साप्ताहिक संवाददाता
चलचित्र ड्रिम्सबाट रजटपटमा आएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई राम्रो अभिनय गर्ने कलाकारका रूपमा लिइन्छ । उनले अभिनय गरेका प्राय: सबै चलचित्र व्यवसायिक रूपमा सफल छन् । पछिल्लो चलचित्र मारुनीसम्म आइपुग्दा शाहले अभिनय कौशलमा समेत प्रशस्त सुधार ल्याएकी छिन् । नजिकका साथीभाइमाझ मात्र मजाले खुल्ने साम्राज्ञी बेला–बेलामा व्यक्तिगत कारणले विवादमा समेत तानिन्छिन् । यतिबेला उनको नयाँ चलचित्र मारुनी प्रदर्शन भैरहेको छ ।
साम्राज्ञीको अभिनय औसत हो, तर उनमा युवाहरूलाई आकर्षित गर्ने विशेष गुण छ जसलाई हामी ग्ल्यामर भन्छौं, त्यो अन्य अभिनेत्रीको तुलनामा बढी छ । म उनलाई एउटै सुझाव दिन्छु, ग्ल्यामरको बाटो लामो हुँदैन, राम्रो स्क्रिप्ट छान्नुपर्यो ।
दीपकराज गिरी, अभिनेता/निर्देशक
हरेक चलचित्रमा चरित्र अनुसार अभिनय फरक–फरक हुन्छ । साम्राज्ञीले हालसम्म अभिनय गरेका चलचित्रमा जुन प्रकारका चरित्र निर्वाह गरेकी छिन्, ती सबै उत्कृष्ट छन्, जीवन्त लाग्छन् । मैले उनका प्राय: सबै चलचित्र हेरेको छु । सबै चलचित्रमा उनले मन छुने अभिनय गरेकी छिन् । व्यक्तिगत जीवनमा पनि उनी पोजेटिभ भाइव भएकी, आत्मसम्मान भएकी युवती हुन् । उनी बिन्दास स्वभावकी छिन् अनि रिर्जभ पनि छिन् । यद्यपि कहिलेकाहीं त्यही रिजर्भ स्वभावका कारण उनी एक्लै पर्छिन् कि भन्ने डर छ ।
पुष्प खड्का, अभिनेता
मलाई साम्राज्ञीको अभिनय एकदमै मनपर्छ । उनको लुक्स, फिगर तथा व्यवहार पनि आकर्षक छ । उनले डाइलग डेलिभरीमा अलि बढी ध्यान दिनुपर्छ । बेला–बेलामा उनको अभिनयमा फिल देखिंदैन, त्यसमा सुधार ल्याउन सकिन् भने उनी देशकै अब्बल अभिनेत्री बन्न सक्छिन् ।
गजित विष्ट, अभिनेता
साम्राज्ञीको मैले जम्मा एउटा मात्र चलचित्र हेरेको छु— ड्रिम्स । पहिलो पटक भए पनि उनले त्यसमा राम्रो अभिनय गरेकी छिन् । व्यक्तिगत रूपमा उनी मलाई निकै स्मार्ट लाग्छिन् । साम्राज्ञी हरेक प्रकारका चुनौती सामना गर्न आफैं सक्षम छिन् जस्तो पनि लाग्छ ।
आर्जन पाण्डे, गायक
युवा पुस्तामाझ साम्राज्ञीको क्रेज लोभलाग्दो छ । उनको अभिनय पनि राम्रो छ । पहिलो चलचित्रको तुलनामा पछिल्ला चलचित्रमा सुधारिएको अभिनय गरेकी छिन् । पब्लिक फिगर भएकाले बेला–बेलामा आउने व्यक्तिगत चर्चाप्रति अलि ध्यान पुर्याउनुपर्छ । अनावश्यक चर्चाले उनकै प्रशंसकहरूलाई नराम्रो लाग्न सक्छ ।
वसन्त निरौला, निर्देशक
मलाई साम्राज्ञीको अभिनय मनपर्छ । मैले उनीसँग निर्देशकका रूपमा काम गरिसकेको छु । उनको कामप्रतिको जिम्मेवारी देखेर म चकित हुन्छु । उनीसंग दिनमा १६ घण्टा काम गर्न सक्ने सामथ्र्य छ । साम्राज्ञी उच्च स्थान बनाइसकेकी कलाकार हुन् । उनी हाम्रो क्षेत्रको गौरव हुन् अनि समाजको संवाहक पनि । त्यही भएर कहिलेकाहीं उनले आफ्ना व्यक्तिगत कुरालाई थोर–बहुत लुकाइदिए राम्रो हुन्थ्यो जस्तो लाग्छ ।
नवल नेपाल, निर्देशक
साम्राज्ञीको अभिनय पहिलो चलचित्रमा अब्बल थियो, तर दोस्रो चलचित्रयता उनको अभिनय निरन्तर खस्कँदो छ । सुन्दा तीतो लाग्छ, तर सत्य यही नै हो । म उनको शुभचिन्तक हुँ र उनको पहिलो र दोस्रो चलचित्रको लेखक पनि । अहिले उनले आफ्नो ध्यान अभिनयमा भन्दा पनि अरू नै कुरामा लगाएकी छिन्, जुन सबैले महसुस गरिरहेकै छन् । बाजेको पालामा खाएको घीउ, छोरा–छोरीको जीउमा लाग्दैन । अभिनयमा कलाकारले हरेक पटक आफूलाई प्रमाणित गर्नुपर्छ, यो मामिलामा साम्राज्ञी कमजोर हुँदै गएकी छिन् ।
सामीप्यराज तिमल्सेना, चलचित्र लेखक
सरल अभिनय तथा शारीरिक सुन्तरताले अझ राम्रो । उनले चलचित्रमा अभिनय गर्दा ‘मैले धेरै पारिश्रमिकका लागि भन्दा पनि राम्रो अभिनयका लागि काम गरेकी छु’ भनेको सुन्न पाइयोस् ।
सुमित खड्का, गायक
उनी अभिनयमा अब्बल छिन् । उनले आफूलाई पहिलो चलचित्रबाटै स्थापित गरिसकेकी छिन् । उनलाई सुझाव दिने कुरा त मसँग छैन, तर साम्राज्ञीले मौलिक नेपाली चलचित्रमा अभिनय गरेर दर्शकलाई फरक स्वाद चखाएको हेर्न मन छ ।
सुजन सुवेदी, भिजुअल एडिटर