औषधीको स्वाद

- क्षितिज समर्पण, जाजरकोट

भाद्र २६, २०७६

 

सुदूरको कुनै दुर्गम गाउँमा

आदिम जिन्दगी बाँचिरहेको 

कोही भेट्यौ भने,

सम्झनू–ऊ यतैकतै बाँचिरहेछ ।

वा,

थोरै रङ मागेर–गुराँससँग

प्रेम मागेर–पैयूँसँग

सपना मागेर–भीरफूलसँग

उज्यालो मागेर–जूनसँग

अनि, 

थोरै मुस्कान मागेर–हिमालसँग

कोही बाँचिरहेको भेट्यौ भने, 

सम्झनू–ऊ यतैकतै बाँचिरहेछ ।

थाहा छैन,

उबेला–

नागरिकता टोलीले गाउँ आएर

टिपेर लगेको उसको नाउँ

यो देशको ढड्डामा सुरक्षित छ

या, 

धमिरो लागिसक्यो ?

तर, 

कयौँपटक,

आफ्नो फोटो हेर्ने रहर मेटाउन

ऊ हेरिरहन्छ त्यही नागरिकता

र, 

वर्षाैंदेखि जतनले राखेको छ–सन्दुकमा

उसले धेरै पछि थाहा पाएको हो–

एक थान नागरिकता हुनु मात्र

यो देशको नागरिक हुनु रहेनछ !

चर्चर फाटेका पैतलामा उभिएर

कहिलेसम्म थेगेको हो–

जिन्दगीको अँध्यारो आकाश ?

पहाडबाट सुसाउँदै सुसाउँदै बग्ने

खोला हो कि उसैको रगत ?

वर्षाैंदेखि पाखोबारी बगाउने पहिरो–

किन बगाउन सक्दैन दु:खहरू ?

उसैको घरको छानो उडाउने हावाले

किन उडाउन सक्दैन–अभावहरू ?

कतै उत्तर भेटियो भने, बताइदिनू उसलाई ।

ऊ भन्छ–

कोही त आऊ एकपटक

र, 

लेखिदेउ मेरा दु:खका कथाहरू

छापिदेऊ मेरा अभावका कविताहरू

पोतिदेऊ क्यानभासभरी–

मेरा सपनाका रङहरू

पढिदेऊ मेरो जिन्दगीको लामो अध्याय

र, 

निकालेर मीठो धुन–

गाइदेउ कुनै विद्रोहको गीत

यदि, सक्दैनौ भने यो सब गर्न

पुरा गरिदेउ मेरो अन्तिम इच्छा

म मर्नुअघि चाख्न चाहान्छु–औषधीको स्वाद !

अभावसँग निलेको 

भोकको गाँसभन्दा मीठो !

वा, 

तीन दिन पैदल हिँडेर

सदरमुकामबाट ल्याएको–

चामलको भातभन्दा मीठो !

कस्तो हुन्छ ?

म चाख्न चाहन्छु–औषधीको स्वाद !

 

प्रकाशित :भाद्र २६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×