीवनसाथी रोजिसकेको छु ।
विवाह कहिले गर्ने योजनामा हुनुहुन्छ ?
सबै कुरा मिल्यो भने २०७७ साल मंसिरमा ।